मध्यपुर युथको राम्रो सुरुआत, थ्री–स्टारलाई झड्का

काठमाडौं, २९  भदौ । ए डिभिजन क्लबको रूपमा पहिलोपटक फुटबल खेलिरहेको मध्यपुर युथ एसोसिएसनले नयाँ सत्रमा राम्रो सुरुआत गरेको छ । बिहीबार दशरथ रंगशालामा भएको एनसेलकप फुटबल प्रतियोगिताको पहिलो खेलमा मध्यपुरले थ्री–स्टार क्लबसँग १–१ गोलको बराबरी गर्‍यो । नियमित समय सकिन १० मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी विक्रम लामाको गोलमा अग्रता लिएको थ्री–स्टारको विरुद्धमा मध्यपुरका जीवन सिन्केमानले अन्तिम मिनेटमा गोल गरे । विक्रमले सन्तोष साहुखलको पासलाई सहज उपयोग गर्दै गोल गरे । मध्यपुरका लागि बालगोपाल साहुखलले दिएको पासलाई उपयोग गर्दै जीवनले गोल गरे । मध्यपुरलाई एक अंक दिलाउन भरखरै राष्ट्रिय टोलीमा प्रवेश पाएका विकास कुथुले सानदार प्रदर्शन गरे । राष्ट्रिय टोली तथा मध्यपुरका प्रशिक्षक उपेन्द्रमान सिंहका प्रिय मानिने कुथु यसै सत्र हिमालयन शेर्पा छाडेर मध्यपुर आइपुगेका थिए । उनले थ्री–स्टारसँगको खेलमा प्रशिक्षकको विश्वासलाई कायम नै राख्ने खालको प्रदर्शन गरे ।
पहिलो १० मिनेट बितेपछि नै आक्रामक बनेको थ्री–स्टारले पहिलो मौका ३६आँै मिनेटमा गुमाएको थियो । विजय गुरुङले राम्रो मौकाको पनि उपयोग गर्न सकेनन् ।  लगातारको आक्रमण विफल भएपछि थ्री–स्टारका प्रशिक्षक मेघराज केसीले दोस्रो हाफमा योगेश गुरुङको स्थानमा विक्रमलाई मैदानमा प्रवेश गराएको थियो । राष्ट्रिय टोलीका पूर्वखेलाडी नीराजन रायमाझी पनि दोस्रो हाफमा मैदानमा प्रवेश गरे । उनले मध्यपुरलाई ए डिभिजनमा प्रवेश गराउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ६७ र ७२आँै मिनेटमा थ्री–स्टारले लगातार दुई राम्रा मौका गुमाएको थियो । ती दुवै मौका सन्तोष साहुखलले गुमाए ।
केही दिनको वर्षाका कारण असहज रहेको मैदानमा विकासका अलावा मध्यपुरका युवारक्षक विवेकप्रताप रानाले पनि त्यत्तिकै स्तरीय प्रदर्शन गरे । उनले थ्री–स्टारका कयाँै राम्रा आक्रमणलाई विफल तुल्याएका थिए ।
थ्री–स्टारका प्रशिक्षक मेघराज केसीले पहिलो खेलमा विपक्षीलाई बुझ्न कठिन भएको बताए । उनले आफ्नो टोलीले प्रशस्त मौका गुमाउनु नै बराबरीको मुख्य कारण भएको बताए । मध्यपुरका प्रशिक्षक उपेन्द्रले आफ्नो टोलीका सबै खेलाडीले कडा मिहिनेत गरेकाले बलियो टोली थ्री–स्टारलाई बराबरीमा रोकेको बताए । शुक्रबार मनाङ–मस्र्याङदी क्लब र मच्छिन्द्र क्लबबीच खेल हुनेछ ।

प्रतिक्रिया