छवि सुधार्दै भलिबल संघ

काठमाडौं, ३० भदौ । नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ नयाँ योजनामा छन् । पोखरामा ‘बीच भलिबल’ प्रतियोगिता तयारीको घोषणालगत्तै सौर्यसँगको कुराकानीमा उनले अन्तर्राष्ट्रिय भलिबल महासंघको कंग्रेसमा नेपालको उपस्थितिबारे बताउँदै खेल सामग्रीको माग, रेफ्री रिफ्रेसर र प्रशिक्षक कोर्सको पनि योजना रहेको बताए । पछिल्ला डेढदशकदेखि भलिबल संघ निष्क्रिय संघका रूपमा रहेको थियो । तामाङको नेतृत्व पाएको ६ महिना पनि पूरा नहँुदै यो निष्क्रियताको छवि मेटाउन धेरै हदसम्म सफल भइसकेको छ ।
संघ नेतृत्वको यो उत्साहलाई अझ बढाउन गत साता काठमाडौंमा सम्पन्न एनभिए कप भलिबल प्रतियोगिताको सफलताले धेरै सहयोग पुर्‍यायो । काठमाडौंमा अत्यधिक दर्शकको उपस्थितिमा दशरथ रंगशाला कभर्ड हलमा भएको खेलले भलिबल अधिकारीहरूले सायद पहिलोपटक आफ्नो खेलको लोकप्रियता पनि राम्रोसँग बुझ्ने अवसर पनि पाएको हुनुपर्छ ।
प्रथम एनभिए कप राष्ट्रिय क्लब च्याम्पियनसिपको पुरुषमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र महिलामा नेपाल पुलिस क्लबले उपाधि जिते । दुवैको फाइनलमा एपिएफ र पुलिस भिडेकोमा नतिजा मिश्रित रह्यो ।
पुरुष फाइनलमा एपिएफले पुलिसलाई २५–१५, २५–२०, २३–२५ र २५–२१ ले पराजित गर्‍यो । महिलाको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा दुई सेटले पछि परेको पुलिस क्लब राम्रो कमब्याक गर्दै २१–२५, २२–२५, २८–१८, २५–१७ र १५–१२ ले खेललाई आफ्नो पक्षमा पार्न सफल भयो । उपाधिसँगै दुवै समूहका विजेताले समान एक लाख तथा उपविजेताले ५० हजार रुपियाँ पुरस्कार पाए ।
पुरुषमा नेपाल आर्मी क्लब तेस्रो भयो । आर्मीले जी फोर स्पोर्टस् क्लब, दोलखालाई २५–१५, २५–१६ र २५–२० ले हरायो । आर्मीका दीपबहादुर खड्का ‘म्यान अफ द म्याच’ भए । महिलामा न्यु डायमन्ड क्लब पश्चिमाञ्चल भलिबल प्रशिक्षण केन्द्रमाथि ३–२ को संघर्षपूर्ण जित हात पार्दै तेस्रो भयो । डायमन्ड २३–२५, २५–१७, १७–२५, २५–२१ र १५–११ ले विजयी भयो । रमिला तण्डुकार ‘वुमन अफ द म्याच’ बनिन् । तेस्रो हुने दुवै टिमले समान २५ हजार रुपियाँ पाए ।
प्रतियोगिताको पुरुषमा एपिएफका कैलाशदत्त भट्ट तथा महिलामा पुलिसकी कोपिला उप्रेती उत्कृष्ट खेलाडी चुनिए । त्यसबापत दुवैले समान १०–१० हजार रुपियाँ नगद पुरस्कार पाए ।
त्यस्तै, स्पाइकरतर्फ पुरुषमा पुलिसका सञ्जय अर्याल र महिलामा डायमन्डकी रमिला तण्डुकार, ब्लकतर्फ पुरुषमा एपिएफका महेन्द्र श्रेष्ठ र महिलामा एपिएफकै चन्द्रावती राना उत्कृष्ट भए । लिफ्टरतर्फ पुरुषमा एपिएफका खुसी चौधरी र महिलामा एपिएफकै विनिता बुढाथोकी, सर्भरको पुरुषतर्फ पुलिसका कुलबहादुर थापा र महिलामा पुलिसकै सुशीला थापा तथा डिफेन्डरतर्फ पुरुषमा एपिएफका पुष्पजंग मल्ल र महिलामा एपिएफकै ज्योति चौधरी उत्कृष्ट खेलाडी भए । साताव्यापी प्रतियोगिताको पुरुषमा १२ र महिलामा सात टिमले प्रतिस्पर्धा गरेका थिए ।
राष्ट्रिय च्याम्पियन रहेका एपिएफ र पुलिस टोलीले नै उपाधि जिते । तर, राष्ट्रिय च्याम्पियनसिपभन्दा एनभिए कप फरक रह्यो । राष्ट्रिय च्याम्पियन बन्दा पुलिसलाई पाँच सेटको प्रतिस्पर्धामा मुस्किलले हराएको एपिएफले यसपटक अलि सहजै उपाधि जित्यो । महिलातर्फ एपिएफ र पुलिस क्लब पहिलो चरणमा भिड्दा सहजै जितेको पुलिसले एनभिए कपमा त्यसै टोलीलाई हराउन ठूलो कसरत गर्नुपर्‍यो । प्रतियोगिताको महिला स्पर्धामा तीन पाका खेलाडी कोपिला, विनिता र नीता शाहको प्रदर्शन पछिल्लो पुस्ताकै लागि पनि अझ बढी मिहिनेत गर्न प्रेरित गर्ने खालको रह्यो । राष्ट्रिय खेलकी उत्कृष्ट खेलाडी कोपिला उप्रेती यस प्रतियोगितामा पनि उत्कृष्ट घोषित हुँदै आफूलाई सदाबहार खेलाडीको सूचीमा राख्न सफल भइन् ।
लगभग डेढदशक सुस्ताएको भलिबलमा थुप्रै परिवर्तन देखिए । दुई दशकअघि नेपाली भलिबलमा शक्तिशाली ठहरिएको जावलाखेल क्लबको भलिबल समूहले क्लबसँगको साइनो तोडेर भलिबल प्रशिक्षण केन्द्रका रूपमा स्वतन्त्र अस्तित्व कायम गर्‍यो । तर, यो बिचको अवधिमा उसले पहिलो भलिबल शक्तिको साख भने गुमाइसकेको छ । लाजिम्पाट क्लब र पञ्चकन्या क्लबजस्ता क्लब नेपाली भलिबलका एकादेशका टोली बनिसके । त्यो समय विभागकै नरहेको एपिएफ शक्तिको रूपमा उदाइसकेको छ । संघको निष्क्रियता र प्रतियोगिताको अभावमा धेरै खेलाडी विभागीय टोलीमा नै केन्द्रित रहे । लामो समय कुनै अन्तर्राष्ट्रिय खेल नखेलेपछि राष्ट्रिय खेलाडीको परिभाषालाई पुनव्र्याख्या गर्नुपर्ने हो कि भन्ने स्थिति पनि आएको हो । अन्तिम अन्तर्राष्ट्रिय खेलमा टोलीमा समावेश खेलाडी राष्ट्रिय खेलाडी हुने प्राविधिक व्याख्या भए पनि नेपाली भलिबलमा अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्ने थुप्रै खेलाडीका रूपमा समेत नरहेको अवस्था पनि आएको हो । यी सबै पुरानो संघको निष्क्रियताले भएकोमा दुई मत हुन सक्दैन ।
अन्तिमपटक कोलम्बोमा सन् २००६ मा भएको सागमा नेपाली भलिबल टोलीले अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यस पुरुष टोलीका दुई खेलाडी मात्र अहिले सक्रिय छन् । त्यो समयमा टोलीमा रहेका एपिएफका एक्ला खेलाडी कैलाश दत्त भट्ट भन्छन्, ‘पुरानो संघले हामीमाथि अन्याय गरेकै हो । प्रतियोगिता सञ्चालन पनि नगर्ने, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको पहल पनि नगर्ने प्रवृत्ति रहेको थियो,’ उनी भन्छन्, ‘अहिलेको संघले कमसे कम ठूलो पुरस्कार राशिको प्रतियोगिता आयोजना गरेर खेलमै सक्रिय रहन सबैलाई प्रेरित गर्‍यो । अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगिता र मैत्री खेलमा पनि सक्रिय भए हामीलाई धेरै राम्रो हुन्थ्यो ।’
लामोसमय राष्ट्रिय खेलाडीकै रूपमा रहेकी पुलिस क्लबकी कप्तान नीता शाह पनि वर्तमान संघमा आएका नयाँ अनुहार सक्रिय रहेको र विगतभन्दा सक्रिय रहेको बताउँछिन् । ‘मैत्रीपूर्ण भए पनि अन्तर्राष्ट्रिय खेल खेल्न पाए हामीले परिष्कृत हुने मौका पाउँथ्यौँ,’ उनले भनिन् ।
प्रसंग तामाङ नेतृत्वकै हो । यो नयाँ स्वरूपको संघ अलि फरक ढंगले आएको थियो । यसअघिको संघको छवि राम्रो नभइरहेको समयमा त्यसै संघका संस्थापन पक्षका उम्मेदवारका रूपमा अघि बढाइएका कारण यिनको नेतृत्वमा त्यत्ति राम्रो कामको अपेक्षा पनि धेरैलाई थिएन । यसमाथि पनि यो संघको गठन राजनीतिक भागबण्डाका रूपमा तयार भएको थियो । भलै, संघका महासचिव जितेन्द्रबहादुर चन्द र कोषाध्यक्ष निरोज मास्के त्यो भागबण्डालाई पार गर्दै निर्वाचित किन नहोऊन्, संघ अधिकारीको अपरिपक्वता अझै कायम छ । यसको उदाहरण महासचिवजस्तो जिम्मेवार व्यक्तिले सार्वजनिक रूपले सञ्चारगृहप्रति भेदभावपूर्ण कम तर बचकाना अभिव्यक्ति बढी दिनु नै हो । साथमा गेटमा दुई राष्ट्रिय फुटबलरलाई विनाटिकट प्रवेश नदिइनु त्यत्तिकै दु:खद् हो । यी केही कमीकमजोरीका बाबजुद संघले निष्क्रिय संघका रूपमा बिग्रिएको छवि सुधारेकै छ, जुन आपैँmमा सराहनीय छ ।

प्रतिक्रिया