बोक्सीको आरोपमा दिनहुँ पिटाई

सिरहा, २९ भदौ । सिरहा जिल्लाको अर्नमा(प्रपी)–४ निवासी असलानीदेवी यादवलाई स्थानीय चन्दर यादवसहितका केही व्यक्तिले बोक्सीको आरोपमा चरम याताना दिने गरेको तथ्य सार्वजनिक भएको छ ।
बोक्सी लागेर आफ्नी छोरी विराम गराएको भन्दै चन्दरलगायतको समूहले उनलाई बोक्सीको आरोपमा कुटपिट गरेको हो ।
असलानीदेवीलाई दुई साता यता चन्दर सहितको ५/६ जनाको समूहले चरम याताना दिएपछि उपचारका लागि अस्पताल पुगेकी छन् । उनले सो घटना विरुद्ध प्रहरीमा उजुरी दिए पनि कारबाही प्रक्रिया अघि बढेको छैन ।
पीडित असलानीदेवीले दैनिक सरह कुटपिटका साथै गाली बेइज्जती हुन थाले पछि घटना सार्वजनिक गरेको बताएकी छन् । उनले दोषी चन्दर सहितका व्यक्तिलाई कारबाहीको माग गरेकी छन् ।
उपचार गर्न अस्पताल आएकी असलानीदेवीको शरीर भरी कुटपिटबाट निलडाम छन् ।
‘स्थानीय चन्दर यादवको छोरी विरामी परेपछि मैले बोक्सी लगाएको आरोप लगाई कुटपिट गर्दै आएका छन्,’ उनले भनिन्, ‘घरमै आएर चन्दरसहितका ५/६ जना व्यक्तिले दिनहुँ गोली, गलौज, कुटपिट गर्छन ।’
पीडित असलानीदेवीका पति पैसा कमाउन खाडी मुलुक गएका छन् । ‘पति विदेश गएका छन्, छोरो पढ्न काठमाडौं गएको छ,’ आँखाबाट आँशु झार्दै उनले भनिन्, ‘घरमा कोही नभएको मौका पारेर चन्दरको समूहले कुट्ने गर्छन ।’
पीडित असलानीदेवीले बोक्सीको आरोपमा कुटपिट गर्ने चन्दर विरुद्ध ईलाका प्रहरी कार्यालय विष्णुपुरामा उजुरी दिएकी छन् । यद्यपी प्रहरीले चन्दरलगायतको समूहलाई पक्राउ गरेको छैन । (तस्विर गुगल)

प्रतिक्रिया