अमेरिकी दूतावासमाथि आक्रमण

साना : यमनमा सयौँ प्रदर्शनकारीले अमेरिकी दूतावासमाथि आक्रमण प्रयास गरेका छन् । अमेरिकाद्वारा निर्मित एउटा फिल्ममा इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदलाई अपमान गरेको विरोधमा उनीहरूले बिहीबार दूतावासमाथि आक्रमण गरेका हुन् । आक्रोशित प्रदर्शनकारीलाई तितरबितर गर्न दूतावास सुरक्षामा खटिएका सुरक्षाकर्मीले हवाइ फायर गर्नु परेको थियो ।
सोही फिल्मलाई लिएर लिबियामा समेत विरोध प्रदर्शन भएको थियो । आक्रोशित प्रदर्शनकारीले मंगलबार लिबियाको दोस्रो ठूलो सहर बेन्गाजीस्थित अमेरिकी कन्सुलेटमा आक्रमण गर्दा लिबियाका लािग अमेरिकी राजदूतसहित अमेरिकी कूटनीतिक नियोगका अन्य तीन अधिकारीको मृत्यु भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार सानास्थित अमेरिकी दूतावासमाथि आक्रमण गर्न गएका समूहका मानिसले ‘मोहम्मद, हामी हजुरका लागि आफ्नै बलि चढाउन तयार छौँ’ भन्ने नारा लगाएका थिए । प्रदर्शनकारीले दूतावास सुरक्षाका लागि बनेको सुरक्षा कार्यालयका झ्याल फुटाएका थिए भने दूतावासको मेन गेट फोरेर भित्र पसेका थिए । साथै उनीहरूले पाँचवटा सवारीसाधन जलाएका थिए । ‘हामीले दूतावास भवनभित्र आगो लागेको देख्यौँ । दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले हवाइ फायर गरेपछि मात्र प्रदर्शनकारी भागेको देखियो,’ एक प्रत्यक्षदर्शीले भने । झडपमा परी १५ प्रदर्शनकारी घाइते भएको बताइएको छ । आक्रमणबाट दूतावासका कर्मचारीलाई कुनै हताहति नभएको समाचार छ । (एजेन्सी)

इजिप्टमा पनि
इजिप्टको राजधानी कायरोस्थित अमेरिकी दूतावासमा पनि आक्रमण भएको छ । अमेरिकाद्वारा निर्मित फिल्मले इस्लामको बेइज्जत गरेको र यसै विषयलाई लिएर लिबियामा अमेरिकी राजदूतको हत्या भएपछि अमेरिकाले लिबियातर्फ युद्धपोत पठाएको विरोधमा कायरोमा प्रदर्शन भएको हो । दूतावास सुरक्षामा खटिएका प्रहरीमाथि प्रदर्शनकारीले कायरोमा ढुंगामुढा गरेका थिए । साथै दूतावास परिसरभित्र प्रवेश गरी उनीहरूले अमेरिकी झन्डा च्यातेका थिए । घटनामा परी १३ व्यक्ति घाइते भएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया