नेपाल फेरी चुक्यो

काठमाडौं, १ असोज । नेपाल एकपटक फेरि साफ महिला च्याम्पियनसिपको फाइनलमा भारतसँग चुकेको छ । कोलम्बोस्थित सिआर एन्ड एफसी मैदानमा आइतबार उपाधि भिडन्तमा नेपाल भारतसँग ३–१ ले पराजित भयो ।
नेपाल महिला स्पर्धातर्फ दक्षिण एसियाली फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएको यो तेस्रोपटक हो । यसअघि नेपाल ११औँ दक्षिण एसियाली खेलकुद र साफ च्याम्पियनसिपको पहिलो संस्करणमा पनि उपाधि भिडन्तमा भारतसँग निराश भएको थियो ।
दीपा अधिकारीको गोलमा नेपालले तेस्रो मिनेटमै अग्रता लिए पनि साविक विजेता टोली भारतले प्राप्त मौकाहरूको सदुपयोग गर्दै नेपालविरुद्धको सानदार इतिहासलाई कायम राख्न सफल भयो । विजयी टोलीका लागि सुप्रिया रौत्रे, बेमबेम देवी र कमला देवीले गोल गरे ।
अनु लामाले दिएको पासमा दीपाले १२ यार्डबाटै सुन्दर गोल गरेकी थिइन् । त्यसको दुई मिनेटपछि कप्तान जमुना गुरुङले अर्को मौका गुमाइन् । डी–बक्सभित्रै पाएको मौकामा उनको प्रहार फितलो रहयो ।
भारतले आठौँ मिनेटमा नै सुप्रियाको गोलमार्फत खेल बराबरीमा ल्यायो । सुप्रियाले नेपालको अफसाइड ट्रयाप बिट गर्दै सुस्मिता मल्लिकको पासमा सहज गोल गरिन् । २६औँ मिनेटमा नेपालकी गोलरक्षक नमिता दलीले बेमबेमको शक्तिशाली फ्री–किकलाई सहजै बचाइन् । पहिलो हाफको अतिरिक्त समयमा भारतकी कमला देवीले गोल गर्ने राम्रो अवसर खेर फालिन् । नेपाली डिफेन्डरहरूले राम्रो समन्वय नगर्दा कमलाले डी–एरियाभित्र बल पाइन् तर उनको प्रहार बाहिरिन पुग्यो ।
दोस्रो हाफको सुरुआतमा भारत सशक्त देखियो र पहिलो आक्रमण बुन्यो । गोलरक्षक नमिता दलीको गल्तीका कारण भारतले ६७औँ मिनेटमा अग्रता लियो । बेमबेमको सोझो फ्री–किकलाई बचाउने प्रयास गर्दा गोलकिपर नमिताको हातमुनिबाट बल जान पुग्यो ।
त्यसको चार मिनेटपछि नै नमिताले नेपाललाई अर्को गोल खानबाट बचाइन् । वान भर्सेज वानको स्थितिमा नमिताले कमलाको प्रहारलाई अगाडि बढ्दै जोगाएकी थिइन् । ७४औँ मिनेटमा नेपालले अर्को गोल गर्ने मौका चुकायो । दीपाले दाहिने भागबाट निकालेको पास कृष्णाले लिँदै फितलो प्रहार गरेपछि नेपालले खेलमा फर्किने मौका गुमाएको थियो । जहाँ नेपालले एकपछि अर्को गर्दै प्राप्त मौकालाई खेर फाल्यो भारतले भने सबैको राम्रो सदुपयोग गर्‍यो । कमलाले ८३औँ मिनेटमा अर्को गोल थपेपछि नेपालको खेलमा फर्किने सम्भावना लगभग समाप्त भएको थियो । तुली गुनको फ्री–किकलाई डी–एरियाभित्र नियन्त्रण गर्दै कमलाले नेपाली गोलरक्षक नमितालाई बिट गरेकी थिइन् ।
नेपाली प्रशिक्षक किशोर केसीले भारतको दोस्रो गोल खेलको टर्निङ प्वाइन्ट रहेको बताए । ‘पहिलो हाफसम्म सबै ठीक थियो जब गोलकिपरको गल्तीले दोस्रो गोल खान पुग्यौँ भारतले खेलमा राम्रो पकड जमाउन थाल्यो,’ केसीले भने ।
प्रतियोगिताभर नेपालले राम्रो फुटबल खेले पनि अझै धेरै सुधार ल्याउन बाँकी रहेको उनले बताए । ‘हामीले राम्रा स्ट्राइकरहरू ल्याउनुपर्छ र राम्रा डिफेन्डरहरू पनि । तर, राष्ट्रिय प्रतियागिता खेलेर मात्र सबै सम्भव हँुदैन । हाम्रा केटीहरूलाई अन्तर्राष्ट्रिय अनुभवको आवश्यकता दिनुपर्छ,’ उनको निष्कर्ष थियो ।
भारतीय प्रशिक्षक मोहम्मद साहिद जब्बारले खेल आफूले सोचेअनुरूप भएको बताए । ‘नेपालले पहिलो गोल गर्दा हामीलाई अलि गाह्रो होला कि जस्तो महसुस भएको थियो तर हामीले सही समयमा गोल फर्कायौँ,’ उनले भने । नेपालसँग भारतजत्तिको स्तरीय खेलाडी नभएको जब्बारको भनाइ थियो । प्रतियोगितामा जमुना गुरुङ उत्कृष्ट खेलाडी भइन् ।

प्रतिक्रिया