बुइँगलमा लुकेर किताब पढ्थेँ

साथीका किताबमा बडो जतनले पट्याएर राखिएको मसिना अक्षर भएको किताबको चार पेज नै मैले पढेको पहिलो पुस्तक थियो । पहिला त बमलाई लागेको थियो, त्यो परीक्षाको प्रश्नपत्र हो किनकि त्यसको रंग मैलो रंगको सेतो थियो अनि कागजचाहिँ खस्रो । तर, होइन रहेछ । सबैभन्दा माथि वार्षिक परीक्षा, पूर्णांक, उत्तीर्णांक, विषय केही लेखिएको थिएन । त्यहाँ त ‘नीलो चोली’ भनेर लेखिएको थियो । साथीले किन त्यति सारो जतनले पट्याएर किताबमा घुसारेकी रहिछे भनेर मैले त्यो पढँे । पढिसकेपछि त्यसले त्यसरी जतन गरेर किन राखेकी होली भनेर थाहा पाइनँ । त्यो चौरमा कब्बडी खेल्दै थिई । मैले ‘तिम्रो किताबमा यो भेटँे, के हो, यो ‘नीलो चोली’ भनेर सोधेँ । त्यो कुद्दाकुद्दै रोकिई । उसको अनुहार पनि नीलो भयो । उसँगैका अरू केटीहरू हाँसे । उसले मेरो हातबाट त्यो चार पेज ‘निलो चोली’ फुत्त थुती र भनी, ‘तिमी बुझ्दैनौ ।’
उसले ठिकै भनेकी थिई । चार कक्षा पढ्दा पढेको ‘निलो चोली’ भनेको के थियो भन्ने कुरा मैले क्याम्पस पढ्न थालेपछि मात्र थाहा पाएँ । अनि, पछि मैले पूरै किताब पनि पढँे ।
मेरो बुबा हिन्दी उपन्यास पढ्नुहुन्थ्यो । मलाई सम्झना त छैन तर मैले पहिलोपटक पढेको पुस्तक कुनै हिन्दी उपन्यास नै थियो । अजंगको मोटो किताबको तिलस्मी कथामा म यस्तरी डुबेको थिएँ कि त्यसका पछिल्ला केही पेजहरू गायब भएका थाहा पाउँदा म निकै छट्पटिएको थिएँ । पछि यस्ता थुप्रै उपन्यास पढियो । मैले पढेको पहिलो नेपाली उपन्यास ‘बरालिएको केटो’ थियो । लेखक को थियो मलाई सम्झना छैन । मैले लेखकको नामसमेत सम्झेर पढेको पहिलो पुस्तक भने गुरुप्रसाद मैनालीको कथासंग्रह ‘नासो’ हो । हाम्रो घरमा त्यो किताब कसरी आयो, त्यो त मलाई थाहा छैन तर मोटो गातासहितको त्यो किताब म बुइँगलमा गएर दोहोर्‍याइ दोहोर्‍याइ पढ्थँे । ‘नासो’, ‘छिमेकी’, ‘कर्तव्य’, ‘बिदा’, ‘परालको आगो’जस्ता कथाहरू मेरो मस्तिष्कमा आजसम्म पनि गढेर रहेका छन् । पछि उनको ‘छिमेकी,’ ‘कर्तव्य’जस्ता कथा त हाम्रो पाठ्यक्रममा नै समावेश भयो । फेरि पनि उस्तै चाखले पढ्दा समाजका सम्बन्ध ती कथाहरूले प्रस्ट पारेका थिए ।
पाठ्यक्रमबाहेकका किताब पढ्ने वातावरण घरमा थिएन । बुबा त विभिन्न पत्रिका, उपन्यास पढ्नुहुन्थ्यो तर हामीलाई भने आफ्नो पाठ्यक्रमका किताबमात्र पढ्न भनिएको थियो । त्यसैले पनि म घरमा फेला परेका साहित्यका किताब बुइँगल, बारी वा टिफिनमा स्कुलको कक्षा कोठाभित्र बसेर पढ्थँे । समातिने भयले ध्यान किताबमा मात्र केन्द्रित गर्न सकिँदैनथ्यो । कैयौँपटक हजुरबुबाले समाएर हपार्नु पनि भएको थियो ।
मैले बिपीको ‘दोषी चस्मा’ पनि त्यसैगरी पढेकी हुँ । उनको ‘श्वेतभैरवी’ घरमा कतै फ्यालिएको थियो । बुबाले पढ्न ल्याउनुभएको ‘युवाहरूको गीत’ र ‘आमा’ चाहिँ उहाँबाट चोरेर सातआठ कक्षामा पढ्दा नै मैले पढ्न भ्याएँ । यी पुस्तकको प्रभाव मेरो जीवनमा त्यतिखेर र अहिले पनि उस्तै छ । मतलब अझ पनि उस्तै गाढा । अझै पनि म उस्तै तरिकाले रोमाञ्चित हुन्छु । यी पुस्तकले नै मलाई कम्युनिस्ट आन्दोलनका बारेमा बुझ्न सघायो । अझै पनि यी पुस्तक म दोहोर्‍याएर पढ्छु । पछि, स्कुलमा बालअधिकार चेतना समूहबाट पुस्तकालय निर्माण गरेपछि एसियाली बालकथाहरू तथा अरू पनि बालपुस्तक पढ्न पाइयो तर सानो उमेरमा नै गम्भीर खालका पुस्तक पढिसकेको हुँदा मेरा साथीहरूजस्तो म ती पुस्तकमा रमाउन सकिनँ ।
स्कुलमै छँदा जब मैले कविता लेख्न सुरु गरँे अनि कार्यक्रमहरूमा जाँदा कविताका किताब पाइन थालियो । त्यतिखेर किताब बाँड्थे । काठमाडौंमा पनि केही पुस्तक विमोचनका कार्यक्रममा जाँदा किताब सित्तैमा बाँडेको देखेर मलाई लाग्थ्यो, किताब यत्तिकै सित्तैमा पाइन्छ । अनि, मलाई लेखकहरू पनि निकै अचम्मका मान्छे लाग्थ्यो । उनीहरूले कसरी एउटा पूरै किताब लेख्छन् होला भन्ने म सोच्थँे । मलाई उनीहरू धनी मान्छे हुन् भन्ने पनि लाग्थ्यो किनकि गरिबले त कहाँबाट किताब छापेर बाँडोस् †
जब मैले सरुभक्तको ‘पागल बस्ती’ पढेँ तब म साँच्चै एकोहोरिएँ । किताब मभित्र यस्तरी छिर्‍यो कि विपश्यना ध्यानमा बस्दा भ्याङ्ले कुर्ता लगाएको मलाई म आफैँ पनि ‘पागल बस्ती’को एउटा पात्रझैँ लाग्थ्यो । म आदिमताप्रति सहानुभूति राख्थँे, मेरो आँखामा उनका लागि आँसु पनि आउँथ्यो । ‘पागल बस्ती’को प्रभाव ममा लामो समय रह्यो ।
जब २०६१ मा मैले पत्रकारिता सुरु गरेँ तब मात्र किताबप्रति म साँच्चै गम्भीर भएँ । त्योभन्दा अगाडि फाट्टफुट्ट पुस्तक पढे पनि म नेताहरूको भाषण, पत्रपत्रिकामा छापिने राजनीतिक लेखहरू पढ्नमा नै रुचि राख्थेँ । वास्तवमा मलाई लेखकको प्रभावका बारेमा थाहा नै थिएन । साहित्यका किताब भनेको फुर्सद हुँदा पढ्ने हो।

भन्ने कुराले म पनि ग्रस्त थिएँ । आज पुस्तक पढ्नु मेरो दिनचर्या हो, फुर्सदमा त म सुत्छु ।
मेरो किताबको प्रसंगमा मैले अंग्रेजी किताबहरू कसरी पढ्न सुरु गरँे भन्ने सम्झेर मलाई सधँै रमाइलो लाग्छ । सरकारी स्कुलको विद्यार्थी भएकाले र वरपर कोही अंग्रेजी साहित्यमा रुचि राख्ने नभएकाले होला मलाई कहिल्यै लागेको थिएन कि आज अंग्रेजी साहित्य मेरो पहिलो रोजाइ हुनसक्छ । अंग्रेजी साहित्यको अध्ययन मैले आफ्नो अंग्रेजी भाषाको सुधारका लागि सुरु गरेकी थिएँ । कुनै समयमा ठमेलबाट सेकेन्ड ह्यान्ड बुक सपमा गएर पुस्तक किन्नु अनि पढिसकेपछि त्यही किताब बेचेर फेरि अर्को किताब किन्ने मेरो ‘लत’ नै थियो । त्यसैताका मैले खालेद होसनीको ‘द काइट रनर’ पढेँ । यो पुस्तक किन्दा मैले आफूसँग पाँच रुपियाँ मात्र बाँकी राखेकी थिएँ । भोलिपल्ट अन्तर्वार्तामा दिन जानुपर्ने थाहा हुँदाहुँदै पनि मैले आफूलाई रोक्न सकिनँ र कालोपुलबाट सानेपासम्म म हिँड्दै अन्तर्वार्ता दिन गएको थिएँ । होसेनीको लेखाइले नै मलाई सकेसम्म सरल तरिकाले लेख्नुपर्छ भनेर प्रेरित गरेको हो । यसपछि आजसम्म पुस्तक किन्नु मेरो एक किसिमको लत नै भएको छ । अब पुस्तक पसलमा गएर खाली हात फर्कनु मेरा लागि निकै मुस्किल कुरा हो ।
मैले माथि उल्लेख गरेबाहेक पारिजातका ‘शिरीषको फूल’, ‘मैले नजन्माएको छोरो’, ‘महत्ताहीन’, जगदीश घिमिरेको ‘लिलाम’ र ‘साबिती’, नारायण ढकालको ‘प्रेतकल्प’, धच गोतामेको ‘घामका पाइला’, शारदा शर्माको ‘अग्नि स्पर्श’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, नयनराज पाण्डेको ‘लु’, ‘उलार’ र ‘निदाएँ जगदम्बा’, डायमन्ड शमशेरको ‘वसन्ती’ र ‘सेतो बाघ’, बानीरा गिरीको ‘कारागार’ जस्ता पुस्तक दोहोर्‍याएर पढ्ने पुस्तक हुन् । ‘पर्पल हिबिस्कस’ र ‘हाफ अफ अ यल्लो सन’ कि लेखक चिमामान्दा अदिचिएको लेखनशैली मलाई असाध्यै मनपर्छ । निर्मल वर्माका हरेक कथा म बारम्बार पढिरहन चाहन्छु । महाकवि देवकोटोको ‘के नेपाल सानो छ’ निबन्ध मलाई आज पनि उस्तै सशक्त लाग्छ । राजन मुकारुङको ‘हेत्छाकुप्पा’, शंकर लामिछानेको ‘एब्सट्रयाक्ट चिन्तन प्याज’ भैरव अर्यालका व्यंग्यात्मक निबन्धहरू पनि पढ्नैपर्ने सामग्री हुन् । मसँग पढ्नैपर्ने र आफूलाई मनपरेका किताब तथा लेखकका लामो सूची छ । मलाई मन परेका धेरै किताब म बेलाबखतमा दोहोर्‍याएर पढिराख्छु, म आफूलाई मन परेका पात्रहरू, कथाहरूलाई ताजा गराइराख्नमा आनन्द पाउँछु ।
सुरुमा फुर्सदमा समय कटाउने साधन बनेको किताब पछि भाषा सुधार गर्ने माध्यम हुँदै विस्तारै इतिहास, वर्तमान बुझ्ने स्रोत बन्यो । धेरैजसो आख्यान पढ्ने मेरो रुची भने इतिहास र जीवनीमा बढ्दै गएको छ । हरेक नयाँ किताब पढेपछि जब म बाहिर निस्कन्छु, आफूलाई एउटा नयाँ मान्छेका रूपमा पाउँछु । भिडमा पनि आफूलाई फरक पाउँछु । हरेक नयाँ पुस्तकले ममा जोस भर्छ । म मख्ख पर्छु ।

प्रतिक्रिया