सुविधा लिन ‘झोले’ सहकारी बढे

नेपालगन्ज, २४ भदौ । सरकारी सुविधा र अनुदान लिनकै लागि बाँकेमा झोले सहकारी खुल्ने क्रम बढेको छ । सस्तो पसल सञ्चालनका लागि सरकारबाट प्राप्त हुने एक लाख अनुदान र रासायनिक मलको अनुदान पाउनका लागि त्यस्ता सहकारी खुल्ने क्रम बढेको हो ।
सहकारी प्रशिक्षण डिभिजन कार्यालय बाँकेले राप्तीपारिका १५ सहकारी संस्थामा गरेको अनुगमनका क्रममा अधिकांश सहकारी कागजमा मात्र सीमित रहेको पाइएको जनाएको छ । अनुगमनका क्रममा तीनवटा सहकारी संस्था कतै भेटिएनन् भने अन्य सहकारी संस्था पनि कार्यालय नखोली झोलाकै भरमा चलेको भेटिएको सहकारी डिभिजन कार्यालयले जनाएको छ । डिभिजनले सहकारीको अनुमगनका लागि चारजना कर्मचारीलाई राप्तीपारिका गाविसमा पठाएको थियो । सुपथमूल्य पसल सञ्चालनका लागि सरकारबाट प्राप्त हुने एक लाख र रासायनिक मल अनुदानका लागि मात्र सहकारी संस्था दर्ता गर्नेहरूले व्यवस्थापनको ख्यालै नगरेको सहकारी डिभिजनका निमित्त प्रमुख कमलप्रसाद पौडेलले बताए ।
उनले सरकारी सुविधाका लागि केही व्यक्ति मिलेर संस्था दर्ता गर्ने क्रम बढेको जनाउँदै त्यस्ता संस्था झोलामा मात्र सीमित रहेको जानकारी पनि दिए । कटकुइया गाविसको बघौडा बहुउद्देश्यीय सहकारी संस्था, महादेवपुरी–२ को हिमाल कृषि सहकारी संस्था, वनकट्टी गाविसको बनकट्टी बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय र पदाधिकारी नभेटेपछि अनुगमनमा गएका सहकारी निरीक्षक रित्तै फर्किएको पनि डिभिजनका निमित्त प्रमुख पौडेलले बताए ।
त्यस्तै गंगापुरको गणपति कृषक सहकारी संस्थाको हिसाबकिताब राख्ने खाता नेपालगन्जमा रहेको र लक्ष्मणपुरको नुरनगर सहकारी संस्थाका पदाधिकारी नभेटिपछि ती दुई संस्थाको अनुगमन हुननसकेको डिभिजन सहकारीले जनाएको छ । अनुगमनमा खटिएका सहकारी निरीक्षक पशुपति पाठकका अनुसार कार्यक्षेत्रमा सहकारी भेटिए पनि कार्यालय भने कतै नरहेको बताए । संस्था दर्ता गर्दा उल्लेख गरेका ठेगानाका आधारमा अनुगमन गर्दा स्थानीयलाई त्यस्तो सहकारी भएबारे पत्तै नभएको नीरिक्षक पाठकले बताए  ।
जनशक्ति र साधनस्रोत अभावका कारण जनाउँदै डिभिजनले जिल्लामा दर्ता भएका तीन सय सहकारीमध्ये गत आर्थिक वर्षमा ५० जति सहकारीको मात्र अनुगमन गरेको थियो । डिभिजनले एक सय ६५ सहकारीको अनुमगन गर्ने लक्ष्य लिए पनि पूरा गर्न नसकेको निमित्त प्रमुख पौडेलले बताए । उनले बाँकेका तीन सय सहकारी संस्थाको निरीक्षण गरेमा दर्जनाँै झोले सहकारी भेटिने दाबी गरे ।

प्रतिक्रिया