राम्रो म !

दुईखुट्टे प्राणीका रूपमा धर्तीमा मान्छेको अवतरण भएदेखि नै ‘म’ सधैँ राम्रो रहँदै आएको छ । यो कहिल्यै लाजमर्दो रूपमा अनावृत्त देखिएन । नाङ्गोबुङ्गो रहेन । अनुहार आकृतिको कित्ता सधैँ साफ रह्यो । राले, सिँगाने, फोहोर देखिएन । मैलाधैला, लुलालंगडाको हुलमूलमा मिसिएन । काना खोरन्डाको बगालमा सामिल भएन । रातदिन चम्किदै चौबीसै घन्टा राम्रो रह्यो । सधैँ सुकिलो सुग्घर रहँदै आयो । दुर्गन्धी मयलको स्पर्शले छुन पाएन । कपाल दाह्रीहुँदो लिखाजुम्राको खेती भएन । त्यसैले भनिएको होला अनि सधैँ भनिन्छ होला, राम्रो म । आहा † क्या राम्रो ‘म’ ।
राम्रो म राम्रो मात्र छैन । विद्वान् पनि छ । विचारक उपचारक पनि छ । त्यति मात्र पनि होइन चिन्तक, साधक के–के हो पनि छ । अर्थात् सगौरव भन्नुपर्दा त्यसखाले किल्लामा पर्ने सबैथोकले सजिसजाउ छ । विद्वान् भएकाले ऊ दर्शनको गुड्डी हाँक्छ । पदार्थ घर्षणको कुरा गर्छ । थेसिस, एन्टिथेसिस अनि सिन्थोसिसको व्याख्या गर्छ । अरू जतिको बुद्धि सजिलै भुटेर आफू विज्ञ हुनुको ट्रक बन्छ । कहिले टाँगाझैँ विचारको भारी बोकेर चलायमान रहन्छ । कहिले जुम्ली बादेखसीको अवतारमा आज्ञाआदेशको भरिया बन्छ । आफूलाई विदेशी प्रभुको करिया कहन्छ । सत्ताको नजरियाले सबै कुरा देख्ने भष्मासुरको अवतार बन्छ । राजाहरूको खोइरो उतार्ने भाषण फलाक्छ । तर, अरूलाई प्रजा बनाउँछ । हेर्नोस् कति बुद्धिमान छ त यो म †
बुद्धि मात्र होइन, विवेक त कति हो कति छ मभित्र । न्युजिल्यान्डको कोइला, फलामजस्तै असीमित खानी नै छ भन्दा पनि हुन्छ । त्यही अतिशय विवेकशील हुनुको फलस्वरूप निहत्था निरीह प्राणीको गला कहिल्यै दबाएन । मान्छेको त के कुरा, एउटै उडुस उपियाँको शिरसुद्ध कहिल्यै काटेन । मान्छेको सफाया त के नरमुण्डको खेतीमा समेत कवै  रुचि राखेन । निशाचरको शिरपोष लगाएर रातभर पिशाचको सहयात्रामा गएन । ढ्यांग्रो ठटाएर भूतप्रेत डाइनेबोक्सी जगाउँदै रातिहुँदो मसानघाट कहिल्यै धाएन । मान्छेका नलीखुट्टीको माइक बनाएर मुक्तिको भाषण बर्साएन । बेलाकुबेला आतंकको रौद्र रूप लिएर जनमानसमा सन्त्रासको डमरु बजाएन । कलियुगी कल्की अवतारको कलंक भजाएन । निमुखा अशक्त जनको सित्तै सस्तो रगत बगाएन । उता ठूलाबडा धनकुबेरहरूको बिर्ता खान्कीको चौकीदारी गर्दै लुटको बाली जोगाएन । अरू त के, पीडित सुकुम्बासीका छाप्रामाथि डोजर चलाउँदै मुलुकमारा भूपू मालिकहरूका शाखासन्तानलाई जागिर, हबेलीसहित प्राडो पजेरो चढाएर पाउ पुजेन । सधैँ शोषित–पीडित सर्वहाराको पक्ष लियो । धर्तीको कुनै कुनामा शिर ओताउने ठाउँ दिएन तर तिमी मेरै हौ भन्न पनि छोडेन । भूपूहरूलाई कार्यालय–मसलन्द, सवारीसाधन, मर्मतखर्च, सहायक कर्मचारी, सुरक्षाको लावालस्कर अर्पण गरिदियो त के बिरायो ? यता गरिबका झुपडी उजाडने बहादुरी देखाउन पनि त छोडेन नि । सडक किनारका बस्ती बास उठायो । तर, दसगजाका विदेशीलाई उठाउने दुस्प्रयास त गरे न नि । भनौँ, यस्तो छुच्चो र ख्वामित्विरुद्ध चियोचर्चो गर्ने झन्झट बिहोरेन । सधैँ अतिथिप्रिय रह्यो । बेथितिको नायकत्व समाली नै रह्यो । छिमेकी ठूलाठालूका पत्रैपत्रे गम्छामन्डीभित्र आफूलाई लुकाइराख्न सक्यो । बाहिर लगेर ख्वामित भक्तिको गोप्य गाँठो कहिल्यै फुकाएन ।
एउटै घरका दाइभाइलाई बहुराष्ट्रिय अफिमसेवनमा लठ्ठ बनाउन मजा मान्छ म । बिग बोसलाई सिंगो रोटी चपाउन गारो पर्ने देखेपछि अनेकाँै नौटंकी इकाइको मञ्चन गर्छ । परिआउँदा उताकै इमानदार सेवक बनेर पुर्खाको बपौती उडाइदिन्छ । आफू बसेको घरबारी नै टुक्राटुक्रा कित्ताकाट गरिदएर मालिकलाई पासा फ्याँक्न सघाउँछ । यही निहामा हुक्केबैठके तताएर सडक आन्दोलन गर्न लगाउँछ । लगाउँदै आएको छ । राम्रो म साँच्चै चलाख छ । आफू चलाख भएर नै अरू सबैलाई मूर्ख देख्छ । पाइलैपिच्छे अरू मान्छेलाई महामूर्ख बनाएर माया–ममता किन्छ । जनताको व्यापार गर्न खप्पिस बन्दै आएको छ । मान्छे खेती गर्न नम्बर वान छ । त्यसैले बेलाकुबेल जतिबेला पनि विदेश धाएर ख्वामित मालिक सबैलाई आफ्नो रिपोर्ट सुनाउँछ । यस मामिलामा झन् साह्रो सधँै अब्बल सावित भएको छ राम्रो म ।
सधै देश विकासको नारा उराल्ने भएर नै विकासवादी छ राम्रो म । त्यसैले निकास कहिल्यै न भित्रिने ब्रान्डको बरबादीलाई आत्मसात् गर्छ । देशभित्रका उद्योगी–व्यापारीलाई सुरक्षा, ऊर्जाजस्ता कुरा उपलब्ध गराउन उति चासो राख्दैन । विदेशीको सुरक्षार्थ विप्पा–साफ्टाजस्ता सन्धिमा रमाउँछ । उसको विचारमा, स्वदेशको बालीभन्दा विदेशीको व्यापार धेरै ठूलो कुरामा पर्छ । बालीविकासका लागि समयमा किसानले मल नपाउनु नेपाली जिन्दगानीका लागि अमूल्य पाठ हो । बहुमूल्य सन्पाट हो । यो कुनै एक पक्षको गल्ती वा अपराध होइन । परम्परादेखि चल्दै आएको सनातन धर्म हो । सनातन संस्कृति हो । मनग्गे कमिसन दस्तुरी दलाली नउठाई मल भि×त्र्याउने वा ल्याउने बाँड्नेजस्ता आत्मघाती काम नगर्नु आत्मविकास हो । दार्शनिक भाषामा स्वयंप्रकाश भनिन्छ यस्तोलाई । खेती लगाउने निकास न पाएका किसानको संयुक्त आवाज नै चेतनाको वास्तविक विकास हो । देशभित्रका साना–ठूला उद्योगमा ताला लाग्नु वा बन्द हुनु समयको खेल हो । यसमा मपात्रले गर्नु पर्ने विकास नाउँको कुनै भूमिका बाँकी छैन । बरु मलविना खेती लगाउन अक्षम, अनुपयुक्त जीव संसारबाटै हटे बेस भन्ने हर्वड स्पेन्सरको शक्तिवाद राम्रो मका लागि प्रिय मसला रहेको छ खैनीजस्तै । आफ्ना प्रतिद्वन्द्वी सबै हराउन आफू एक्लै बिरालो बनेर कंगालहरूको उठीबास गराउँछ ।

प्रतिक्रिया