जसलाई समकालीन साहित्यले पत्याएन

प्रसिद्ध जर्मन लेखक फ्रान्ज काफ्काको जिन्दगी निकै उदेकलाग्दो थियो । उनी सोच्थे एउटा तर हुन्थ्यो अर्कै । उनी हिँड्थे एकातिर पुग्थे अन्तै । उनीसित परिस्थितिले पनि सधैँ ठट्टा गथ्र्यो, उनी जे चाहँदैनथे त्यही हुन्थ्यो । जहाँ टेक्न खोज्थे त्यही ठाउँ भासिन खोज्थ्यो । संकीर्णता र उपेक्षाको चेपुवामा च्यापिएर, दिमागी तार चँुडिने अवस्थामा पुग्दा पनि उनले जिन्दगीलाई सम्हालिराखे । बरु आफ्ना विचित्र र असामान्य अनुभूतिलाई अभिव्यक्त गर्न उनी लेखक भए । लेखनकै बुतामा उनले विश्वसाहित्यमा बेग्लै देखिने ‘काफ्काली साहित्य’को निर्माण गरे । यो त्यही साहित्य हो जहाँ पाठकहरू एउटा रहस्यमय चक्रब्युहमा फस्छन् । जहाँ धेरैजसो पाठक सुरुमा अर्जुन बनेर पस्छन्, तर निस्कँदा त्यहाँबाट अभिमन्युजस्तो भएर निस्कन्छन् ।
काफ्काको जीवन एक्लो, निरस र उदास थियो । अग्ला कदका दुब्ला र ख्याउटे कायाका रोगी काफ्कामा लेखन प्रतिभाबाहेक अरूलाई आकर्षित गर्न लायक केही थिएन । प्रतिभासम्पन्न भएर पनि उनी आफ्नो जीवनकालमा अस्तित्वहीन, व्यक्तित्वहीन र अपरिचित रहे । काफ्काको दुर्भाग्य तत्कालीन चेक–जर्मन साहित्यले उनको प्रतिभाको सही मूल्यांकन गर्न सकेन । जीवित छँदा थोरै मात्र रचनाहरू प्रकाशित गरेका काफ्कालाई चेक साहित्यले जर्मनी ठान्थ्यो भने जर्मनीले चाहिँ उनलाई यहुदीको रूपमा हेथ्र्यो । दुवैतिरका दृष्टिकोणले उनलाई बाहिरको मान्थ्यो ।
काफ्का लेख्थे अनि लेखेका कुरालाई  जलाइदिन्थे । बिरामी अवस्था र उपचारका क्रममा उनले आफ्ना नजिकका साथीहरूलाई केही रचना जलाइदिनू भनेर दिएका थिए । तीनै रचनाहरू १९३० को दशकतिर जर्मनीबाट अंग्रेजीमा अनुवाद भएर छापिन थालेपछि उनका सिर्जनाहरूमाथि हजारौँ टीकाटिपप्णी लेखिन थाले । दुनियाँले काफ्कालाई बीसाँै शताब्दीको मूर्धन्य लेखक मान्यो । जर्मन साहित्यले काफ्काको योगदान जर्मन भाषा साहित्यमा बर्टोल ब्रेख्त हाराहारीमा रहेको सम्झियो । तर, यतिन्जेलसम्म काफ्का प्रागस्थित एक यहुदी चिहानमा सधैँका लागि बास बसिसकेका थिए ।
चेकोस्लोभाकियाको प्रागमा १८८३ मा जन्मिएका काफ्काले जिन्दगीका एकचालीस वसन्त मात्र चपाए । काफ्काका बाल्यकाल र जवानी पितासितको मनमुटावमै बित्यो । पिताको क्रूर रवैयाको हिरासतबाट उनी आजीवन उम्कन सकेनन् । उनको लेखनमा बाबुछोराको अन्तर सम्बन्धले कतिसम्म प्रभाव पारेको छ भन्ने कुरा बुझ्न उनले लेखेको ‘लेटर टु फादर’ मा पढ्न सकिन्छ । जसमा काफ्काले अत्यन्तै कम आत्मविश्वासका साथ लेखेका छन्– ‘मेरो सारा लेखन तपाईंमाथि नै केन्द्रित थियो । मैले जे लेखँे त्यो मात्र मेरो विलाप थियो जुन मैले तपाईंको छातीमा आफ्नो टाउको राखेर गर्न पाइनँ ।’ कानुनमा विद्यावारिधिसमेत गरेका काफ्कालाई उनका पिता हेरमन काफ्काले कहिल्यै योग्य ठानेनन् ।
कुनैबेला काफ्का यौनलाई आनन्द भन्दा पनि सजाय मान्थे । उनको यौनप्रति त्यस्तो विछिप्त दृष्टिकोणलाई लिएर उनीमाथि अनेक लान्छना लगाइएका थिए । त्यसले उनलाई मानसिक रूपमा केही आघात पुर्‍याएको थियो । ठीक त्यति नै बेला विश्वयुद्धको घोषणा भयो । यो काफ्काका लागि पौरुषत्व सावित गर्ने उपयुक्त अवसर थियो । यसका लागि उनी सैनिक बन्न चाहन्थे । तर, कमजोर स्वास्थ्य र सरकारी स्वामित्वमा रहेको जागिरले गर्दा उनको बाटो छेकियो । खराब स्वास्थकै कारण काफ्काको दुईपटक छिनिसकेको बिहे पनि बिग्रियो । बर्लिनकी फलिस बउर नाम गरेकी एक यहुदी युवती काफ्काको बिरानो जिन्दगीमा आइन् । फलिसको प्रेमले काफ्कालाई निकै ऊर्जाशील बनायो । फलिसलाई समर्पित गर्दै उनले थुप्रै कथा लेखे । काफ्का–फलिसको पाँच वर्षको प्रेम सम्बन्ध १९१७ मा वैवाहिक बन्धनमा टुंगियो । तर, बिहे भएको ६ हप्तामै काफ्कालाई क्षयरोग लागेको पत्ता लाग्यो । मन भाँचिनलाई कुनै मौसम चाहिँदैन । उनको दाम्पत्य जीवनमा क्षयरोग तगारो बन्यो । बाउरले काफ्कासितको संसर्गले आफूले धारण गरेको गर्भ पनि तुहाइन् र काफ्कासित सम्बन्धविच्छेद गरिन् । कलमबाज काफ्काले ससुरालाई लेखे– ‘तिम्रो छोरी मजस्तो साहित्यानुरागीसँग खुसी हुन सक्दिनन् ।’
काफ्काको जिन्दगीको कुरा गर्दा छुटाउन नहुने नाम हो– मिलेना । यो नाम छुटाउने हो भने काफ्काको कुनै कुरा पूरा हुँदैन । साथीका रूपमा काफ्का–मिलेनाबीच निकै घनिष्टता थियो । पछि त्यही निकटता प्रेममा बदलियो । तर, नियतीले उनीहरूलाई त्यस्तो दोबाटोमा पुर्‍याइदियो जहाँबाट उनीहरूले एउटै बाटो रोज्न सकेनन् । सँगै हिँड्छौँ भनेर हिँडेका उनीहरूका पाइला विपरीत दिशातर्फ मोडिए । मिलेना बुद्धिमान् युवती थिइन् । काफ्काका प्रतिभा र विशिष्टतालाई तिखार्नमा उनले निकै सघाएकी छिन् । मिलेनाको विवाह अरनर्सट पोलाक नाम गरेका एक चेकसित भयो । बिहेपछि पनि उनले काफ्कालाई भुल्न सकिनन् । न काफ्काले नै उनलाई बिर्सिए । पछिसम्म काफ्काले मिलेनासित पत्रव्यवहार गरिरहे । काफ्काले मिलेनाका लागि लेखेका कथा र पत्रहरूले पनि निकै साहित्यिक महत्त्व बोकेका छन् । काफ्काको आँखाबाट टाढा रहे पनि मिलेना सधैँ उनको मनमा थिइन् ।
काफ्काले धेरै रचना आफ्नो जीवनकालमै जलाएर नष्ट गरेका थिए । विश्वविद्यालय अध्ययनका क्रममा भेटिएका म्याक्स ब्रोडले काफ्कासित काफ्काको मृत्युपर्यन्तसम्म मित्रता निभाइरहे । प्रागमै जन्मिएका ब्रोड पछि पत्रकरितामा लागे । काफ्काका थुप्रै सिर्जना खोजेर सम्पादन गरेर छपाए । काफ्काको पहिलो जीवनी लेख्ने पनि म्याक्स ब्रोड नै थिए । काफ्काको ‘लेटर टु फादर’ पनि निकै समय बेपत्ता रहेको थियो । म्याक्स ब्रोडलाई पनि त्यस पत्रबारे केही थाहा थिएन । काफ्काले मिलेनालाई लेखको एक पत्रमा सो पत्रबारे यस्तो लेखेका थिए– ‘म तिमीलाई प्रागबाट त्यो भीमकाय पत्र पठाउँला जुन मैले आफ्नो पितालाई लगभग ६ महिनाअघि लेखेको थिए तर अहिलेसम्म पिताजीलाई दिएको छैन ।’ ब्रोडले काफ्काको त्यस पत्रलाई खोजेर छपाए । जब त्यो छापियो यसले लेखक काफ्काभित्रको त्यो व्यक्ति जो कसैको छोरो हो, त्यसलाई पनि सार्वजनिक गर्‍यो । त्यो पत्र पिताको व्यवहारले प्रकट गराएको लेखक छोराको सिर्जनशील प्रतिक्रिया पनि थियो ।
काफ्का लगनशील अध्येता पनि थिए । गेटे, प्यास्कल, फ्लुबेयर, दस्तोएबस्की, चाल्र्स डिकेन्स र नित्सेलाई खुब पढ्थे । राम्रा पुस्तकलाई उनी जमेको समुद्र तोड्ने हतौडा मान्थे । उनले एकपटक म्याक्स ब्रोडलाई लेखेका थिए– हामीलाई आज यस्तो पुस्तकको आवश्यकता छ, जसलाई पढेर मानिसहरू यो महसुस गरुन् कि उनीहरूका सर्वाधिक प्रियजनको मृत्यु भएको होस् वा फेरि उनीहरूलाई एक यस्तो निर्जन जगतमा छाडिएका होस् । जहाँ टाढाटाढासम्म कोही नहुन् ।
सन् १९२० मा काफ्का उपन्यास ‘क्यासल’ लेख्दै थिए । त्यसताका उनी गल्दै गइरहेका थिए । उनको स्वास्थ धेरै नै खस्किएपछि केही समय उनको जीवन स्वास्थ्यशालामा बित्यो । १९२३ को गर्मीमा उनी आफ्नो बहिनीसँगै बसिरहेका बेला काफ्काको डोरा डाइमन्ट नाम गरेकी एक युवतीसित भेट भयो । जो बार्लिनस्थित एक यहुदीको घरेलु कामदार थिइन् । १९ वर्षीया डोरा र ४० वर्षीय काफ्काबीच गाढा माया बस्यो । एउटी प्रेमिकाबाट पाइने वास्तविक प्रेम र साथ काफ्काले डोराबाटै पाए । एकोहोरो बिरानी झेल्दै आएका काफ्काले उदासी र एक्लोपनाबाट छुटकारा पाए । प्रागमा वर्षैंदेखि बस्दै आइरहेको घर परिवारबाट अलग्गिएर काफ्का १९२३ मा डोरासँग बार्लिनमा बस्न थाले । उनीहरूले बिहे त गरेनन् । तैपनि सँगै बसे । उनीहरू एक अर्कासँग निकै खुसी थिए । यो सम्बन्धबाट खुसी नहुनेमा डोराका पिता मात्र थिए । उनले काफ्कासित बिहे गर्न डोरालाई अनुमति दिएनन् । काफ्का भने डोरासित आफ्नो विस्तारामा पनि निकै खुसी थिए । सदैव रुखो व्यवहार गर्ने पिताको हैकमी बन्धनबाट काफ्काले उन्मुक्ति पाए । बर्लिनमै काफ्काले जीवनकै उल्लेखनीय संयोगान्त कथा लेखे ‘द लिटिल ओम्यान’ । काफ्काको जीर्ण शरीरले खुसीलाई पचाउन सकेन । उनी झन् दुब्लाउँदै गए । उनको शारीरिक अवस्था बिग्रँदै गएपछि उनी घर फर्किए । घर फर्किएको तीन महिनापछि सन् १९२४ मा अस्ट्रियामा उनले अन्तिम सास छोडे । डोराले काफ्काको अन्तिम घडीसम्मै साथ दिइन् ।
काफ्काको लेखनशैली जटिलखाले छ । अस्तित्ववादी प्रतीकका उनको सिर्जनालाई उनका अभिन्न मित्र म्याक्स ब्रोडले एक्लोपनाको अभिव्यक्ति भनेका छन् । आफ्ना सिर्जनालाई जतन नगर्ने । लेखेपछि जलाउने काफ्काले लेख्दालेख्दै अधुरै छाडेका ‘द अमेरिका’, ‘द ट्रायल’, जस्ता उपन्यास तथा उनका डायरी र चिठ्ठीहरूलाई सम्पादन गरेर ब्रोडले नै छपाएका थिए । काफ्काका प्रमुख कृतिहरूमा द मेटामोर्फोसिस (१९१२), अ कन्ट्री डाक्टर (१९१९), इन द पेनल कोलनी (१९१९), द ग्रेटवाल अफ चाइना (१९३१), त्यस्तैगरी लेटर टु मिलेना, लेटर टु फेलिस, लेटर टु फ्रेन्ड आदि छन् । आफ्ना सबै डायरीहरू उनले सन् १९२१ मा मिलेनालाई सुम्पेका थिए । चर्चित उनका डायरी र अन्य छ्यासमिस सिर्जनाहरू सन् १९४० को दशकपछि मात्र छापिएका हुन् ।

प्रतिक्रिया