भ्यु टावर निर्माण अलपत्र

बाग्लुङ, १ असोज । जिल्लाको पर्यटकीय क्षेत्र भकुन्डे मुलाबारीमा तीन वर्षदेखि निर्माण सुरु गरिएको भ्यु टावर अलपत्र परेको छ । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको भ्यु टावर निर्माणमा आर्थिक अभाव भएपछि एक तला मात्र निर्माण गरेर अलपत्र अवस्थामा

छोडिएको छ ।
आर्थिक वर्ष ०६७/६८ मा पर्यटन मन्त्रालयले टावर निर्माणका लागि तीन लाख रुपियाँ विनियोजन गरेपछि भकुन्डे–१ मुलाबारीको डाँडामा निर्माण थालिएको थियो । तीनतले भ्यु टावर निर्माणका लागि २५ लाख रुपियाँ खर्च हुने भए पनि अहिलेसम्म साढे सात लाख रुपियाँको लागतमा पहिलो तला मात्र निर्माण सम्पन्न भएको छ । जिविस बाग्लुङले आर्थिक वर्ष ०६८/६९ मा दुई लाख रुपियाँ बजेट विनियोजन गरे पनि चालू आर्थिक वर्षमा बजेट विनियोजन नगरेपछि निर्माणकार्य प्रभावित भएको भ्यु टावर निर्माण समितिका अध्यक्ष दलबहादुर थापाले बताए । जिल्ला परिषद्ले क्रमागत रूपमा बजेट विनियोजन गर्ने योजनालाई रकम नछुट्याई अन्त्रय छुट्याएका कारण भ्यु टावर निर्माणकार्य अलपत्र परेको भकुन्डे गाविसका पूर्वअध्यक्ष नरबहादुर थापाले बताए । धौलागिरि अञ्चलभित्रका तीन जिल्ला सदरमुकाम बेनी, बाग्लुङ र कुस्माका संगमस्थानमा बन्दै गरेको भ्यु टावर निर्माणका लागि जिल्ला विकास समिति गम्भीर नभएको भन्दै स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् ।
भ्यु टावर निर्माणका लागि पर्यटन मन्त्रालयको तीन लाख, जिल्ला विकास समितिको दुई लाख, गाउँ विकास समिति भकुन्डेको एक लाख र अन्य सापटी रकम एक लाख ६५ हजार गरी कुल सात लाख ६५ हजार रुपियाँ खर्च भइसकेको निर्माण समितिले जनाएको छ । स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले भने भ्यु टावर सम्पन्न गर्न केन्द्रबाटै बजेट विनियोजनका पहल गर्नुपर्ने बताए । ‘इलाकास्तरीय योजना तर्जुमा पनि भ्यु टावरलाई स्थानीयले प्राथमिकतामा राखेको देखिएन,’ पौडेलले भने, ‘इलाका स्तरबाट प्राथमिकतामा राखेर आए मन्त्रालयबाट आउने बजेटका लागि फलो अप गरेर योजना सम्पन्न गर्नका लागि पहल गर्नेछौँ ।’
समुन्द्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा रहेको भकुन्डेबाट दुई दर्जनभन्दा बढी उच्च हिमाल अवलोकन गर्नसकिने र सूर्योदय हेर्नका लागि अति उपयुक्त ठाउँ भएकाले पनि त्यस ठाउँमा टावर निर्माण सुरु गरिएको निर्माण समितिले जनाएको छ । टावर बन्दै रहे पनि त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक घुम्नका लागि नियमित रूपमा जाने गरेका छन् ।
उक्त स्थानमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत सत्कारका साथसाथै खान र बस्नका लागि होम स्टेको समेत व्यवस्था गरेपछि पर्यटकको उपस्थिति बाक्लिन थालेको छ । पर्यटकलाई लक्षित गर्दै भकुन्डेमा सञ्चालन गरिएका होम स्टेमा खान र बस्नका लागि राम्रो सुविधा भएपछि पर्यटक साँझको समयमा भकुन्डेमा बास बस्ने र भोलिपल्ट बिहान सूर्योदय, हिमशृंखला, मुलाबारीलगायत ठाउँमा घुमेर बाग्लुङ बजार फर्कने गरेका छन् । ‘अहिले भकुन्डेमा अधिकांश बाग्लुङ बजारमा पेसा, व्यवसाय गर्नेहरू आउने गरेका छन्,’ स्थानीय यामबहादुर थापाले भने, ‘साँझ आफ्नो काम सकेर भकुन्डे आउने, होम स्टेमा बस्ने, बिहान भ्यु टावर पुगेर भोलिपल्ट आफ्नो काम भेट्टाउन फर्कने गरेका छन् ।’

प्रतिक्रिया