गोरा हल्लाउने गुरुङ

करिब दुई सय वर्षदेखि नेपाली युवाहरूले गोरखा सैनिकको नाममा बेलायती सेनामा भर्ती भएर काम गर्दै आएका छन् । गोरखा भर्तीको इतिहास जति पुरानो छ, गोरखा सैनिकहरूमाथिको शोषण र विभेद पनि उति नै कहाली लाग्दो छ । तर, यस्तो आन्दोलन भयो, जसले ‘कहिल्यै घाम नअस्ताउने बेलायती साम्राज्य’को शिर नैतिक रूपमा झुकाइदिएर गोरखाहरूको शिरलाई उाचो बनाइदियो । यस आन्दोलनका जन्मदाता हुन् पदमबहादुर गुरुङ । २००१ सालमा स्याङ्जाको तल्लोकुाडलेमा जन्मेका गुरुङले सानो गोरेटोबाट सुरु गरेर भूतपूर्व गोरखा सैनिकहरूको आन्दोलनलाई अहिले अन्तर्राष्ट्रिय राजमार्गसम्म ल्याइपुर्‍याएका छन् । उमेरले सत्तरी छुन लागेका गुरुङको सपनाजपना अझै पनि बेलायती साम्राज्यले गोरखा सैनिकहरूमाथि गरेको शोषणको अन्त्य नै छ । भन्छन्, ‘यो वा त्यो रूपमा गोरखाहरूमाथिको शोषणको हिसाबकिताब चुक्ता नभएसम्म लडिरहन्छु ।’ गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष रहेका गुरुङको संघर्षको कथा उनकै शब्दमा :
जतिबेला म बेलायती सेनामा भर्ती भएँ, त्यतिबेला लाहुर जानु हाम्रो गाउँको संस्कारजस्तै भइसकेको थियो । लाहुरबाट फर्किएका दाजु–बाजेहरू जापान, जर्मनीसँग युद्ध लडेका रोमाञ्चक किस्सा सुनाउँथे । उनीहरूको रहनसहन, लवाइखवाइ देख्दै लोभलाग्दो हुन्थ्यो । हामी पनि लाहुरे बन्न आकर्षित हुन्थ्यौँ । उति बेला हाम्रो लवाइ आफ्नै गाउँले शैलीको हुन्थ्यो । दौरा (चौबन्दी), हाफ कट्टु अनि ढाका टोपी । खुट्टामा लाउने चप्पल हुँदैनथ्यो । लाहुरबाट आएकाहरूको चाहिँ सानै बेग्लै । टक्क बुटजुत्ता, सेतो सर्टमा चटक्क परेको कालो पाइन्ट, हातमा टलक्क टल्कने दमवाला घडी लगाउँथे । बडो ठाँटका साथ गाउँलेलाई लालटिनमारा चुरोट बाँड्थे । हामी गाउँका भुराहरू सोच्थ्यौँ– लाहुरे हुन पाए मेरो सान पनि यस्तै हुन्थ्यो होला † ब्रिटिस लाहुरे भनेको अर्को देशको सेनामा गएर भर्ना हुनु हो र विदेशी नागरिकका लागि लड्नुपर्छ भनेर हामीलाई के थाहा †
रहरैरहरमा पन्ध्र वर्षको उमेरमा म पनि साथीहरूसँग ब्रिटिस आर्मीमा भर्ना भएँ, सन् १९५८ मा । मलायाको जंगलमा लडाइँ चलिरहेको थियो । ब्रिटिस आर्मीमा भर्ना भएर अरू लाहुरेको जस्तै सानले बाँच्ने सपना देखेको थिएँ । तर, गाउँमा बडो ठाँट देखाउने लाहुरेहरूको ब्रिटिसमा रहँदाको अवस्था त साह्रै निरीह पो रहेछ । अंग्रेजहरूका लागि रगतपसिना बगाए पनि हामी उनीहरूका नजरमा दोस्रो दर्जाको नागरिक रहेछौँ । घरमा काम गर्ने नोकरलाई जस्तो व्यवहार गर्ने । ब्रिटिस आर्मीमा तीसौँ वर्ष बिताएको नेपाली मेजरले अंग्रेजको सेकेन्ड लप्टनलाई पनि स्यालुट गर्नुपर्ने । मालिकले नोकरलाई ‘ए कान्छा, ए कान्छी’ भनेजसरी सम्बोधन गर्ने ।
गोराहरूको गाली र हप्की सुन्दा मलाई साह्रै नरमाइलो लाग्थ्यो । सोच्थेँ– के हामीले गरिब भएकै कारण उनीहरूको अपमानजनक व्यवहार सहनुपरेको हो ? कतै ब्रिटिस आर्मीमा भर्ना भएर गल्ती त गरिएन ? ब्रिटिसहरूले गोर्खा सैनिकमाथि गरेको विभेद सहनुपर्दा मन साह्रै कुँडिन्थ्यो । सोच्थेँ– पेट पाल्नकै लागि दोस्रो देशको सेनामा भर्ना भएर तेस्रो देशको सार्वभौमविरुद्ध लड्नुजस्तो घृणित पेसा अरू के होला ? यिनै असमानताहरूले मन दुखाएपछि मैले विद्रोह गरेँ, त्यसै कारण ब्रिटिस आर्मीबाट मेरो नाम काटियो । नेपाल आइसकेपछि ब्रिटिस आर्मीमा भर्ती भएका नेपालीहरूलाई न्याय र समान अधिकार दिलाउन पाए हुन्थ्यो भन्ने लागिराख्यो ।
नेपालमा ०४६ सालको परिवर्तनपछि हामीलाई पनि केही गर्नुपर्छ भन्ने लाग्यो । निकै मेहनत गरेर गोरखा भूतपूर्व सैनिक संघ (गेसो) गठन गर्‍र्यौं । प्रयास त पहिलेदेखि नै गरेका हौँ तर सहयोग कतैबाट भएन । परिवर्तित व्यवस्थासँगै राजनीतिक पार्टीहरूले ब्रिटिस गोर्खाका अधिकारीहरू समात्दै आ–आफ्नो भ्रातृ संगठन खोल्दै थिए । हामीलाई थाहा थियो– ती अफिसर अंग्रेजका दलाल मात्र थिए, जसले आफ्नै देशबाट गएका अरू सामान्य सैनिकको भावना बुझ्दैनथे । जसले अंग्रेजको चाकडी गर्छ, उसैले अफिसरको पद हात पाथ्र्यो । नेपाली नै भए पनि त्यस्ता अफिसरप्रति मलाई घृणा लाग्थ्यो । जागिर जोगाउन बटालियन कमान्डर भएर अंग्रेजको चाकडी गर्थे तर आफ्ना साथीहरूमाथि हुने अपमानजनक व्यवहारप्रति पटक्कै बोल्दैनथे ।
गेसोका तर्फबाट तिनै सिपाहीको अधिकार रक्षाका लागि हामी लड्यौँ । १९९० मा सिपाहीहरू भेला गराएर संगठन निर्माण गर्‍यौँ । गेसो स्थापना गर्न सजिलो थिएन । सुरुमा एघारजनाको केन्द्रीय समिति थियो । डा. चन्द्रबहादुर गुरुङ र मैले विशेष भूमिका निर्वाह गर्‍यौँ । ६ वर्षसम्म निकै गाह्रो भयो हामीलाई । म ब्रिटिस सेनाबाट नाम काटेर आएको सिपाही । चन्द्रबहादुर भारतीय सेनाका भगुवा सिपाही । हामीलाई हेरेर हाँस्थे सबैजना, बौलाहा सिपाहीहरू भन्थे । ‘यस्ता नामकटुवा र भगुवा सिपाहीहरूले ब्रिटिससँग लड्ने ?’ भनेर जिस्क्याउँथे । सिपाही भन्ने जातले अधिकार खोज्ने होइन, यिनीहरू त आदेश पालक मात्र हुन् भनेजस्तो थियो । तर, हामीलाई ब्रिटिसजस्तो शक्तिशाली राष्ट्रसँग आफ्नो अधिकार लिनु थियो । नेपालमा चाहिँ ब्रिटिसलाई चिड्याउनु हुँदैन भन्ने सामाजिक एवं राजनीतिक संकीर्णता हाबी थियो ।
गेसो आन्दोलनका क्रममा लाग्दा नेपालका नेता र पार्टीहरूको नाडी र मुटु पनि राम्ररी छामियो । हाम्रो आन्दोलन चर्किरहँदा सर्वदलीय कार्यदल बन्यो यहाँ, ब्रिटिस सेनाका समस्या अध्ययन गरी प्रतिवेदन संसद्मा पेस गर्ने भनेर । हाम्रा माग सुनेर कार्यदल बैठकमा आएका कमल थापाको ओठतालु सुक्यो । ब्रिटिसलाई चिढ्याउन हुँदैन भन्दै बैठक छाडेर भागे । त्यसपछि उनी कहिल्यै आएनन् । गोरो छाला भएकाहरूका अगाडि पर्नु गरुडको छायामा सर्प परेजस्तो अवस्था थियो नेताहरूलाई । त्यस्तो अवस्थामा हामी दुई सिपाहीले लड्ने आँट गर्दा सबैजना हाँस्थे । ब्रिटिसहरू मात्र होइन, जसको अधिकारका लागि लड्दै थियौँ उनीहरू पनि हाँस्थे । ‘ब्रिटिस भनेको पहाड हो, कुहिनोले पहाड हल्लाउन खोज्ने ?’ कानुनी रूपमा जाँदा हुन्छ कि भनेर त्यो पनि प्रयास गर्‍यौँ । त्यति बेला थाहा भयो, नेपालको कानुन र शासन व्यवस्थालाई कतिसम्म निरीह बनाइएको रहेछ † यतिसम्म कि नेपालको शासन व्यवस्थामा रहेकाहरूले कुनै जुनीमा गरेको अपराधको सजायस्वरूप ती पदमा बस्नुपरेजस्तो पो लाग्यो मलाई ।
दुई सय वर्षअघि ब्रिटिसहरूसँग भएको त्रिपक्षीय सम्झौताको वकालत गरेर हाम्रो प्रयासलाई तुहाउन खोजे । नेपाल सरकार, राजनीतिक पार्टी, यहाँका बुद्धिजीवी सबैले त्यसैमा होमा हो गरे । गेसोले आन्दोलन चर्काए गोर्खा भर्तीकेन्द्र बन्द गर्छौं भनेर ब्रिटिस अफिसरले बिबिसीमा बोले । सन् २००८ मा त्रिपक्षीय सम्झौताका विरुद्धमा मुद्दा लड्यौँ । आन्दोलनको संसारभर चर्चा भयो । तर, आफ्नै देशको सरकार भने मौन बस्यो । यहाँको संसद्मा त्रिपक्षीय सम्झौतामा के छ र के संशोधन गर्नुपर्छ भनेर अलिकति पनि बहस भएन । त्यो त्रिपक्षीय सम्झौतालाई बेलायतको अदालतले खारेज गरिसकेको छ अहिले । तर, नेपाल सरकार भने त्यसलाई सिनोझैँ च्यापेर बसेको छ । बेलायती सेनामा दुई सय वर्षदेखि नेपाली भर्ती भइरहेका छन् तर त्यस सम्बन्धमा नेपाल सरकारसँग कानुनी रूपमा कुनै अनुबन्धन छैन । यसले नेपाल अघोषित रूपमा ब्रिटिसको उपनिवेश भएझैँ देखिन्छ । पोखराको केआई सिंह पुलमा भारतीय र ब्रिटिस सेनाका बर्दीधारीले नेपाली युवाको छाती नापिरहेका हुन्थे, अनि अघोषित उपनिवेश किन नभन्ने ?
जसका लागि लड्दै थियौँ, उनीहरू नै भन्थे– यी दुई सिपाहीले अंग्रेज साहेबलाई अप्ठ्यारो पार्ने काम गर्दै छन् । ०५० साल भाद्र १३ गते चार सूत्रीय माग लिएर ब्रिटिस दूतावास जान काठमाडौंमा रहेका पूर्व नेपाली ब्रिटिस सेनालाई खबर गरियो । तर, एकजना पनि आएनन् । अंग्रेज साहेब रिसाउँछन्, पेन्सन दिँदैनन् भनेर श्रीमतीले गाली गरे रे † एक्लै गएर विरोधपत्र दर्ता गरेँ । दास मानसिकतामा थिए उनीहरू नै, नुनको सोझो गर्नुपर्छ भन्थे ।
बेलायतले आफूलाई मानवअधिकार र प्रजातन्त्रको मसिहा ठान्छ । तर, त्यहाँ नै समान कामको समान ज्याला छैन । गोर्खा सैनिकले पनि अन्य गोरा सैनिकसरह समान सुविधा पाउनुपर्छ भन्ने हाम्रो माग थियो । मानवअधिकारको विश्वजनीन सिद्धान्त पनि यही नै हो । यस्तो अवस्थामा आफ्ना लागि रगत बगाउने गोर्खालीमाथि पक्षपात गर्न बेलायतलाई कुन सिद्धान्तले दियो ? यतिसम्मको अपमान कि बेलायती अफिसरको जुत्तामा पालिस गर्नेदेखि उसकी श्रीमतीको कपडा धुने, भाँडा माझ्नेसम्मको काम पनि गर्न लगाएको छ । यो देख्दा लाग्थ्यो– मानवअधिकार भनेको अमेरिका र बेलायतसँग सहमत नहुनेलाई तह लगाउने हतियार मात्र रहेछ ।
आन्दोलनमा लाग्दा धेरै गोर्खाली ब्रिटिसको एजेन्ट बनेर हामीलाई दु:ख दिन्थे । नेपालमा संकटकाल थियो, मलाई नेपाल र बेलायत दुवैले आतंककारी घोषणा गरे । पदमबहादुरले पैसा खाएर नेपालको जनयुद्धमा लगानी गरेको छ भनेर पत्रिकामै छपाए । शेरबहादुर नेतृत्वको सरकारले गेसोलाई आतंककारी घोषणा गर्‍यो । बेलायतका आर्मी जनरल क्राउनले तत्कालीन राजा वीरेन्द्रसमक्ष मलाई कारबाही गर्न लिखित उजुरी दिएको कुरो अहिले बाहिर आएको छ । यस्ता धेरै असहजताबीच कसरी बाचेँ, आफैँलाई थाहा छैन । २००४ को सेप्टेम्बरमा लन्डनमा ममाथि गोर्खालीबाटै आक्रमण गराइयो । त्यहाँको प्रहरीको भनाइअनुसार मलाई मार्न नभएर प्यारालाइज गराउने उद्देश्य रहेछ । जे होस् आन्दोलनले ठूलै उपलब्धि पाइसकेको छ अहिले । उति बेला एउटा ब्रिटिस लाहुरेको पेन्सन तेह्र–चौध सय थियो तर अहिले २७ हजार पुगेको छ । अफिसरको पाँच–छ हजार थियो, अहिले साठीदेखि असी हजार पुगेको छ । यो उपलब्धि देख्दा साह्रै खुसी लाग्छ । छोराबुहारीबाट कहिले मर्ला भनेर हेला गरिएका लाहुरे बाजेबज्यै अहिले आरामसँग बेलायत गएर बस्न पाएका छन् । पेन्सनबाहेक उनीहरूले पाउने भत्ता बचाएर प्रत्येक महिना पाँचदेखि आठ सय पाउन्ड नेपाल पठाउँछन् । खासमा यो आन्दोलन नेपाल सरकारले गर्नुपथ्र्यो ।
गेसोकै कारण अहिले अर्बौं रुपियाँ देशभित्र भित्रिएको छ । ब्रिटिसले दुई सय वर्षसम्म नेपाली सैनिकको रगत शोषण गर्‍यो, पशुसरहको व्यवहार गर्‍यो । त्यसको बदलामा अहिले हाम्रा भूतपूर्व ब्रिटिस गोर्खा बाजेबज्यै पाल्नु पर्दा उसको दाँतबाट पसिना आएको छ । उति बेला हामीलाई असहयोग गर्नेहरूले पनि अहिले बुझेका छन्, गेसोले राम्रो काम गरेको रहेछ भनेर । नेपाल कुनै पनि युद्धको पक्षमा छैन । यस्तो स्वतन्त्र राष्ट्रको नागरिकलाई राणा र अंग्रेजले चाहँदैमा युद्धमा होम्न कसरी पाइन्थ्यो ? यसै कारण साठी हजार नेपालीले ज्यान गुमाइसकेका छन् । अरू कति हराए, कति बेपत्ता भए । उनीहरू केका लागि मारिए, बहस हुनुपर्दैन ? हामीले युद्ध लडेकाले विश्वले शान्ति पायो तर हामीले के पायौँ ?
६० हजारभन्दा बढी हाम्रा पुर्खाहरू मारिएका छन् तर उनीहरूका बारे बेलायती शासकले आजसम्म केही गरेका छैनन् । हामी उनीहरूको सम्झना सम्मानमा स्याङ्जा जिल्लाको साल्मे डाँडामा भव्य गोरखा स्मारक बनाउँदै छौँ । यो स्तम्भ आफैँमा ब्रिटिस साम्राज्यको अन्यायविरुद्धको घोषणापत्र र आन्दोलनको नयाँ उदाहरण पनि बन्नेछ । स्तम्भ ब्रिटेनको पक्षमा लड्दा मारिएका गुरुङ, मगर, राई, लिम्बू, सुनुवार, शेर्पा, नेवार, तामाङ, बाहुन, छेत्री, दलित, याक्खा, भुजेल, ठकुरी, दुरा गरी अहिलेसम्म थाहा भएका १६ बढी जातिको साझा प्रतीक हुनेछ । यसमा ब्रिटेनले गोरखा सैनिकमाथि गरेको अत्याचारको सटिक र दुरुस्त इतिहास लेखिनेछ । यस अर्थमा स्तम्भ जातीय (राष्ट्रिय) एकताको प्रतीक र नेपाली शासकहरूप्रति पनि व्यंग्य हुनेछ । विश्वभरि जहाँजहाँ गोरखा सैनिकहरू मारिए, जहाँजहाँ उनीहरूले युद्ध लडे, जहाँजहाँँ उनीहरूका सामूहिक चिहानहरू छन्, ती ठाउँहरूबाट एक–एक मुठी माटो अस्तुको प्रतीकका रूपमा ल्याएर राखिनेछ । विश्वस्तरको यो स्तम्भमा ब्रिटिस साम्राज्यको नश्लवाद र अत्याचारको कथा पनि लेखिनेछ, जसले गर्दा ब्रिटिस साम्राज्य नैतिक रूपमा झुक्न बाध्य हुनेछ ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया