प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अहिले विभिन्न व्यक्तिहरू राजनीतिक शक्तिकेन्द्र धाउने गरेका खबरहरू सार्वजनिक भएका छन् । बोर्डका अध्यक्ष गणेश भण्डारीले अध्यक्ष पदबाट राजीनामा दिएपछि चलचित्र उद्योगसँग सम्बन्धित तथा यसबाहिरका विभिन्न व्यक्तिहरू पनि आर्थिक चलखेलसहित अध्यक्ष हुन राजनीतिक दलका नेताका दैलो चहार्न थालेका छन् । सरकारले सार्वजनिक संस्थानहरूमा पदाधिकारी नियुक्त गर्दा प्रतिस्पर्धाका आधारमा अनुभवी, विशेषज्ञ तथा स्वच्छ छविका व्यक्तिलाई नियुक्त गर्न सार्वजनिक संस्थान बोर्ड गठन गरेको छ । तर पनि कतिपय सार्वजनिक संस्थानहरूमा भने अझै पनि यस्तै राजनीतिक तथा आर्थिक चलखेल चलेकै छ । यही नै हामी सबै नेपालीका लागि दुर्भाग्य बनेको छ । यसले ओरालो लागेका सार्वजनिक संस्थानहरू फेरि पनि धराशयी हुने निश्चित छ । तसर्थ, सरकारले सबै सरकारी तथा सार्वजनिक संस्थान तथा प्राधिकरणमा पदाधिकारी नियुक्त गर्दा अनिवार्य रूपमा प्रतिस्पर्धात्मक तवरबाट नियुक्त गर्नुपर्ने प्रावधान राखिनुपर्छ । ताकि आगामी दिनमा पनि यस्ता राजनीतिक खिचातानी र आर्थिक चलखेल हुने घटनाहरू दोहोरिन नपाउन् ।

प्रतिक्रिया