लाखौँ मूल्यको काठ कुहियो

नेपालगन्ज, ३१ भदौ । बाँकेमा सिक्टा सिँचाइ आयोजनाले नहर विस्तार गर्नेक्रममा सामुदायिक वनका कटान गरिएका लाखाँै मूल्य पर्ने काठ सडेर कुहिन थालेका छन् ।
नहर विस्तारका क्रममा विभिन्न जातका रुख काटिएका छन् । काटिएका काठ सडेर कामै नलाग्ने हुनथालेको सितल छाया सामुदायिक वनका अध्यक्ष हेमराज रावतले बताए । सरकारको नीतिअनुसार प्रक्रियामा जाँदा सिक्टाले काठ सामुदायिक वनलाई हस्तान्तरण गर्न ढिलो भएकाले काठ कुहिन थालेको हो ।
स्थानीय विकासको आम्दानीको स्रोत रहेको सामुदायिक वनको काठ बिक्री नभएपछि गाउँको विकासमा पनि प्रत्यक्ष प्रभाव परेको अध्यक्ष रावतले बताए । चट्टा बनाई राखेका काठ कुहिनका साथै चोरी हुनथालेको छ । उषा हरियाली सामुदायिक वनका कार्यालय सचिव प्रदीप चौधरीले १३ चट्टा काठ कुहिएको बताए ।
उनले आफ्नो सामुदायिक वनमा अन्दाजी १७ सय क्युफिट खयर रहे पनि चोरी हुनथालेकामा चिन्ता व्यक्त गरे । उनका अनुसार समयमै काठ बिक्री भएको भए आम्दानी धेरै हुने थियो । करिब २० लाख रुपियाँ बराबरको आम्दानी हुने काठ अहिले बिक्री गरे पनि त्योभन्दा कम मात्रै आम्दानी हुने उनि बताउँछन् ।
ज्योति सामुदायिक वनका अध्यक्ष अम्बर विकले समयमै काठ बिक्री नगर्दा उपोभोक्ता मारमा परेको बताए । कोहलपुर क्षेत्रमा सबैभन्दा धेरै लक्ष्मी सामुदायिक वनको २५ हजार क्युफिट काठ सड्ने अवस्थामा छ । तीन वर्षअगाडि कटान गरिएका रुखको अहिले आएर टेन्डर प्रक्रियामा गएका छन् । सामुदायिक वनको रुख कटानीको जिम्मा पाएका ठेकदार ईश्वरी श्रेष्ठले काठ हस्तान्तरणका लागि लामो प्रक्रिया भएको बताए ।
जिल्ला वन कार्यालयका अधिकृत गणेश खड्काले सामुदायिक वनका पदाधिकारीले प्रक्रिया पुर्‍याएर आए वन कार्यालयले टेन्डर प्रक्रिया अगाडि बढाउनका लागि अनुमति दिने बताए । उनले भने, ‘सिक्टाले सिफारिस गरेको चिट्ठी र समुहको निर्णय ल्याएर आए हामी अनुमति दिन्छौँ हामीबाट केही ढिलो पनि भएको छैन् ।’

प्रतिक्रिया