छोटी भन्सार पुनस्र्थापनामा ढिलाइ

इलाम, ३१ भदौ । द्वन्द्वकालमा विस्थापित भएका इलामका पाँच छोटी भन्सार शान्ति स्थापना भएको ६ वर्ष बितिसक्दा पनि पुनस्र्थापना हुनसकेको छैन ।
इलाम र पाँचथरको सिमानामा पर्ने मेमेङ र च्याङथापुसहित जिल्लाका बन्दुके, माइमझुवा र हिले छोटी भन्सार कार्यालय पुनस्र्थापना हुन नसकेको हो । छोटी भन्सार कार्यालय पुनस्र्थापना गर्नका लागि कहिँकतैबाट पनि चासो नदिइएका कारण पुनस्र्थापना हुननसकेको पशुपतिनगर भन्सार कार्यालयका नायब सुब्बा मानबहादुर ठटालले बताए ।
पुनस्र्थापना गरे पनि त्यस छोटी भन्सारबाट राजस्व नै नउठ्ने र छोटी भन्सारका कर्मचारी पठाउनका लागि कर्मचारीकै अभाव भएको उनको भनाइ छ । उनका अनुसार छोटी भन्सारमा कर्मचारी र भवनको अभाव छ ।
द्वन्द्वकालमा विस्थापित भएका ती छोटी भन्सार पुनस्र्थापना नहुँदा त्यस क्षेत्रबाट चोरी निकासिका लागि तस्करलाई सहज भएको छ । त्यहाँका केही स्थानमा प्रहरी चौकी भएता पनि कम प्रहरी भएका कारण सबैक्षेत्रमा निगरानी गर्न नसकेका कारण समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
यसैबीच ०६७/६८ का तुलनामा गत आर्थिक वर्ष ०६८/६९ मा पशुपतिनगर भन्सार कार्यालयमा राजस्व संकलन दोब्बरले वृद्धि भएको छ । कार्यालयको लक्ष्यभन्दा पनि बढी राजस्व संकलन भएको हो ।
पूर्वी इलामको सीमावर्ती क्षेत्र पुशपतिनगरमा रहेको सो भन्सार कार्यालयले अघिल्लो आव ०६७/६८ मा ४२ लाख ४१ हजार रुपियाँ राजस्व संकलन गरेकामा गत आव ०६८/६९ मा एक करोड २० लाख ९५ हजार राजस्व संकलन गरेको कार्यालयको तथ्यांमा उल्लेख छ ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी गाडी लिलाम भएकाले राजस्व संकलन बढेर गएको भन्सार कार्यालयका नायब सुब्बा ठटालले बताए । ‘कार्यालयको लक्ष्य ५० लाख रुपियाँसम्म मात्र संकलन गर्ने थियो,’ उनले भने, ‘लक्ष्यभन्दा दोब्बरले बृद्धि भएकाले काम गर्ने हौसला मिलेको छ ।’
भन्सार कार्यालयको तथ्यांकअनुसार जिल्लामा सञ्चालित तीनवटा छोटी भन्सार कार्यालय मानेभञ्ज्याङ, तुम्लिङ र छब्बिसेबाट पनि गत वर्ष राम्रै ढंगबाट राजस्व संकलन उठेको कारण वृद्धि भएर गएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मानेभञ्ज्याङ छोटी भन्सार कार्यालयबाट गत आवमा चार लाख छ सय ३८, तुम्लिङ छोटी भन्सार कार्यालयबाट एक हजार आठ सय ५० र छब्बिसे छोटी भन्सार कार्यालयबाट चार हजार पाँच सय ९३ रुपियाँ राजस्व संकलन भएको छ । यो राजस्व गत वर्षका तुलनामा छोटी भन्सारमा दोब्बरले बढेको हो । ती छोटी भन्सार कार्यालयमा दरबन्दी अनुसारकै कर्मचारी पठाएकै कारण राजस्व संकलनमा वृद्धि भएको दाबी पनि भन्सारको छ ।
८ लाख कर तिरेन

इलाम : नेपाल विद्युत् प्राधिकरण इलाम जलविद्युत् आयोजनाले इलाम नगरपालिकालाई आठ लाख रुपियाँभन्दा बढी कर तिर्न बाँकी छ ।
आयोजनाले आर्थिक वर्ष ०६१/६२ देखियता चार लाख ६९ हजार तीन सय रुपियाँ बक्यौता, ०६९/७० देखियता एक लाख ५२ हजार दुई सय छ रुपियाँ सम्पत्ति कर तिर्न बाँकी रहेको नगरपालिका कार्यालयले जानकारी दिएको हो ।
आयोजनाले यस्तै अन्य शुल्क ९१ हजार तीन सय २४ रुपियाँ, जरिबानाबापत २५ प्रतिशतले वृद्धि भएको एक लाख १७ हजार तीन सय ३४ रुपियाँ गरी कुल आठ लाख ३० हजार एक सय ९८ रुपियाँ तिर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । सो कर इलाम वितरण केन्द्र र तिल्केनीस्थित सातौँबाहेक रहेकाले पुन: कर तिर्न प्राधिकरणलाई पत्राचार गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी नगरपालिकाको ०६८/६९ को व्यवसाय करबापत आठ लाख ८६ हजार तीन सय छ रुपियाँ पनि उठ्न बाँकी रहेको छ । चालु आवको हालसम्मको यो रकम नौ लाख २५ हजार रुपियाँ पुगेको छ ।
०६२ देखि सुरु गरेको गाउँ–नगर साझेदारी कार्यक्रममा लगानी भएको रकममध्ये तीन लाख २९ हजार एक सय २९ रुपियाँ रहेको कार्यालयको राजस्व शाखाले जनाएको छ ।

प्रतिक्रिया