साहित्य महोत्सवका कुरा

मलाई मन पर्ने एकजना लेखक छन्, पिको ऐयर । भारतीयमूलका उनले विशेषत: नियात्रा र निबन्ध लेख्छन् । धेरै वर्षअगाडि उनीसँग इमेलमार्फत अन्तर्वार्ता लिने अवसर पाएको थिएँ मैले, जुन मेरो सानो अन्तर्वार्ताको पुस्तकमा समावेश छ । त्यसपछि पनि मैले उनीसँग अर्को छोटो अन्तर्वार्ता लिएको थिएँ, ‘नेसन विक्ली’ भन्ने पत्रिकाका लागि ।
केही वर्षअगाडि एक भारतीय साहित्यिक महोत्सवमा जाँदा ऐयरसँग मेरो भेट भएको थियो । त्यतिखेर आफ्नो अन्तर्वार्ताको पुस्तक दिँदै मैले उनलाई नेपाल आउन निम्ता दिएको थिएँ । उत्तरमा उनले भनेका थिए, ‘योजस्तो साहित्यिक महोत्सव आयोजना गर अनि म आउँछु ।’
फाइनप्रिन्ट बुक क्लबमार्फत पुस्तक, लेखनसम्बन्धी कार्यक्रम गरिरहेका हामीलाई पिको ऐयरको कुराले नेपालमा साहित्यिक महोत्सव आयोजना गर्न प्रेरित गर्‍यो । तर, प्रेरणाले मात्र महोत्सव आयोजना गर्न सकिँदैन्थ्यो । त्यसका लागि स्रोत साधन आवश्यक हुन्थ्यो । त्यो जुटाउने हाम्रो ल्याकत थिएन । कुनै संस्थालाई सहयोगको प्रस्ताव गरौँ न भन्ने निर्णय भयो । हामीले केही संस्थालाई प्रस्ताव पनि गर्‍यौँ । पढ्न, लेख्न रुचाउने एनसेलकी कर्पोरेट कम्युनिकेसन अफिसर सन्जु कोइरालालाई महोत्सवको आइडिया राम्रा लागेछ । सहयोग गर्ने वचन दिनुभयो । यसरी एनसेल नेपाल लिटरेचर फेस्टिबल हुने भयो ।
नेपालमा पहिलोपल्ट अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव आयोजना गर्दै थियौँ, त्यस्तो महोत्सव कसरी गर्ने भन्ने हामीलाई थाहै थिएन । हो, विदेशमा भएका साहित्यिक महोत्सवको फरम्याट हामीलाई थाहा थियो । तर, ती महोत्सवको व्यवस्थापन कसरी गरिन्छ त्यसको कुनै ज्ञान थिएन । हामीले महोत्सवको तयारी अलि ढिलो गर्न पुग्यौँ । मौसम पनि प्रतिकूूल थियो गत वर्ष । वर्षाले महोत्सवलाई असर पार्छ कि भन्ने डर थियो । फेरि राजनीतिक अवस्था पनि अस्थिर थियो । सार्वजनिक यातायातवाला अनिश्चितकालीन चक्काजाममा उत्रेका थिए  । महोत्सव नै नहुने हो कि भन्ने स्थिति देखिएको थियो ।
धन्न उद्घाटन समारोह राम्रै सम्पन्न भयो । चक्काजामका बाबजुद उपस्थिति राम्रै भयो । अन्य छलफलका कार्यक्रम पनि सहज रूपमा सम्पन्न भए । पाँच हजारभन्दा बढी श्रोताहरू महोत्सवमा सहभागी भए । कविता, उपन्यास, फिल्म, नाटक, अर्थतन्त्रका विविध विषयमा बहस भए । कृष्ण धरावासी, भीष्म उप्रेती, व्याकुल पाठक, निलम निहारिका केसीलगायतको पुस्तक विमोचन भयो । झमक घिमिरे पुस्तक हस्ताक्षर कार्यक्रममा उपस्थित भइन् । बेलायती लेखक मार्क टली र भारतीय लेखिका इरा त्रिवेदी र प्रवासी नेपाली लेखक इन्द्रबहादुर राईलगायत ७० जनाभन्दा बढी स्रष्टाले चार दिनसम्म २५ वटाभन्दा बढी विषयमा बहस गरे ।
सायद पहिलोपटक महोत्सवको आयोजना भएकाले होला सबैले महोत्सवमा जुटेरै सहयोग गरे । राम्रो काम गर्‍यौ भनेर हामीलाई प्रशंसा गरे । मिडियाले महोत्सवको राम्रो कभरेज गर्‍यो । थुपै्र मिडियाले महोत्सवलाई आफ्नो स्तम्भको विषय बनाए । लेखकहरू पनि प्रभावित भए महोत्सवबाट । निबन्धकार खगेन्द्र संग्रौलाले भनेका थिए, ‘यो महोत्सव पाठशाला हो । यहाँ हामी ज्ञान सिक्न र विचारको आदानप्रदान गर्न भेला भएका छौँ ।’ लेखिका उषा शेरचनले महोत्सवलाई साहित्यको कुम्भमेला भनिन् । इन्द्रबहादुर राईले लेखन एकान्तमा लेखिने कार्य भए पनि लेखकले आफ्नो अस्तित्व अरू लेखकका माझ मात्र पाउँछन् भन्दै महोत्सव आयोजकलाई धन्यवाद दिए ।
यस्तै प्रशंसा र एनसेलले नेपाली साहित्य प्रवद्र्धनमा देखाएको तत्परताबाट हौसिएर हामी एनसेल नेपाल लिटरेचर फेस्टिभलको दोस्रो संस्करणको आयोजना नेपाल प्रज्ञा प्रतिष्ठनको सहकार्यमा गर्दै छौँ, असोज ४ देखि ७ गतेसम्म ।
यस वर्षको एनसेल नेपाल लिटरेचर फेस्टिभलमा पाँच भारतीय लेखक विनोद मेहता, सुनील गंगोपाध्याय, अमिस त्रिपाठी, अद्धेता कला र मनप्रसाद सुब्बा सहभागी हुनेछन् । डा. धु्रवचन्द्र गौतम, सिके लाल, चैतन्य मिश्र, घनश्याम भुसाल, किशोर नेपाल, नारायण वाग्ले, शारदा शर्मा, रामशरण महत, खगेन्द्र संग्रौला, भुवन ढुंगाना, सरोज धिताल, अखिलेश उपाध्याय, रमेश ढुंगेल, प्रत्युश वन्त, मनु मन्जिल, वसन्त थापा, श्रवण मुकारुङ, रमेशरञ्जन झा, तेजेश्वर बहादुर गंग्व:लगायत सयभन्दा बढी लेखक, विद्वान्ले चार दिनसम्म चार दर्जन जति साहित्यिक र साहित्यइतरका विषयमा छलफल गर्नेछन् । महोत्सवमा जगदीश घिमिरे, खगेन्द्र संग्रौला, विमल निभा, भीष्म उप्रेती, रमेश क्षितिज, चन्द्र घिमिरेका पुस्तक अनि प्रत्युश वन्त र लोकरञ्जन पराजुलीले सम्पादन गरेको एलएस बरालको अटोक्रयाटिक मोनार्की र राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतमले सम्पादन गरेका दुईवटा समालोचनका पुस्तक विमोचन हुनेछन् ।
गत वर्षको कमी कमजोरीबाट हामीले सिक्ने मौका पाएका छौँ । बितेको वर्षका तुलनामा यस महोत्सवको तयारी धेरै समय अघिदेखि भएको छ । छलफल विषय, वक्ता र कार्यक्रम सञ्चालकको चयनमा विशेष ध्यान दिएका छाँै । त्यसैले अघिल्लो वर्षभन्दा धेरै राम्रो हुनुपर्छ यो वर्षको महोत्सव । महोत्सव सजिलै पुग्न सकिने कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा हुने भएकाले गत वर्षभन्दा सहभागिता पनि धेरै बढी हुनेछ ।
हामी अहिलै नै उत्साहित भएका छौँ । आशा छ, महोत्सवमा यहाँहरूसँग भेट हुनेछ ।

प्रतिक्रिया