मनोनीत जापानी राजदूतको मृत्यु

टोकियो : चीनका लागि जापानी राजदूतको कार्यभार सम्हाल्न नपाई वमनोनीत राजदूतको मृत्यु भएको छ । राजदूतको जिम्मेवारी सम्हाल्न चीन जानुअगावै अकस्मात् बिरामी परेका उनको टोकियोस्थित एक अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
जापानी अधिकारीले राजदूतको मृत्यु भएको पुष्टि गर्दै चीन र जापानबीच जारी विवादसँग उनको निधनको कुनै सम्बन्ध नरहेको प्रस्ट पारेका छन् । चीनमा जापानविरोधी प्रदर्शन जारी रहेकाले तनाव महसुस गरी उनको स्वास्थ्य बिग्रिएको र यसैकारण उनको निधन भएको चर्चा चलिरहेका बेला जापानी अधिकारीले यस्तो बताएका हुन् । सिनिसी निसिमिया नाम गरेका राजदूत राजधानी टोकियोमा मंगलबार अकस्मात् ढलेका थिए ।
जापानी विदेश मन्त्रालयले राजदूत निसिमियाको निधन भएको पुष्टि गर्दै चीनमा जारी जापानविरोधी प्रदर्शनसँग यसको कुनै सम्बन्ध नरहेको प्रस्ट पारेको छ । चीन र जापानबीचको सम्बन्ध ज्यादै तनावपूर्ण रहेका बेला उनलाई चीन पठाउने निर्णय गरिएको थियो । ‘इस्ट चाइना सी’ का कतिपय टापुको स्वामित्वलाई लिएर चीन र जापानबीच जारी विवादले तीव्र रूप लिइरहेका बेला उनलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको थियो ।
यसअघि उनीभन्दा अघिका राजदूत युचिरो निवालाई बेइजिङको सडकमा दुव्र्यवहार गरिएको थियो । उनी सवार गाडीलाई बीचसडकमा रोकी गाडीमा फहराइरहेको जापानी झन्डा प्रदर्शनकारीले च्यातेका थिए । त्यसपछि निवालाई फिर्ता बोलाएर निसिमियालाई उनको ठाउँमा पठाउने निर्णय जापानी विदेश मन्त्रालयले गरेको थियो । आइतबारसमेत बेइजिङमा जापानविरोधी प्रदर्शन भएको छ । (एजेन्सी)
जापानद्वारा नागरिकको सुरक्षा माग
बेइजिङ : चीनमा जापानविरोधी प्रदर्शन जारी रहँदै गर्दा जापानी प्रधानमन्त्री योसिहिको नोदाले आफ्ना नागरिकको सुरक्षा गर्न चीन सरकारसँग आग्रह गरेका छन् । चीनको राजधानी बेइजिङमा रहेको जापानी दूतावासमाथि शनिबार दिउँसो प्रदर्शनकारीले ढुंगामुढा गरेपछि उनले आफ्ना नागरिक र व्यापारिक समुदायको सुरक्षाको माग गरेका हुन् । आइतबार पनि दूतावासबाहिर सयौँ चिनियाँ नागरिकले प्रदर्शन थालेपछि उनले जापानको फुजी टेलिभिजनसँग भने, ‘केही समययता चीनमा हाम्रा नागरिक असुरक्षित भएका छन् । चीन सरकारले तत्कालै सुरक्षाको प्रत्याभूति दिनुपर्छ ।’ चीनमा आफ्ना नागरिक असुरक्षित हुनु दु:खद् रहेको भन्दै उनले यो अवस्था तत्काल हटाउन चीन सरकारसमक्ष आग्रह गरेका छन् । (एएफपी)

प्रतिक्रिया