अध्यादेश बोकेर प्रधानमन्त्री शीतलनिवासमा

काठमाडौं, २९ भदौ । सरकारले संवैधानिक निकायका पदाधिकारी तथा राजदूत नियुक्तिमा बाधा अड्काउ फुकाउनका लागि राष्ट्रपति डा. रामवरण यादवसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुधबार राष्ट्रपति कार्यालय शीतलनिवास पुगी बाधा अड्काउ फुकाउने आदेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् । २५ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि अन्तरिम संविधानको धारा १५८ को बाधा अड्काउ फुकाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
राजदूत तथा संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा संसदीय सुनुवाइको व्यवस्था भएकाले राष्ट्रपतिसँग सो व्यवस्था संशोधन गरी बाधा अड्काउ फुकाउन सरकारले आग्रह गरेको हो । ‘प्रधानमन्त्री बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने साथै अध्यादेश लिएर आउनुभएको थियो,’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, ‘राष्ट्रपतिज्यूले अध्ययन गर्छु भन्नुभएको छ ।’
स्रोतका अनुसार प्रधानमन्त्रीले सरकारले यसअघि सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिसँग चासो राखेका थिए । प्रधानमन्त्रीले अध्यादेश ल्याउनुको विकल्प नरहेको भन्दै बाध्यताले अध्यादेश स्वीकृतिका लागि पठाउनुपरेको जानकारी गराएका थिए । उनले सिफारिसको तयारीमा रहेका आधा दर्जनभन्दा बढी अध्यादेशबारे जानकारीसमेत राष्ट्रपतिलाई गराएका थिए । जवाफमा राष्ट्रपतिले राष्ट्रिय सहमति कायम गरी समस्या समाधानको दिशातर्फ अघि बढ्न आग्रह गरेका थिए ।

प्रतिक्रिया