मन्त्रीले आत्महत्या गरेको अनुमान

टोकियो : जापानका वित्तीय सेवामन्त्रीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनलाई सोमबार घरमै मृत अवस्थामा फेला पारिएको थियो । ७३ वर्षीय तादाहिरो मात्सुसिता नाम गरेका उनी विवाहित रहे पनि उनले अर्की एकजना महिलासँग अवैध सम्बन्ध राखेको सार्वजनिक भएपछि लोकलाज सहन नसकेर आत्महत्या गरेको हुनसक्ने जापानी अखबारले जनाएका छन् । जापानको एउटा ट्याबलोइड पत्रिकाले तीन दिनअघि उनको विवाहेत्तर सम्बन्धबारे समाचार प्रकाशित गरेको थियो । समाचारकै कारण उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।
ती महिलासँगको अवैध सम्बन्धबारे बुधबारको अंकमा विस्तृत विवरण दिइने सूचना सो पत्रिकाले शनिबारको अंकमा प्रकाशित गरेको थियो । उनको अवैध सम्बन्धबारे विस्तृत विवरण आउनुअगावै उनले आत्महत्या गरेको आशंका समाचारमा गरिएको छ । उनलाई घरमै लडिरहेको अवस्थामा फेला पारिएपछि अस्पताल लगिएको थियो । त्यसको केही समयपछि नै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मात्सुसिता प्रधानमन्त्री योसिहिको नोदाको मन्त्रिपरिषद्मा हुलाकसुधार राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए । प्रधानमन्त्री नोदाले उनको मृत्युले आफूलाई स्तब्ध बनाएको जनाएका छन् । मात्सुसिता सन् १९९३ मा लिबरल डेमोक्रयाटिक पार्टीका तर्फबाट संसद्को तल्लो सभामा निर्वाचित भएका थिए । (एएफपी)

प्रतिक्रिया