कमजोर बडी गार्ड

काठमाडौं, ३१ भदौ । क्यामेरा र प्रविधि फेर्दैमा चलचित्र नयाँ धारको हुन्छ भन्ने मानसिकताले गाँजेको छ चलचित्रकर्मीलाई । पुरानै ढर्राको चलचित्र बनाउने तर प्रचार ज्यादा गरेर दर्शक तान्ने परिपाटीबाट उम्कन सकेको छैन प्रदर्शनरत चलचित्र बडी गार्ड पनि । बलिउडमा संघर्ष गरिरहेका अभिनेता आकाश शाह, चलचित्र क्षेत्रमा केही वर्ष बिताइसकेका निर्देशक राजेन्द्र उप्रेती र निर्माता सुशील पोखरेलको चलचित्र विशेष हुने अपेक्षा गरेर हल पुग्ने दर्शक निराश बनेर फर्कन्छन् ।

शीर्ष भूमिकामा देखिएका आकाश शाह (रघु), सौजन्य सुब्बा (दिलासा) र दिव्येश्वर गौतम (दिव्येश्वर) वरिपरि घुमेको छ चलचित्र । दिव्येस्वरको बडी गार्डका रूपमा रहेको रघु पुलिस इन्सपेटर हुन्छ । प्रहरी भए पनि ऊ दिव्येश्वरको इसारामा गरिबलाई ज्यादती गर्छ । प्रसंगवश पतिको हत्याको बदला लिन छटपटाइरहेकी दिलासासँग उसको प्रेम बस्छ । सोही प्रेमकै खातिर ऊ जसको बडीगार्ड बनेको हो, उसैका विरुद्ध उत्रिन्छ । देश र जनताका लागि राम्रो काम गरेर दिलासाको माया पाउने धुनमा लाग्छ । समग्रमा यही हो, बडी गार्डको कथा । अन्त्यमा दिलासाले हत्याको बदला लिन खोज्नुको कारण र रघु खासमा कसको बडी गार्ड हो भन्ने देखाउन खोजिएको छ । सुरुमा पुलिसलाई देशको बडी गार्ड बताइएको र अन्त्यमा नायिकाले ‘मेरो बडी गार्ड’ भनेका प्रसंगबाट चलचित्रको नाम पुष्टि गर्न खोजिएको छ । किडन्याप, आक्रमण, लडाइँ, झगडाका प्रसंग पटकपटक दोहोर्‍याइँदा कथाले गति समात्न सकेको छैन ।
कथामा थुप्रै ठाउँमा तोडमरोड गरेर जोडेझैँ लाग्छ । मध्यान्तरअघिको प्रस्तुति स्लो लाग्छ, दोस्रो हाफमा केही गति लिएको छ । पहिलो हाफमा उति जम्न नसकेकी सौजन्यको अभिनय दोस्रो हाफमा चाहिँ राम्रै मान्नुपर्ने खालेको छ । सिलसिलालगायत केही सफल चलचित्र दिएका निर्देशक राजेन्द्र उप्रेतीको यसमा त्यस्तो कुनै सिन छैन, जसले उनलाई अनुभवी पुष्टि गरोस् । डिल्लीप्रसादको भूमिकामा देखिएका कलाकार कृष्ण ढुंगानाका सुरुका केही दृश्य चलचित्र जबर्जस्ती लम्ब्याउन मात्र प्रयोग गरेजस्तो लाग्छ ।
आकाश शाहको अभिनयभन्दा पनि मसल प्रदर्शनमा बढी जोड दिइएको छ । नायिका सौजन्यलाई सुरुआतमै सहरबाट जागिर सरुवा भएर गाउँ पुगेको संवाद बोलाइए पनि ब्याकग्राउन्डमा सहरका आलिसान अपार्टमेन्ट देखिनुले निर्देशकको क्षमतामा प्रश्नचिह्न लगाउँछ । आफैँले पैसा दिएर पठाएका गुन्डाबाट हिरोइनलाई बचाउने अनि भिलेनको नुन चुक्ता गर्न हात काटेर रगत बगाउनेजस्ता वर्षांैदेखि देखिँदै आएका सस्ता दृश्य यो चलचित्रलाई नयाँ मसालाजसरी प्राथमिकता दिएको छ ।
खलभूमिकामा देखिने दिव्येश्वरको अभिनय राम्रो लाग्छ । उनी सुरुदेखि अन्तयसम्मै आफ्नो भूमिकामा अडिग छन् । भिलेनसँग जोडिएका विभिन्न दृश्यमा गाडीको लस्कर देखाइन्छ । तर, त्यसबाट निस्कने मानिस भने देखाइएका गाडीको संख्याजति पनि हुँदैन । यो दृश्य आफैँमा अस्वाभाविक लाग्छ । शिवम् अधिकारीको स्क्रिप्ट उति दमदार लाग्दैन । चलचित्रको संगीत पक्ष भने सबल छ । गीतमा समेटिएका दृश्य राम्रा छन् । द्वन्द्वका केही दृश्य पट्यारलाग्दो भए पनि केही दृश्यमा भने द्वन्द्वनिर्देशक हिमाल केसीले नयाँ शैली भित्र्याएका छन् । चलचित्रले प्रहरी प्रशासन देशको बडी गार्ड बन्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ । समग्रमा प्रचारप्रसारमा जति नै तडकभडक गराए पनि चलचित्र त्योअनुसार पाइँदैन, प्रस्तुति फितलो छ ।

निर्देशक : राजेन्द्र उप्रेती
निर्माता : सुशील पोखरेल
छायाकार : कृष्ण श्रेष्ठ
द्वन्द्व : हिमाल केसी
पटकथा, संवाद : शिवम् अधिकारी
संगीत : हरि लम्साल
नृत्य : बब्बु थापा
कलाकार : आकाश शाह, सौजन्य सुब्बा
दिव्येश्वर गौतमलगायत ।

प्रतिक्रिया