मुक्तक–मन्थन

तिम्रो ह्दयमा अमरताको गाथाझैँ म लेखिन सकूँ
उकाली–ओह्राली जहाँ खोज्छौ त्यहाँ म भेटिन सकूँ ।
दुनियाँका झैँ हजार कामना छैन, यौटै कामना छ
तिमीले आँखा उघार्दा पनि चिम्लिँदा पनि म देखिन सकूँ ।। – तीर्थ श्रेष्ठ

पछिल्ला केही महिनादेखि राजधानीमा फेरि एकपटक मुक्तक–मन्थन चलिरहेछ । मुक्तक सिर्जना गर्ने र मुक्तक अनुरागीहरू यसको स्वरूप, संरचना, अर्थ, आकारप्रकार र लम्बाइचौडाइ आदिबारे अलिखित बहस चलाइरहेका छन् । करिब डेढ महिनाअघि मुक्तककार रामकाजी कोनेको दोस्रो मुक्तकसंग्रह ‘मुक्तक मन्त्र’ राजधानीमा सार्वजनिक भएको थियो । भदौ १ गते युवाकवि मोतीराम भट्ट जयन्तीको अवसरमा ‘मोतीरामीय परम्परा’ भन्दै चार पंक्तिकै ‘समस्यापूर्ति कविता’ वाचन कार्यक्रम भयो । केहीपछि गत भदौ १६ गते पोखरेली कवि तीर्थ श्रेष्ठको एकल मुक्तक वाचन कार्यक्रम सानदार ढंगले सफल भयो । साता बित्न पाएको थिएन, रामकाजी कोनेको अगुवाइ र कोने कल्याण कोषको आयोजनामा भदौ २३ गते सम्पन्न भयो नेपाली मुक्तक अन्तरक्रियात्मक गोष्ठी ।
गोष्ठीको रमाइलो पक्ष के रहयो भने ‘नेपाली मुक्तकका प्रवृत्तिहरू’ शीर्षकमा नेपाली मुक्तकबारे विद्यावारिधि गर्ने पहिलो व्यक्ति बुटवलनिवासी डा. मुरारी पराजुली आफ्नो पिएचडी अध्ययनको अनुभव साट्न आतुर थिए । साथै, उनीउपर सैद्धान्तिक बन्चरो उज्याएर तम्तयार भइबसेका थिए मुक्तक अध्येता एवं युवा सर्जक बादल घिमिरे, जो अहिलेसम्मकै यमानको पुस्तक ‘समकालीन नेपाली मुक्तक संग्रह’ प्रकाशन गर्ने तयारीमा डुबेका छन् । मुक्तकको शक्ति केसम्म हुन सक्छ ? उनै बादलको एउटा मुक्तक वातावरणमा गुन्जेको थियो :
गरिबका बस्ती–बस्तीमा क्रान्ति पठाइदिन्छु
भ्रष्ट सामन्तीका अनुहार जलाइदिन्छु ।
तिमीले मलाई के सम्झेका छौ महाशय ?
म मुक्तक लेखेरै सरकार ढलाइदिन्छु ।।
वरिष्ठ गीतकार र पुराना मुक्तक सर्जक रत्नसमशेर थापा, भेट्रान अशेष मल्ल, रामकाजी कोने, गजलकार ज्ञानुवाकर पौडेल, सदावहार उषा शेरचन, विश्वविमोहन श्रेष्ठ, यादव भट्टराई, रमेश पौडेल आदिसमेत अन्य अनेक सिकारू मुक्तककार र पत्रकारको शालीन जमघटमा रत्नसमशेरले भने, श्रोता ह्दयलाई तान्न सक्ने क्षमता हुनुपर्छ मुक्तकमा । यस्तो मुक्तक दुईदेखि सात पंक्तिको हुन सक्छ ।
तलका पंक्तिले सायद श्रोता–ह्दयलाई केही भन्लान् कि :
जीवन ओइलाएको पातजस्तो मन पर्दैन मलाई
जीवन बिलाएको रातजस्तो इच्छा हुँदैन मलाई ।
एकपल्ट झर्नुहोस् न बरु उज्यालो छोडेर
जीवन त बिहान र फूलजस्तो मन पर्छ मलाई ।।
शंका छैन, लघुत्तम काव्यिकस्वरूप नै मुक्तक हो, अर्थात्, सह्दयलाई चमत्कृत गर्न सक्षम आफैँमा पूर्ण एकश्लोकी कविता नै मुक्तक हो ।
त्यसो त मुक्तकलाई कसैले ‘छोटा कविता’ भन्ला, कसैले फारसी ‘रुबाइयत’ को ठाडो नेपालीकृत रचना, वा भनुन् कसैले ‘टुक्रे कविता’, त कसैले ‘हाइकु’ लाई यसको उत्तम विकल्प मानेर अघि बढ्लान्, तर काव्यका आमजानिफकारहरूले भनेजस्तै मुक्तक नेपाली वाङ्मयको विशिष्ट प्राप्ति हो । रूबाई शैलीको मुक्तक नेपालमा भित्र्याउने (विसं ०१० तिरै) व्यक्ति भीमदर्शन रोका हुन् । त्यसको छ वर्षपछि नेपालीमा पहिलो मुक्तकसंग्रह छापियो, नवीन बम रचित चोइटा । तर, त्यसको चार वर्षपछि ०२० देखि मात्र नेपाली साहित्यमा मुक्तक भन्ने शब्द प्रयोगमा आउन थाल्यो । तीसको दशकदेखि पद्य मात्र होइन, गद्यमा पनि मुक्तक को सिर्जनाले गति लिन थालेको हो ।
डा. मुरारी पराजुलीले मुक्तकका बारेमा पहिलोपल्ट प्रस्ट धारणा राख्ने पूर्वीय शास्त्र अग्निपुराण भएको र त्यसमा रहेको अलंकार प्रकरण नवौँ शताब्दीमा थपिएको इतिहास कोटयाए । संस्कृतको ‘मुक्त’ शब्दमा ‘कन्’ प्रत्ययको योग भएर निष्पन्न हुने मुक्तक अन्यबाट निरपेक्ष र आफैँमा पूर्ण हुन्छ । मुक्तकमा कर्णप्रियता हुन्छ । श्रुतिमधुरता, शालीनता र गूढता हुन्छ । अक्सर अन्त्यानुप्रासमा जोड दिइने हुनाले मुक्तकमा शब्दको चतुर्‍याइँपूर्ण चलखेल गरिएको हुन्छ । यथा :
भोकलाई भित्ताभरि, टाँसी दिन पाए हुन्थ्यो
शोकलाई शीतभरि, छरी दिन पाए हुन्थ्यो ।
पेट त बरु सारंगी भएकै जाती
जबजब भोक लाग्छ, रेटी दिन पाए हुन्थ्यो ।।
मुक्तकमा मर्ममा छुने गरी अभिव्यक्ति दिइन्छ । डन्डेसो खुस्कुन्जेल शाब्दिक प्रहार गर्न सकिन्छ । समकालीन विसंगति, असमानता, उहापोह, अशान्ति, वितृष्णा, प्रेम, अनुराग, प्रकृति सबै विषय मुक्तकले समेटेको हुन्छ । दुइटा उदाहरण :
नाग र नेता एकै ठाउँ परेछ हजुर
डर लागेन भन्दै एउटाले सोधेछ हजुर ।
ईष्र्यालु र विषालु दुवै छौँ तापनि
डसे मलाई सर्प नै मर्छ, नेताले भनेछ हजुर ।।
…..    ………..    …..
सहरमा आगो लागेको छ
दमकल एम्बुलेन्स चढेर
अस्पताल गएको छ ।
साँचो कुरा के हो भने मुक्तक विगतामा गेयात्मक र प्रशंसनीय थियो । अचेल यसको भाउ अझ बढेको छ । नयाँ छिमलका रचनाकारहरू गजललाई पनि अँगालो मार्दै मुक्तकको धारालाई अविरल बगाइरहेछन् । मुक्तकको यो धार अझ वेगिलो र प्रवाहमय हुँदै जाँदो छ । अन्त्यमा, प्रस्तुत आलेखको बिट मार्दा मुक्तककार कोनेका शब्द र मुक्तक फेरि एकपटक सापटी लिँदा बेस हुन्छ, मुक्तक एक हेराइ, एक ठम्याइ, एक लेखाइ र एक अथ्र्याइ बोकेर जन्मन्छ र अनन्त छाप छाड्दै अनेकको जिब्रोमा बाँचिरहन्छ :
अर्थमा पूर्ण छ थोरै छ पंक्ति
दर्शन नै अटाउनसक्ने छ शक्ति
शब्द शिकारीले साँधेपछि निशाना
खुत्रुक्कै पार्छन्, यी मुक्तकमय अभिव्यक्ति ।।

प्रतिक्रिया