किताबका “दिवाना”

‘एक था टाइगर’ले कैयौँ सहरिया युवाको मन बरालेको छ अहिले । सिनेमाघरमा तन्नेरीहरूको लाम यसपटक पनि उस्तै छ । प्रत्येक ‘फ्राइडे रिलिज’ मा त्यो लामको प्रकृतिमा नयाँपन देख्न सकिन्छ । कोर्सका किताबले थिचेको दिमागलाई ‘रिफ्रेस’ दिन भन्दै गर्लफ्रेन्डसहित गोपीकृष्ण सिनेमाहलको गेटमा पुगेका २१ वर्षीय नवीन श्रेष्ठ ‘बिन्दास’ मुडमा छन् । ‘कत्ति किताबमा मात्रै घोरिनु, कलेज नै बंक हानेर आइयो, माइन्ड रिफ्रेस गर्न परेन ?’ दिउँसोको सिफ्टमा पढ्ने नवीन सिनेमाघरको टिकट काउन्टरनजिकै पुगेर मुस्कुराए ।
सबै तन्नेरीको स्वभाव एकैखाले कहाँ हुन्छ र ? एकातिर किताबसँगको सम्बन्धबाट आफूलाई अलग्याएर ‘मस्ती’ गर्न खोज्ने तन्नेरी छन् भने अर्कातिर किताब भनेपछि हुरुक्कै हुने जमात । बजारमा लेखकका नयाँ कृति सार्वजनिक भएकै दिन पुस्तक पसल पुगिहाल्ने समूह पनि छ । उनीहरू आफूलाई फरक संसारका ‘बिन्दास’ भन्न रुचाउँछन् । सडकमा भेटिँदा पनि तिनका हातमा कुनै न कुनै पुस्तक हुन्छ । वैचारिक थलो ‘पब्लिक पोलिसी पाठशाला’को गेटमा भेटिएका शंकर तिवारीको हातमा भर्खरै निस्किएको एउटा गजलसंग्रह थियो । काँधमा झुन्डिरहेको उनको झोलामा अन्य किताब त छँदै छन् । स्पष्ट छ उनको किताबमोहको कारण– ‘अरूको भोगाइबाट धेरै कुरा सिक्न सकिन्छ, त्यो भोगाइमा पुग्न पुस्तक अनिवार्यजस्तै छ ।’
नयाँ पुस्तामा सिनेमाको तुलनामा किताबसँग उठबस गरेर रमाउनेको संख्या थोरै नै छ । तर, किताबप्रेमीको संख्या बढ्दै चाहिँ छ । आफ्ना पसलमा किताब किन्न आउनेमध्ये धेरैजसो युवाहरू हुने दाबी पुस्तक व्यापारी गर्छन् । त्यसो त आ–आफ्नो मनोविज्ञान र रहरअनुसार किताब छनोट गर्ने गर्छन् तन्नेरीहरू । किताब छनोटको तरिका उमेर र समयले पनि फरक पार्दो रहेछ । किताबका ‘दिवाना’ मध्येका एक हरिराम रिमाल कुनै बेला माक्र्सका विचारहरूमा मात्र बढी घोत्लिन्थे । अहिले उनको रुचि अध्यात्मसँग पनि जोडिएको छ । ‘जे कृष्णमूर्ति, ओशो, शिवपुरी बाबा आदिका विचारमा रमाइरहेको छु’ –रिमाल भन्दै छन् । त्यसो त उनको रुचि र स्वभाव पनि किताबले नै निर्धारण गरिदिएको रहेछ । ‘भर्खरै एसएलसी दिएका बेला म कम्युनिस्ट दर्शन खुब पढ्थेँ, जीवनी पढ्थेँ । चे ग्वेभाराबाट विशेष प्रभावित थिएँ’, उनले सुनाए । यसै कारण उनले हङकङबाट ग्वेभाराको फोटो अंकित टिसर्टसमेत मगाएछन् । ‘जनयुद्धका बेला काठमाडौंको सडकमा त्यो टिसर्ट लगाएर हिँड्दा आर्मीले दु:ख दिएको थियो, एउटा तस्बिरसँग पनि राज्य डराउँदो रहेछ, कति महान् होला तिनको विचार †’, चेप्रति सम्मान प्रकट गर्दै छन् उनी– ‘यो सबै किताबले नै सम्भव बनाएको हो ।’
सानैदेखि बिपी कोइरालाको साहित्यमा रमाउने शंकर तिवारी अन्तत: उनको ‘फ्यान’ नै बने । बिपीको जीवनसहित उनका प्राय: पुस्तक जम्मै पढे । सानो छँदा पत्रिकामा खुब झ्याम्मिन्थे, उति बेला हातैभरि बालपत्रिका हुन्थे । अहिलेचाहिँ फिक्सन र ननफिक्सन दुवैखाले पुस्तक उत्तिकै पढ्छन् रे । ‘भर्खरै डा. गोविन्दराज भट्टराईको ‘सुकरातको डायरी’ , फिउडर दोस्तोएभ्स्कीको ‘क्राइम एन्ड पनिसमेन्ट’ र नयनराज पाण्डेको ‘लू’ पढेँ’, सुनाए ।
लेखकीय प्रवृत्ति र शैली मन पराउनुमा पनि आ–आफ्नै दृष्टिकोण छन् तन्नेरीका । गैरसाहित्यिक परम्पराबाट आएर सोखका लागि लेख्नेहरूले राम्रो लेखिरहेको तिवारीको विश्लेषण छ । रिमाललाई भने जर्बजस्ती नलेखिएका प्राकृतिक कृति मन पर्छ रे † ‘जस्तो शंकर लामिछानेको लेखनशैली मलाई निकै मन पर्छ, उनले लेखाइमा कतै ढाँटेका छैनन्’, रिमालको भनाइ । बढीजसो जीवनदर्शनका पुस्तक मनपर्ने धारणा राख्छन् यी दुवै तन्नेरी । कतिपय पुस्तक त मन परेर दोहार्‍याइरहने बानी पनि हुन्छ । ‘म खलिन जिब्रानको ‘द प्रोफेट’ र तिन्सेको ‘दिस स्पिक जराथुस्ट’ खुब पढिरहन्छु’ –रिमालले भने । ‘म पनि बिपीका साहित्यमा धेरै पटक घोत्लिएको छु’, तिवारीले सुनाए ।
राजधानी मात्र होइन, मोफसल पनि पढिरहेकै हुन्छ । चितवनकी सविता श्रेष्ठ पनि किताबकी अनुरागी हुन् । उनीचाहिँ बढी फिक्सन रुचाउँछिन् । पाउलो कोहेलोको ‘वृद्धा’ उनले भर्खरै पढेको पुस्तक हो । ‘देवेन्द्र भट्टराईको ‘रेगिस्तान डायरी’ पनि पढिसकेँ भर्खरै,’ उनले भनिन् । उनी आफ्नो किताबको प्यास मेट्न साथीहरूसँग नजिकिन्छिन् रे । ‘चाहेका सबै किताब किनेरै पढ्न गाह्रो छ, त्यसैले साथीहरूबीच आदानप्रदान चलिरहन्छ ।’ राजधानीबाट टाढा भएकाले भनेजस्ता किताब पाइहाल्न मुस्किल पर्छ उनलाई । ‘सबैजसो प्रतिष्ठित लेखक राजधानीमै बस्छन् र किताब पनि उतैतिर सार्वजनिक हुन्छ, चितवनसम्म आइपुग्न समय लाग्छ, भन्नेबित्तिकै पाइँदैन,’ उनले अप्ठ्यारो सुनाइन् । तैपनि उनी अध्ययनको प्यास मेटाउन काठमाडौंबाटै पनि मगाइरहेकी हुन्छिन् रे †
फिक्सनमा पौडँदा अध्ययनको वास्तविक मज्जा लिन सकिने मान्यता राख्छन्, किताबप्रेमीहरू । त्यसरी किताब पढ्दा कथाका पात्रहरूसँगै उठबस गरेको अनुभूति हुन्छ । कुनै पात्रको अन्त्यले बडो दु:ख सिर्जना गर्दिन्छ मनमा । अनि कति पात्रलाई आदर्श पनि मान्छन्, किताबमा डुब्नेहरू । रिमाललाई पाउलो कोहेलोको ‘इलेभेन मिनेट्स’ की पात्र ‘मारिया’ खुब मन पर्छ । उनी मारियालाई कल्पनामै भए पनि अँगालो हाल्छन्, भावना साट्छन् । ‘वेश्या जीवनदेखि पैसावाल जीवनसम्म भोगेर ब्राजिल फर्किएकी मारिया अब मेरो जीवनसाथी बन्न सक्ने हैसियत राख्छे किनकि ऊसँग अब कुनै पनि आकांक्षा छैन, ऊ पनि मजस्तै २४ वर्षमा पुगेकी छे’, रिमालले मारियालाई वास्तविक जिन्दगीसँग ल्याएर जोडे । तिवारीलाई मन पर्ने पात्रको नाम पनि ‘मारिया’ नै हो । ‘फर होम द बेल टोल्स’ कृतिकी पात्र ‘मारिया’ ले बोलेको वाक्य अझै उनलाई सम्झना छ । पहिल्यै बलात्कारमा परेकी मारियालाई कुनै समयपछि उसको केटा साथीले यौनसम्पर्क गर्छ र सोध्छ– ‘के तिमीले पहिला यौनसम्पर्क गरेकी थियौ ?’ अनि उसले भनेकी थिई– ‘मलाई गरेका थिए, मैले गरेकी थिइँन ।’ यो संवादले खुब छुँदो रहेछ तिवारीलाई । उनको अनुभव– ‘मानिस किताब पढेपछि केही समयसम्म त्यसको ह्याङओभरमा रहिरहन्छ ।’  त्यसो त सविता कुनै पनि किताब पढेपछि त्यसको प्रभाव लामो समयसम्म नरहने बताउँछिन्– ‘म तुरुन्तै अन्य काममा क्रियाशील भइहाल्छु, किताबको त्यस्तो ह्याङओभर महसुस गरेकी छैन ।’
बजारमा युवाकै लागि भनेर वास्तविक किताब ननिस्किएको बताउँछन् तन्नेरीहरू । नेपाली लेखकहरूले आफूलाई त्यसतर्फ लगाउन सक्नुपर्ने धारणा राख्छन् उनीहरू । पछिल्लो समयमा उदाएका कतिपय लेखक, खासगरी युवा लेखक नै तन्नेरीका रोजाइमा पर्छन् । समीक्षा, विज्ञापनदेखि सामाजिक सञ्जालहरूमा गरिएका चर्चाहरूले किताब छान्न मद्दत पुर्‍याउँछ । युवावयमा विद्रोही भावको किताब पढ्नेहरू अहिले आध्यात्मिक किताब रोज्न थालेका छन् । त्यसो त सानैदेखि आध्यात्मिक किताबको संगतमा हुर्किएकाहरूले अझै पनि त्यस्ता किताबलाई माया गर्छन् । उज्ज्वल अधिकारीलाई ‘श्रीमद्भागवत् गीता’मा अझै पनि उत्तिकै रुचि लाग्छ । उनी अहिले पनि अर्जुन–कृष्ण संवादलाई विश्लेषण गर्दै त्यसमा जीवनका समस्याहरूको समाधान छ भन्ने ठान्छन् । माक्र्सलाई पनि पढेका उनी भन्छन्– ‘माक्र्सले धर्मलाई अफिम भनेका हुन् अध्यात्मलाई होइन, धर्म र अध्यात्मामा धेरै फरक छ । ’
किताबलाई आ–आफ्नै आधार र तरिकाले माया गर्नेहरू जसरी पनि आफूलाई किताबको संसर्गमा राख्न चाहन्छन् । किताबकै कारण कुनै बेला उनीहरू ‘बिन्दास’ हुन्छन्, कुनै बेला ‘पागलजस्तै’ हुन्छन् त कुनै बेला ‘दार्शनिक’ । हरिराम यतिखेर आफ्नो अनुभवबाट भन्दै छन्– ‘कुनै स्पष्ट दृष्टिकोण नलिई किताबभित्र रुमल्लिइरहनु पनि खतरनाक छ ।’

प्रतिक्रिया