विवाहको चार महिनामै हत्या

रौतहट २८ भदौ । शितलपुर बैरगनिया–१ मा एक महिलाको हत्या भएको छ । स्थानीय अशोक पटेलकी २० वर्षीया पत्नी जानकीदेवीको शंकास्पद मृत्युपछि माइती पक्षले हत्याको आरोप लगाएका हुन् ।

प्रेमपुर गोनाहीका अनुठा राउतकी छोरी जानकीको शितलपुर बैरगनियाका अशोकसँग गत ३० वैशाखमा विवाह भएको थियो । बुधबार ससुराली पक्षले जानकीको मृत्यु भएको भन्दै अन्तिम संस्कारका लागि लगेपछि मृतकका अभिभावकले प्रहरीको सहयोगमा शव आºनो कब्जामा लिएका थिए ।
‘छोरीको मृत्युको खबर हामीलाई ज्वाइँका परिवारले गरेनन्,’ राउतले भने, ‘छिमेकीले खबर गरेपछि प्रहरी लिएर पुग्यौँ ।’ ‘छोरीको घाँटीमा अगाडि पछाडि डाम छ,’ उनले भने, ‘लौरोले दुवैतिरबाट थिचेर मारेको हो । कसैले हत्याबारे थाहा नपाओस् भनेर पापीहरूले छोरीको अन्तिम संस्कार हतारमा गर्न लागेका थिए ।’
प्रहरी र आफन्त शवको अन्तिम संस्कार गर्ने ठाउँमा आएको देखेपछि पति अशोक, ससुरा मोहन पटेल तथा सासूलगायत घरका सबै सदस्य फरार भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । शवको प्रकृति हेर्दा घाँटीमा थिचिएको डाम भएकाले हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । फरार परिवारजनको खोजी सुरु गरिएको, शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याइएको र हत्याको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

प्रतिक्रिया