ठूला दलको मात्रै ठेक्का होईनः लेखी

इलाम, २५ भदौ । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले सधैंभरी मुलुक प्रमुख तीन दलका शीर्ष नेतालाई ठेक्का दिन नसकिने बताएका छन् ।
उनले सर्वदलीय र सर्वपक्षीय सहमतिका आधारमा मुलुक अगाडि बढाउनु पर्ने बताए । ‘चार वर्षसम्म संविधान बनाउन नसक्ने नालायक पुराना दलका पुरानै नेताहरुबाट समस्या समाधान हुन सक्दैन,’ उनले भने ।
इलाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले मुलुक तीन दलको मात्रै पेवा नरहेको उल्लेख गरे । ‘सबै दल र सरोकारवालाहरुसँगको सर्वपक्षीय छलफल पछि निकास दिनु पर्छ,’ उनले भने, ‘राष्ट्रपति शासन पनि हुन सक्दैन, प्रधानमन्त्रीको हैकमवादले पनि निकास आउँदैन ।’
उनले संघीयता दिन्छौ भनेर धोका दिएकै कारण नेताहरुको द्वैध चरित्रले संविधान सभाको अवसान भएको बताए ।
राजनीतिक सहमतिका आधारमा शर्तसहित छोटो अवधिका लागि संविधानसभा पुनःस्थापना गर्न सकिने अध्यक्ष लेखीको भनाई थियो । उनले भने, ‘सभासदले तलब, भत्ता खानकै लागि मात्र हो भने पुनःस्थापना आवस्यक छैन ।’
उनले जाति, भाषा, संस्कृति, भूगोल र ऐतिहासिक पृष्ठभूमि गरी पाँच पहिचानका आधारमा संघीय राज्यको निर्माण गरिने बताए । अध्यक्ष लेखी एकल पहिचानको जातीय राज्यको विपक्षमा उभिदै आएका छन् ।

प्रतिक्रिया