समाजिक कुरीतिविरुद्धको आवाज

अन्य पेसाजस्तै पत्रकारिता पेसामा पनि महिलाको पकड विस्तार हुँदै गएको छ । सधैँ पत्रकारिता व्यस्त रहने महिलाको तिजप्रतिको बुझाइ र मन्ने तरिकामा एक रूपता रहेको पाइन्छ  । यस्तैमध्येकी एक नेपाल पत्रकार महासंघकी उपाध्यक्ष यशोदा तिमिल्सेनाको बुझाइमा तिज एउटा परम्परात संस्कृति हो । हिजोका दिनमा पनि महिलाले अभिव्यक्ति स्वतन्त्रताका रूपमा तिज पर्वको सन्दर्भलाई उपयोग गरेको उनको ठहर छ ।
विगतमा दु:खसुख साट्ने अवसर नै तिजलाई लिने चलन छ । तिमिल्सेनाको बुझाइमा तिजले वर्तमान समयको बोली बोल्न थालेको छ । तिजबारे उनी भन्छिन्, ‘अरूले जसरी मनाउँछन् मेरो पनि त्यस्तै गरेर बित्छ ।’ समय र आफ्नो क्षमताको सही आँकलन गरेर चाडबाड मनाउने चलन चलाउनसके संस्कृतिको जगेर्ना हुने र यसलाई निरन्तरता दिन पनि सकिने उनको ठहर छ ।
घटना र विचार साप्ताहिककी सम्पादक बबिता बस्नेत तिज महिलाको स्वतान्त्रतासँग जोडिएको एक ‘सेलिब्रेसन’ का रूपमा लिन्छिन् । तिजलाई समान्य रूपमा मनाउने गरेकी बस्नेत तिजमा नाच्ने महिलाहरूको कला देखेर भने उनलाई अचम्म लाग्ने गरेको छ । ‘वर्षमा एक दिन नाच्ने महिलाले कति राम्रो नाचेका हुन् ?’ मलाई आश्चर्य लाग्छ । पछिल्लो समयमा तिजप्रतिको सोच र बुझाइमा परिवर्तन भएको उनको ठम्याइ छ । आमापुस्ताको पालामा बुहार्तनको ‘रिफ्लेक्सन’ का रूपमा मनाइने चाडलाई अहिले आ—आफ्नै स्तर र बुझाइबाट मनाइन्छ ।
हिजो बुहारीको जिम्मेवारीमा सीमित महिलाहरूले आजभोलि घर, परिवार, पेसा, व्यावसाय, अध्ययन, रोजगारी थुप्रै जिम्मेवारी बोक्नुपरेको अवस्थामा उनीहरूका पीडा केवल बुहारीका रूपमा मात्र नभए धेरै छन् । ‘यो चाड मान्छेको पृष्ठभूमि र संस्कृतिअनुसार मनाउने कुरा हो ।’ बस्नेत भन्छिन्– ‘महिलाको समानतासँग जोडिएको पर्व अझ सशक्त बनोस् ।’
महिला सञ्चारको साप्ताहिक पत्रिकाकी प्रधान सम्पादक तथा प्रेस चौतारी नेपालकी कोषाध्यक्ष अच्चरी पोखरेले तिजलाई माइती र साथीहरूसँग सम्बन्ध बढाउने र दु:खसुख साट्ने पर्वका रूपमा लिएकी छन् । एउटा बुहारीका लागि वर्षभरिको पीडा व्यक्त गर्ने दिनका रूपमा उपयोग गर्ने गरेको उनको ठम्याइ छ । पहिले कुन महिलाले के, कसरी र कसले हिंसा गरेको भन्ने थाहा दिने तिजले अहिले माया र प्रेमका कुरा बाँड्न थालेको उनको बुझाइ छ । पत्रकारितामा आएपछि चाहेअनुसार तिज मनाउन नपाए पनि यो पर्वको मनाउँदै आएको उनी बताउँछिन् । ‘व्रत बस्दिनँ तर म तिज मनाउँछु,’ उनले सुनाइन् । ‘महँगा कपडा र सुन देखाउने प्रतिस्पर्धाले साँच्चै तिजमा विकृति थपिँदै गएको छ ।’
नेपाल टेलिभिजनमा कार्यरत मनीषा घिमिरे तिजलाई सामाजिक कुरीतिविरुद्धको आवाज उठाउने दिनका रूपमा बुझ्छिन् । तर, सम्पन्नता प्रदर्शन गर्नेलगायत कुरा तिजको पर्वसँगै भित्रिएकोमा भने उनलाई दु:ख लागेको छ । उनी भन्छिन्– ‘तिजमा मात्र होइन, कुन, पार्टी र पर्वमा विकृति छैन ? जुन कुरा तिजमा पनि आयो यो राम्रो होइन ।’ सामान्य हिन्दु महिलाजसरी आफूले पनि तिज मनाउने गरेको बताउने घिमिरेले आउँदा दिनमा तिजलाई सबै महिलाको पर्वका सामूहिक पर्वका रूपमा स्थापित गर्न लाग्नुपर्ने धारणा राख्छिन् ।
कान्तिपुर टेलिभिजनमा कार्यरत क्रियाशील पत्रकार नितु पण्डित भने तीजलाई सबै धर्म, जात, वर्ग र भूगोलका महिलाले मनाउने सांस्कृतिक पर्वका रूपमा बुझेकी पण्डित आफू पनि मनाउँछिन् तिज । ‘निराहार बस्दिनँ तर मन्दिर जान्छु,’ पण्डित सुनाउँछिन्, ‘तिज मान्ने कि नमान्ने भन्ने विषयमा पनि बहस चलिरहेका छन तर कम खर्चिलो रूपमा आफ्ना संस्कार तथा संस्कृति संरक्षण गर्दै मनाउनु राम्रो हो ।’

प्रतिक्रिया