अमेरिकाविरोधी प्रदर्शन जारी

इस्लामावाद : इस्लाम धर्मविरोधी चलचित्र बनाएको भन्दै विश्वका इस्लामिक देशहरूमा जारी अमेरिकाविरोधी प्रदर्शन आइतबार पनि विभिन्न देशमा भइरहेको बताइएको छ । प्रदर्शनका क्रममा शनिबारमात्र अफगानिस्तानमा दुईजनाको मृत्यु भएको थियो । अमेरिकामा निर्मित सो फिल्मले पैगम्बर मोहम्मदको अपमान गरी इस्लाम धर्मलाई होच्याएको विश्वभरका मुसलमान बहुलमा अमेरिकाविरोधी आन्दोलन चर्किएको छ ।
करिब चार दिनदेखि जारी अमेरिकाविरोधी प्रदर्शनका क्रममा विभिन्न देशमा ६ जनाको ज्यान गइसकेको छ । त्यसैगरी, यस्तो प्रदर्शन अस्ट्रेलियाको सिड्नीमा पनि भएको बताइएको छ । प्रदर्शनको अस्ट्रेलियाली प्रधानमन्त्रीले विरोध गरेकी छन् । इजिप्टको मुस्लिम ब्रदरहुड पार्टीले सो आन्दोलन फिर्ता लिएपछि भने त्यहाँ विरोध रोकिएको छ । यता यमनको सानास्थित अमेरिकी दूतावासअघि आन्दोलन जारी छ । त्यहाँ शनिबार प्रदर्शनकारी तथा प्रहरीबीच भिडन्त भएको छ । ‘इनोसेन्स अफ मुस्लिम्स’ नामक सो चलचित्रविरुद्ध शनिबार मोरक्को, सुडान, ट्युनिसिया एवं लेबनानका अमेरिकी दूतावासबाहिर प्रदर्शन भएको छ । कतिपय स्थानमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तितरबितर पनि पारेको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्वभर अमेरिकी दूतावासमा सुरक्षा व्यवस्था विस्तार गर्न आदेश दिएका छन् । सोहीबमोजिम विश्वका कतिपय मुस्लिम देशका अमेरिकी राजदूतावासमा सुरक्षा व्यवस्था पनि कडा पारिएको बताइएको छ । फिल्मसम्बन्धी विवादकै कारण गत साता आक्रोशित प्रदर्शनकारीले लिबियाको दोस्रो ठूलो सहर बेन्गाजीस्थित अमेरिकी कन्सुलेट कार्यालयमा आक्रमण गर्दा अमेरिकी राजदूतसहित अन्य तीन अमेरिकी कूटनीतिज्ञको मृत्यु भएको थियो । ‘इनोसेन्स अफ मुस्लिम’मा इस्लामको चर्को आलोचना गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया