म्यानपावर सञ्चालकलाई अभिमुखीकरण तालिम

काठमाडौं, २४ भदौ । वैदेशिक रोजगारीमा जाने कामदारलाई सरकारले अनिवार्य अभिमुखीकरण तालिमको व्यवस्था गरे पनि त्यसको प्रभावकारिता कम भएको भन्दै रोजगारीमा पठाउनेलाई समेत तालिम सुरु गरिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको आर्थिक सहयोगमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर सञ्चालकका लागि तालिम सुरु गरेको हो ।

कामदारलाई मात्र तालिम दिँदा त्यसको प्रभावकारिता कम भएपछि संघले रोजगारीमा पठाउनेका लागि समेत तालिम सुरु गरेको जनाएको हो । कामदारलाई उनीहरू जाने मुलुक, गर्नुपर्ने काम, पाउने पारिश्रमिक, त्यहाँको कानुन र ट्राफिक व्यवस्थाजस्ता न्यूनतम विषयमा म्यानपावर सञ्चालकसमेत अनभिज्ञ हुने तथा कामदारलाई उनीहरूले जानकारी गराउन थप सहजता मिल्ने भन्दै संघले अभिमुखीकरण दिन सुरु गरेको जनाएको हो ।
संघका अनुसार अहिलेसम्म दुई सय ५० जना सञ्चालकले सो तालिम लिइसेका छन् । केही साताभित्रै सबै सञ्चालकलाई तालिम दिइसक्ने संघले जनाएको छ । व्यवसायीलाई समेत तालिमको व्यवस्था गरेपछि अहिले देखिएको ठगी नियन्त्रण र जोखिम न्यूनीकरण हुने संघका अध्यक्ष बलबहादुर तामाङको भनाइ छ ।
‘कामदारलाई मात्र तालिम दिँदा त्यसको प्रभावकारिता कम देखियो,’ उनले भने, ‘रोजगारीमा पठाउने तथा म्यानपावर सञ्चालकलाई समेत तालिमको व्यवस्था गरेपछि वैदेशिक रोजगारीका नाममा भइरहेका ठगी नियन्त्रण हुनेमा विश्वास छ ।’ यस्तै, कामदारको इन्सुरेन्स तथा श्रम स्वीकृति लिने कुरामा समेत व्यवसायीलाई थप सहजता हुनेगरी तालिम दिएको तामाङले जानकारी दिए ।
उनका अनुसार संघले पाँच वर्षीय रणनीतिक योजना बनाएर वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित तथा मर्यादित बनाउन पहल सुरु गरेको तामाङले बताए । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा कामदारले जम्मा गरेको रकमको सदुपयोग नभएको भन्दै कामदर र उनीहरूको हितमा कार्यक्रम गर्न सुरु गरेको बोर्डले जनाएको छ । बोर्ड अन्तर्गत कामदार कल्याणकारी कोषमा कामदारले जम्मा गरेको रकम करिब डेढ अर्ब रुपियाँ पुगिसकेको छ ।
यस्तै, वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीले कामदारका लागि ल्याएको माग अनिवार्य नेपाली भाषामा अनुवाद गरेर बुझाउनुपर्ने व्यवस्था गरेको छ । रोजगारीमा जाने कामदार ग्रामीण क्षेत्रका हुने र उनीहरू अंग्रेजी भाषामा रहेको मागपत्र र कामबारे जानकारी लिन नसक्ने भएकाले म्यानपावर कम्पनीले सो माग तथा करारपत्र नेपालीमा दिनुपर्ने व्यवस्था गरेको हो । विभागको नयाँ व्यवस्थाले रोजगारीमा जाने कामदरलाई आफ््नो कामबारे बुझ्न सजिलो हुने विभागले जनाएको छ ।

प्रतिक्रिया