कोरियन भाषापरीक्षा यो वर्ष नहुने

काठमाडौं, १ असोज । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् ०१३ का लागि कोरियाले नेपालमा भाषापरीक्षा सञ्चालन नगर्ने भएको छ । यसअघि प्रत्येक वर्ष भाषापरीक्षा लिँदै आएको कोरियाले गत वर्ष लिएको परीक्षामा उत्तीर्ण करिब १० हजार युवा अझै प्रतीक्षा सूची (रोस्टर) मा बाँकी रहने भएपछि ०१३ मा परीक्षा सञ्चालन नहुने भएको हो ।
कोरियाले इपिएसअन्तर्गत अब ०१४ का लागि मात्र नेपालमा भाषापरीक्षा सञ्चालन गर्ने भएको छ । ०१४ का लागि भने आगामी वर्ष सन् ०१३ को जुलाईमा परीक्षा हुने करिब पक्कापक्की भएको इपिएसले जनाएको छ । यसअघि सन् ०११ मा भएको परीक्षामा १५ हजारभन्दा बढी कामदार उत्तीर्ण गराएको कोरियाले यो वर्ष ६ हजारको हारहारीमा मात्र कामदारको श्रम करार (लेभर कन्ट्रयाक) पठाउने जनाएको छ । अघिल्लो वर्ष सञ्चालन भएको परीक्षामा उत्तीर्ण कामदारले अर्को वर्ष लागेपछि मात्र त्यहाँ जाने गर्छन् ।
सन् ०१२ का लागि कोरियाले विभिन्न १५ मुलुकका लागि छुटयाएको ५७ हजार कामदार कोटा केही समयअघि सकिएकाले पुन दुई हजार कोटा थप गरेको छ । तर, त्यो कोटामा थोरै संख्यामा मात्र नेपाली कामदारले अवसर पाउने छन् । एक वर्ष अवधिका लागि छुटयाएको कोटा केही महिना अघि नै सकिएपछि थप गरिएको हो । गत वर्ष सञ्चालन भएको भाषापरीक्षामा उत्तीर्ण भएमध्ये हालसम्म पाँच हजार तीन सयजना नेपाली युवा रोजगारीमा कोरिया गइसकेका छन् भने पाँच हजार सात सयजनाको लेभर कन्ट्रयाक आएको इपिएसले जनाएको छ । तर, रोस्टरमा बाँकी रहेकाले भने सन् ०१३ लागेपछि मात्र कोरिया जान पाउने इपिएस शाखा प्रमुख महेश आचार्यले बताए ।
उनले ०१३ का लागि गत वर्षकै कामदार रोस्टरमा बाँकी रहने भएकाले परीक्षा नहुने जनाए । तर, ०१४ का लागि नेपालमा परीक्षा सञ्चालन हुने भए पनि त्यसको आधिकारिक मिति तोकिनसकेको उनको भनाइ छ । नेपाल–कोरियाबीच दुई पक्षीय श्रम सम्झौतापछि हालसम्म १४ हजार ६ सयजना रोजगारीका लागि दक्षिण कोरिया गएको उनले जनाए ।
कोरियाले सन् २००७ मा भएको श्रम सम्झौतापछि सन् २००८ मा पहिलोपटक लिएको भाषापरीक्षामा ६ हजार पाँच सय ८६, सन् ०१० मा चार हजार ९६ र सन् ०११ मा १५ हजारभन्दा बढी कामदारलाई रोस्टरमा राखे पनि हालसम्म १४ हजार ६ सयजना रोजगारीका लागि गएका छन् ।
सन् २००८ पछि प्रत्येक वर्ष कोरियाले नेपालमा भाषापरीक्षा सञ्चालन गर्दै आएको थियो । २००७ अघि निजी क्षेत्रबाट पनि कामदार कोरियामा रोजगारीका लागि जानेगरेका भए पनि म्यानपावर कम्पनीले जथाभाबी रकम उठाउन थालेपछि अहिले इपिएस प्रक्रियाबाहेक कामदार कोरिया जान पाउँदैनन् । यस्तै, यसअघि कोरिया गई गैरकानुनी रूपमा बसी फर्केका, विभिन्न अभियोग लागेका व्यक्ति पनि त्यहाँ रोजगारीमा जान पाउँदैनन् । कोरियामा रोजगारीमा जाने कामदारले मासिक ८० हजारको हाराहारीमा पारिश्रमिक पाउँछन् ।

प्रतिक्रिया