अभियुक्त छुटाउन माओवादीको बन्द

नुवाकोट : एकीकृत नेकपा (माओवादी) नुवाकोटले मोटरसाइकलमा आजगनी र कुटपिटमा संलग्न आरोपमा प्रहरी हिरासतमा रहेका कार्यकर्ता छुटाउन शनिबार बन्द गरेको छ ।
बन्दका कारण बिहानैदेखि पूर्वी नुवाकोटको जनजीवन प्रभावित भएको थियो । २४ भदौमा चौघडा–२ मा मोटरसाइकलमा आगजनी गरेको अभियोगमा पक्राउ परेका माओवादी कार्यकर्ता बालकृष्ण राईको रिहाइको माग गर्दै २ नम्बर क्षेत्र बन्द गरिएको हो ।
एमाओवादी तामसालिङ राज्य सम्मेलन आयोजक समितिका सदस्य राईको नेतृत्वमा रहेका युवाले सोही स्थानका भोजेन्द्र मल्ल र प्रताप भुजेलको घरमा घेरा हालेर उनीहरूमाथि आक्रमण गरी मोटरसाइकल जलाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनीहरूले बा ३९ प २१६५ नम्बरको मोटरसाइकल जलाएका थिए । सोही समूहले प्रहार गरेको खुकुरीले भुजेलको खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीले राईलाई झुटो मुद्दा चलाएको आरोप लगाउँदै माओवादी जिल्ला सम्मेलन आयोजक समिति नुवाकोटकी संयोजक विमला सुवेदीले विज्ञप्ति जारी गरी राईलाई लगाइएको सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दा फिर्ता नलिए आइतबार नुवाकोट बन्द गर्ने जनाएकी छन् । (सौस)

प्रतिक्रिया