नेपाल र श्रीलंकाबीच आज सेमिफाइनल

कोलम्बो, २९ भदौ । दोस्रो साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपालले शुक्रबार घरेलु टोली श्रीलंकाको सामना गर्दै छ । नेपाल समूह–बीको विजेता हो भने श्रीलंका समह–एको उपविजेता ।
जारी प्रतियोगितामा गत संस्करणको अन्तिम चारको टोली बङ्गलादेशलाई स्तब्ध पार्दै सेमिफाइनल प्रवेश गरेको श्रीलंकालाई तुलनात्मकरूपमा कमजोर मानिए पनि नेपाली प्रशिक्षक किशोर केसी आफ्नो प्रतिद्वन्द्वीको सम्मान गर्ने बताउँछन् ।
‘कुनै पनि नराम्रो टिम सेमिफाइनलमा आउन सक्दैन । श्रीलंकाले बङ्गलादेशविरुद्ध राम्रो प्रदर्शन गरेको थियो । त्यसैले हामी उसको सम्मान गर्छौं,’ प्रशिक्षक केसीले भने  । बङ्गलादेशमा सन् २०१० मा सम्पन्न ११औँ दक्षिण एसियाली खेलकुदमा भएको भिडन्त महिला फुटबलमा नेपाल र श्रीलंकाबीचको एक मात्र हो ।
उक्त खेलमा नेपाल ८–० ले विजयी भएको थियो । नेपालका लागि जमुना गुरुङले हयाट्रिक तथा अनु लामाले दुई गोल गरेपछि नेपाल सहज जित हासिल गर्न सफल भएको थियो । यद्यपि प्रशिक्षक केसी श्रीलंकालाई कमजोर आँक्दैनन् ।
‘उनीहरूका पाँच खेलाडीविरुद्ध हामी सतर्क रहनुपर्छ । हाम्रो खेल सुधिँ्रदै आएको छ र यसलाई हामीले कायम राख्ने हो भने हामी सजिलै जित्न सक्छौँ,’ केसीले सेमिफाइनल खेल नेपाली डिफेन्डरहरूको परीक्षा रहेको बताए । ‘अफगानिस्तानविरुद्धको खेलमा हाम्रा डिफेन्डरहरू चुकेका थिए र एक गोल खान पुग्यौँ,’ उनले थपे, ‘तर श्रीलंकाविरुद्धको खेलमा सुधार आउने अपेक्षा राखेको छौँ ।’ अफगानिस्तानविरुद्ध प्राप्त ७–१ को जितमा मिडफिल्डरहरूबाटै चार गोल भएपछि नेपाल अब कप्तान जमुना गुरुङ र अनु लामामा मात्रै निर्भर रहनेछैन । ‘हाम्रो मिडफिल्ड र फरवार्ड लाइनमा निकै राम्रो तालमेल भइरहेको छ र उनीहरूले गोल पनि गरिरहेका छन् । हामीले कतै सुधार चाहने हो भने त्यो रक्षापंक्ति नै हो,’ सेमिफाइनल भिडन्तको पूर्वसन्ध्यामा केसीले भने ।
श्रीलंकन प्रशिक्षक महिन्द्रा कापुगेदेराले नेपालविरुद्धको सेमिफाइनल श्रीलंकाली महिला फुटबलको लागि नै ठूलो रहेको बताए । ‘सबैलाई थाहा छ नेपालले कस्तो खेलिरहेको छ भनेर । तर यो हाम्रो कुनै पनि अन्तर्राष्ट्रिय महिला फुटबलको पहिलो सेमिफाइनल हो । हामी नेपाललाई राम्रो चुनौती दिन्छौँ,’ कापुगेदेराले धारणा राखे । उनले आफ्नो टोली सन्तुलित रहेको पनि बताए । ‘हाम्रो टिममा केही नयाँ र केही पुराना अनुहार छन् र हामी राम्रो टिम बनाउने तयारीमा छौँ । त्यसैले नेपालविरुद्ध हामीले राम्रो खेल्नैपर्छ,’ श्रीलंकाका प्रशिक्षकले भने । शुक्रबार बिहान हुने पहिलो सेमिफाइनलमा साविक विजेता भारतले अफगानिस्तानको सामना गर्नेछ ।

प्रतिक्रिया