भाइरल ज्वरोको हरेक वर्ष नयाँ भाइरस

काठमाडौं, ३१ भदौ । देशभर देखा परेको भाइरल ज्वरोका कारण यस वर्ष २२ जनाको मृत्यु भइसकेको छ । हजारभन्दा बढी बिरामी परेका छन् । भाइरल ज्वरोले प्रकोपकै रूप लिनुमा ज्वरो गराउने भाइरस पत्ता लाग्न नसक्नु मुख्य कारण रहेको चिकित्सक बताउँछन् ।
भाइरल ज्वरो गराउने भाइरसले हरेक वर्ष रूप परिवर्तन गर्ने भएका कारण उपचारमा समस्या परेको चिकित्सकको भनाइ छ । उनीहरूका अनुसार हजारौँ प्रकारमध्ये हरेक वर्ष नयाँ भाइरसले आक्रमण गर्दा बिरामी बढी हुने गरेको पाइएको छ ।
साधारण रूपमा लिइने यो रोगका भाइरस वर्षैपिच्छे छुट्टाछुट्टै हुने गरेकाले उपचार अभावमा धेरैले ज्यान गुमाउनुपरिरहेको सरुवारोग विशेषज्ञ डा. वासुदेव पाण्डेको भनाइ छ । ‘भाइरसका कारण हुने यो रोगबाट मानिसलाई हरेक वर्ष नयाँ–नयाँ भाइरसले सताउने गरेको छ,’ डा. पाण्डेले भने, ‘तर कुन भाइरसले सतायो र त्यो भाइरस कति खतरनाक छ भन्ने थाहा पाउन सकिन्न ।’ उनले यस वर्ष पनि देशका विभिन्न जिल्लामा भाइरल ज्वरोका कारण दुई दर्जनभन्दा बढीको मृत्यु भइसकेको जानकारी आएको बताए ।
वीर अस्पतालका फिजिसियन डा. धु्रवप्रसाद सिंहका अनुसार कुनै पनि व्यक्तिलाई एकपटक भाइरल भएको छ भने अर्कोपटक अर्कै भाइरसले आक्रमण गर्छ । ‘श्वासप्रश्वासमा आक्रमण गर्ने यो रोगका भाइरसका प्रकार हरेकपटक छुट्टाछुट्टै हुने गरेको छ,’ डा. सिंहले भने, ‘त्यही भएर जोखिम समूहमा रहेका गर्भवती, बालबालिका तथा अन्य रोग लागेकालाई उपचार गर्न समस्या पर्ने गरेको छ ।’ उनका अनुसार भाइरसको प्रकार हरेकपटक परिवर्तन हुने भएकाले यो रोगको रोकथामका लागि अन्तर्राष्ट्रियस्तरमा फैलिएको भाइरसको प्रकृति हेरेर औषधि दिनुपर्छ ।
चिकित्सकका अनुसार एकपटक आक्रमण गरिसकेको भाइरसले पुन: आक्रमण गर्न नसक्ने भएकाले प्रत्येकपटक भाइरसका प्रकारमा परिवर्तन आउँछ । भाइरसका प्रकारमा परिवर्तन आइरहने भएकाले चिकित्सकले उच्च जोखिममा रहेका व्यक्तिलाई रोग लाग्ने सम्भावित भिडमा नजान, मास्क लगाउन, हाच्छयँु गर्दा रुमालले छोप्न, हात राम्रोसँग साबुनपानीले धुन र विनाकाम नाक, आँखा, मुख नछुन सुझाव दिँदै आएका छन् ।
हरेक वर्ष भाइरल ज्वरोले हजारौँलाई बिरामी बनाउने गरेकाले यसको उपचार तथा नियन्त्रणमा सहयोग पुर्‍याउन भाइरोलोजिकल सेन्टरको आवश्यकता परेको चिकित्सकको ठम्याइ छ । डा. पाण्डेले बर्सेनि भाइरल ज्वरोले देशका विभिन्न स्थानमा प्रकोपकै रूप लिने गरेकाले प्रकोप न्यूनीकरणका लागि सेन्टरको आवश्यकता परेको बताए । ‘भाइरसमा परिवर्तनका कारण उपचारमा समस्या परिरहेको छ,’ उनले भने, ‘त्यसकारण धेरै व्यक्ति ज्यान गुमाउन बाध्य भएका हुन् ।’ भाइरोलोजिकल सेन्टर भए बिरामीको नमुना परीक्षण गरी उपचारमा जान सजिलो हुने उनको भनाइ छ ।
डा. सिंहका अनुसार भाइरल ज्वरो गराउने भाइरस घाँटीमा सुषुप्त अवस्थामा हुने भएकाले मौसम परिवर्तन हुँदा, चिसोपानी, खाना, दही वा आइसक्रिमजस्ता चिसो खानेकुरा खाँदा यी भाइरस सक्रिय भई रोग प्रतिरोधात्मक क्षमतामा असर गर्ने भएकाले बिरामी गराउँछ । भाइरल ज्वरो भएका मानिसको शरीरको तापमान १ सयदेखि १ सय ३ डिग्री फरेनहाइटसम्म हुन सक्छ । यो संक्रमणको असर १० देखि १२ दिनसम्मको हुने भए पनि यसपटक बिरामीमा लामो समयसम्म ज्वरो आउने, बेस्सरी टाउको तथा जिउ दुख्ने, रुघाखोकी लाग्ने चाँडै अरूमा सर्नेजस्ता समस्या बढी देखिएको डा. सिंहले बताए ।
मौसम परिवर्तनको समयमा हुने यो रोगलाई साधारण रूपमा लिने गरिन्छ । चिकित्सकहरू भने रोग प्रतिरोधक क्षमता कम भएकामा यो रोग घातक हुने बताउँछन् । उनीहरूका अनुसार यो रोगको अति जोखिममा पाँच वर्षमुनिका बालबालिका, गर्भवती, दमका रोगी तथा छाती र श्वासप्रश्वास, मुटु र मिर्गाैलासम्बन्धी रोग लागेका व्यक्ति छन् । उनीहरूलाई यो रोगले छिट्टै समात्ने तथा बढी खतरा रहने गरेको छ । त्यसैगरी, मधुमेह तथा एचआइभी एड्स रोग लागेकालाई पनि यो रोगले चाँडै पक्रन सक्छ । यी रोगबाट पीडित तथा बालबालिका र गर्भवतीको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूले सतर्कता अपनाउनुपर्ने डा. पाण्डेले बताए ।

प्रतिक्रिया