मनोजको मेलम्ची भ्रमण

‘बाबा, मेलम्चीको पानी कहिले आउँछ ?’ मनोजले जिज्ञासा राख्यो ।

‘मेलम्चीको पानीको के ठेगान भयो र बाबु †’ बाबाले भन्नुभयो ।
‘पानी त जहिले आए पनि आओस् । एकपटक पानीको मुहान हेर्न जाऔँ न बाबा,’ मनोजले बाबालाई अनुरोध गर्‍यो ।
मनोजको आग्रह बाबालाई राम्रो लाग्यो । मनोजको विद्यालय बिदा भयो । बिदाको मौकामा बाबुछोरा मेलम्ची लाग्ने भए । बानेश्वरबाट मोटरसाइकलमा बाबुछोरा भ्रमणमा निस्किए । भक्तपुर बनेपा, धुलिखेल हुँदै बिस्तारै अघि बढे । बाबाले बाटाका नयाँ ठाउँबारे बताउँदै जानुभयो । काभ्रेको जिरोकिलो पुगेपछि बाइक रोकियो । चियाखाजा खाँदै बाबाले भन्नुभयो, ‘बाबु अब हामी यो पूर्वतिरको बाटो छोड्छौँ । यहाँबाट केही पर दोलालघाट पर्दछ । चौतारा, तातोपानी, जिरी, मन्थली, चरिकोटको गाडी यतैबाट जाने हो ।’
मेलम्चीतिर बाइक मोडियो । फेदी, कुन्ताबेसीको रमाइलो फाँट हेर्दै अघि बढे । हिँगुवापाटी कटेपछि इन्द्रावती नदी देखियो । इन्द्रावती नदी अनि पारिको रमाइलो गाउँ देखेपछि मनोज खुसी भयो । उसले नदी तथा गाउँको बारेमा जिज्ञासा राख्यो । बाबाले भन्नुभयो, ‘बाबु, सप्तकोसीका प्रमुख सात नदीमध्ये यो इन्द्रावती पनि एक प्रमुख नदी यो । काठमाडौं लैजाने भनिएको मेलम्ची खोलाको पानी पनि यहीँ मिसिएको छ । पारि देखिएको गाउँचाहिँ सिन्धुपाल्चोक जिल्लाको भीमटार गाउँ हो । भीमटार गाउँमा धेरैजसो दनुवार र माझी जातिका मानिस बस्छन् ।’
अगाडि बजारजस्तो देखियो । ‘मनोज बाबु, हामी सिपाघाट बजारमा आइपुग्यौँ,’ बाबाले भन्नुभयो । सिपाघाट बजार कट्दै गर्दा मनोजले एउटा ठूलो साइनबोर्ड देख्यो । लेखिएको थियो, ‘सिन्धुपाल्चोक जिल्ला तपाईंहरूलाई स्वागत गर्दछ ।’ ‘बाबा हामी सिन्धुपाल्चोक जिल्लामा आइपुगेछौँ,’ मनोजले भन्यो । ‘हो बाबु, यो सिन्धुपाल्चोकको फटकशिला गाउँ हो । हामी मेलम्ची भएको जिल्लामा आइपुगिसक्यौँ,’ बाबाले भन्नुभयो ।
बाहुनीपाटी कटेर मेलम्ची बजार पुगेपछि बाइक रोकियो । ‘यो मेलम्ची बजार हो । सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रको प्रमुख बजार । यहाँ मेलम्ची खानेपानीको साइटअफिस छ । क्याम्पस, सरकारी तथा निजी विद्यालय छन् यहाँ ।
बैंक, रेञ्जपोस्ट, हुलाक, अस्पताल, आयुर्वेदालय छन्,’ बाबाले जानकारी गराउनु भयो । उनीहरू मेलम्चीको पुरानो पुल हेर्न पुरानो बजारतिर लागे । मेलम्चीपारि शिखरपुर, ज्यामिरे गाउँलाई जोड्ने यो पुल निकै पुरानो हो, राणा शासक चन्द्रशमशेरको पालामा विसं. १९८६ मा बनेको । बाबाले पुलको पारि शिलामा अंकित मिति र चन्द्रशमशेरको नाम देखाइदिनुभयो ।
त्यहाँ पुलकै छेउमा घर हुने प्रेमकृष्ण श्रेष्ठ भेटिनुभयो । मनोजले उहाँसँग जिज्ञासा राखे, ‘प्रेम दाइ तपाईंहरूको खोलाकै छेउमा घर रहेछ । वर्षायाममा ठूलो पानी परेर बाढी आउँदा डर हुन्न ?’ ‘पहिले त अलि डर थियो । अहिले त पक्की पर्खाल लगाइएको छ । त्यसैले डर हुन्न । २०३८ सालमा त यो पुल नै नाघ्ने गरी बाढी आएको थियो  । पुल पनि बाढीले लछारेको थियो,’ प्रेमकृष्णले जवाफ दिनुभयो ।
यही पुलको नामबाट यो ठाउँलाई पहिले पुलबजार भनिन्थ्यो । मेलम्ची नाम त पछि मात्रै आएको हो । धेरै कुराको जानकारी पाउँदा मनोज असाध्यै खुसी भयो । मेलम्चीको ताजा माछासँग भात खान पाउँदा अझ खुसी भयो ।
मुढेबाट ल्याएको मूलाको अचार खुबै स्वादिलो थियो । चाङ्खुको निगुरोको तरकारी पनि उस्तै मीठो । इन्द्रावतीको चिसो पानीको असला माछा निकै स्वादिलो लाग्यो मनोजलाई । बाबालाई भन्यो पनि, ‘बाबा, यति मीठो माछा त मैले खाएकै थिइनँ । काठमाडौं पनि लैजाऊँ है बाबा †’
मेलम्ची बजारको खानपानपछि मेलम्ची मुहान जाने तरखर गरे । यो बजारबाट १८ किलोमिटरमाथि हेलम्बूको तिम्बु बजार पर्छ, त्यहाँबाट नजिकै हो मुहान । मेलम्चीबाट हिँडेपछि तालामाराङ बजार पुगियो । अलि माथि ग्याल्थुम । चनौटे बजार, किउल हुँदै तिम्बु पुगे । अझ माथि मेलम्ची पानी लैजाने सुरुङ खन्दै गरेको ठाउँमा पुगे । गाडी ओहोदोहोर गर्ने त्यस्तो सुरुङ मनोजले पहिला देखेकै थिएन । मनोजले अरू पनि जानकारी पायो, २६ किलोमिटर सुरुङबाट पानी छिराएर काठमाडौं पुर्‍याइनेछ । त्यहाँ शुद्धीकरण गरेर काठमाडौं उपत्यकामा पानी वितरण गरिनेछ । अहिलेको योजना सन् २०१५ मा पानी काठमाडौं पुर्‍याउने हो । तर, त्यसअनुसार काम भएको रहेनछ ।
घर फर्कंदै गर्दा मनोजले आफूले धेरै कुरा जानेको महसुस गर्‍यो । आफूले जानेका, देखेका कुरा साथीहरूलाई सुनाउन आतुर भयो ।

प्रतिक्रिया