क्षणिक नबनौँ : पारस

आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन–फोर खेलेर मंगलबार मलेसियाबाट स्वदेश फर्किएको नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासँग सौर्यकर्मी लोकेन्द्र प्रसार्इंले गरेको कुराकानी उनकै शब्दमा :

हामीसँग ‘स्किल’ थियो तर आत्मविश्वास थिएन । एकनासको (कन्सिस्टेन्ट) प्रदर्शन थिएन । अनि ब्याटिङ पनि कमजोर थियो । कुनै एक पक्षमा कमजोर भइयो भने विकासको आस गर्न सकिन्न । त्यही भएर हामी पटकपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा चुक्यौँ र यसैको असरस्वरूप अपेक्षितरूपमा अगाडि बढ्न पनि सकेनौँ तर यसपटक मलेसियामा हरेक खेलाडीले राम्रो खेले । चाहिएको समयमा कुनै न कुनै खेलाडी चले ।
हाम्रो प्रदर्शनमा आत्मविश्वास देखियो । खेलाडीले आफूमा भएको स्किललाई आत्मविश्वासमा परिणत गरे, त्यसै गर्‍यो टिमले पनि । त्यसकारण टिमको पनि ‘मोरल’ उच्च भयो । हामीले राम्रो प्रदर्शन गर्‍यौँ । यसक्रममा डेनमार्क, अमेरिका, सिंगापुरजस्ता बलिया टोली हामीसँग पराजित भए । पछिल्लो समय बलियो प्रदर्शन गरिरहेको अमेरिका त अझ दुईपटक हामीसँग पराजित भयो । हामीले हरेक खेलमा राम्रो प्रदर्शन गर्‍यौँ । र, बलियो प्रदर्शन गरिरहेका प्रतिद्वन्द्वीलाई पनि हामीले रोक्यौँ । यसमा हाम्रो क्षमता देखियो । हामी कुनै टोलीको कमजोर प्रदर्शनले विजयी भएका थिएनौँ बरु हाम्रो बलियो प्रदर्शनले जित सम्भव भएको थियो । यी सबै सफलतामा हाम्रो ‘कन्सिस्टेन्सी’ ब्याकबोनका रूपमा रहयो ।
हाम्रो सफलताका पछाडि अन्य कारण पनि रहे जुन हामीले तयारीका क्रममा सुधार गर्‍यौँ । पहिलो कुरा प्रशिक्षक पुवुदु दसानायकेले ब्याटिङमा विशेष ध्यान दिनुभयो । दोस्रो कुरा केही खेलाडीलाई विशेष प्रशिक्षणको व्यवस्था गरियो । टिममा लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका र नयाँ प्रतिभाशाली खेलाडीको उपस्थिति थियो । अनुभवले खेलाडीलाई माझेजस्तो देखियो । खेलाडीले आफ्नो खेल बुझेर खेले, गल्ती सच्याए । खेलाडी र टिमले तयारीको पनि राम्रो अवसर पायो । हामीले विभिन्न क्लबसँग अभ्यास गर्‍यौँ । विदेशमा प्रशिक्षण भयो । हामीभन्दा बलिया टोलीसँग भिड्दा कमीकमजोरी थाहा पाउने मौका पायौँ । श्रीलंकामा भएको अभ्यास पनि यस सफलतामा हिस्सा हुन सक्छ भन्ने मलाई लाग्छ ।
यतिबेला सफलताले सबै खुसी छौँ, खेलाडी, क्रिकेटप्रेमीदेखि समग्र जनतामै क्रिकेटले गौरव अनुभूति गराएको छ । पूरै देश नै क्रिकेटमय भएको भन्ने सुनेको छु । सफलतासँगै हामीबाट भएको प्रदर्शनले निकटभविष्यमै हामीले निकै राम्रो गर्न सक्ने संकेत देखिएको छ । यसले नयाँ–पुराना खेलाडीलाई ऊर्जा दिनुका साथै उत्साहित बनाएको छ । एकपछि तर यसका लागि पहिलो सर्तका रूपमा हामीमा देखिएको कन्सिस्टेन्सी र कन्फिडेन्स कायम हुनु अनिवार्य छ । यो त आधारभूत विषय हो । यसका लागि घरेलु क्रिकेटमा लगानी बढ्नुपर्छ । खेलाडीलाई कसरी मोटिभ गर्न सकिन्छ भनेर सरोकारवालाले अहिलेदेखि नै सोच्नुपर्छ र त्यसलाई व्यवहारमा पनि उतार्नुपर्छ । खेलाडी खेलेर नै बाँच्न सक्ने स्थितिको सृजना हुनुपर्छ । जबसम्म खेलाडीलाई केन्द्रमा राखिन्न तबसम्म विकासको बारेमा सोच्न सकिन्न । खेलाडीहरूलाई खेलिरहने वातावरण तयार हुनुपर्‍यो अनि राष्ट्रिय टिमलाई वैदेशिक प्रशिक्षणको व्यवस्था हुनुपर्छ । राष्ट्रिय टिमले आफूभन्दा माथिल्लो स्तरका टिमसँग खेल्न पाइरहनुपर्छ ।
यतिबेला हाम्रो सफलतालाई विश्वकप सहभागितासँग जोडेर हेरिराखिएको छ । हुन पनि लामो समयदेखि राम्रो प्रदर्शन गरिरहेको टोलीलाई विश्वकपमा अझ भारत, अस्ट्रेलियाजस्ता टिमसँग खेलेको हेर्न पाउनु सबैको रहर पनि हो । पहिलो कुरा त हामीले नतिजामा भन्दा पनि प्रदर्शनलाई प्राथमिकतामा राख्नुपर्छ । त्यसैले यतिबेला म आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन–थ्रीमा पुगेकोमा भन्दा पनि राम्रो प्रदर्शन गरेकोमा खुसी छु । एउटा प्रतियोगिता जित्दैमा विश्वकप हाम्रो नजिकै आइपुग्यो भन्ने सोचिहाल्दा त्यो चाँडो हुन्छ भन्ने मलाई लाग्छ । हामी क्षणिक आवेगमा आउनुहँुदैन, प्राक्टिकल बन्नुपर्छ । विश्वकपमा सहभागिता त स्टेप बाई स्टेप हुने कुरा हो । सुरुमा हामीले आइसिसीबाट एकदिवसीय मान्यता पाउँछौँ । यसले गर्दा हामीलाई अन्तर्राष्ट्रिय एक्सपोजरका प्रशस्त ढोकाहरू खुल्नेछन् । अनि बाँकी पछि क्रमश: पूरा गर्ने कुरा हो । त्यसैले एउटा प्रतियोगिता जित्यौँ भन्दैमा धेरै आशा गरिनुहँुदैन । एउटा साँचो कुरा के हो भने हामीले राम्रो प्रदर्शन गर्‍यौँ अनि राम्रो नतिजा पनि निकाल्यौँ ।

प्रतिक्रिया