बसपार्क निर्माण योजना अलपत्र

बाग्लुङ, २८ भदौ । बाग्लुङ सदरमुकाममा सुविधा सम्पन्न बसपार्क निर्माण योजना अलपत्र परेको छ । बाग्लुङ नगरपालिका–११ उपल्लाचौर दामगरामा निर्माण सुरु गरेको १० वर्ष बित्दासमेत सरोकारवाला निकायले ध्यान नदिँदा स्थानीयले दिएको ६३ रोपनी जग्गा घाँसे मैदानमा परिणत भएको छ ।

नि:शुल्क रूपमा करोडौँ मूल्य पर्ने जग्गा दिँदासमेत बसपार्क निर्माणको काम अघि नबढेपछि बजारबासी निराश बन्न थालेका छन् । ०५८ सालमा बसपार्क निर्माणको लागि ३४ जना स्थानीय व्यक्तिले करिब ६० करोड मूल्य पर्ने जग्गा नि:शुल्क दिए पनि बसपार्क बन्न नसकेपछि अहिले अस्थायी रूपमा नगरपालिका–३ चिप्लेटीबाट बस सञ्चालन हँुदै आएको छ । बसपार्कका लागि छुटयाइएको सो जग्गा जनस्तरबाट गठित जग्गा व्यवस्थापन समितिको सक्रियतामा ६० रोपनी समितिको नाममा दर्ता भइसकेको छ । मालपोत कार्यालयमा रजिस्ट्रेसन भएका जग्गालाई प्रक्रिया मिलाएर बसपार्क बनाउने भनिए पनि १० वर्ष बित्दासमेत बसपार्क बन्न नसक्दा दु:ख लागेको जग्गादाता सुदेश राजभण्डारीले बताए । आफूले खेती गर्दै आएको अन्न उब्जनी हुने जग्गा बसपार्क निर्माणका लागि सरकारलाई नि:शुल्क दिँदासमेत कानुनी प्रक्रियाको झन्झटले गर्दा बसपार्क बन्न नसकेको उनको गुनासो छ ।
बाग्लुङका उपभोक्ताले बसपार्क निर्माणका लागि जग्गा नि:शुल्क प्रदान गर्ने निर्णय गरे पनि कानुनी प्रक्रिया मिल्न नसक्दा बसपार्कको काम सुचारु हुन नसकेको बाग्लुङ नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीले बताए । अब छिटोभन्दा छिटो प्रक्रिया मिलाएर कामको थालनी गर्ने उनले बताए । तर, जग्गा व्यवस्थापन समितिले बसपार्कको जग्गा एकीकृत गर्न अझै केही महिना लाग्ने बताएको छ । सरकारी प्रक्रिया झन्झटिलो भएकाले अझै केही महिना नगरपालिकालाई जग्गा हस्तान्तरण गर्न नसकिने बसपार्क जग्गा व्यवस्थापन समितिका सचिव धुव्र केसीले बताए । उनका अनुसार नापीले काम छिटो गरिदिए दुई/तीन महिनाभित्रमा जग्गा हस्तान्तरणको कार्यक्रम सकिने छ । समितिले जग्गा एकीकृत गरी नगरपालिकालाई हस्तान्तरण गरेलगत्तै बसपार्क निर्माण गरी सञ्चालन गर्न सकिने नगरपालिका कार्यालयका कार्यकारी अधिकृत यदुनाथ पौडेलले बताए । अहिले बाग्लुङबाट काठमाडौं, पोखरा, बुटवल, नारायणघाट, काँकडभित्तालगायत देशका प्रमुख सहरमा बस, मिनिबस र माइक्रोबस सञ्चालन हुँदै आए पनि गाडीको चाप बढेका कारण व्यवसायीले व्यक्तिको जग्गा भाडा तिरेर गाडी पार्किङ गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया