जम्बो टोली लिएर सिडिओ मस्त

सिन्धुपाल्चोक, २५ भदौ । जिल्लाका मुख्य सरकारी कार्यालयका प्रमुखहरू भ्रमणमा निस्किएपछि सेवाग्राही मर्कामा परेका छन् । सरकारी कार्यालयका प्रमुखहरू तनाव भएको भन्दै ‘रिल्याक्स’ गर्न आइतबारदेखि एक साताका लागि पाँचपोखरी भ्रमणमा निस्केपछि सेवाग्राही मर्कामा परेका हुन् ।

सिडिओ दुर्गाप्रसाद पोखरेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्तकुमार लामा, गोरखनाथ गणका गणपति शशिकिरण रायमाझी, अनुसन्धानका डिएसपी इन्द्रसिंह लामा, जिल्ला विकास समितिका आन्तरिक लेखा परीक्षक अधिकृत अनिरुद्र नेपाललगायत कर्मचारीको टोली भ्रमणमा गएको हो । सहायक सिडिओ ओमकार न्यौपानेलाई जिम्मेवारी दिएर सिडिओ पोखरेल भ्रमणमा निस्किएको प्रशासन कार्यालयले जनाएको छ । सिडिओ नहुँदा सहायकले मात्रै सेवाग्राहीको भिड थेक्न नसकेको एक कर्मचारीले बताए । तीन महिनाअघि आएका सिडिओ पोखरेल कार्यालयभन्दा पनि घुमफिरमै रमाउने गरेका छन् ।
त्यस्तै, असारको अन्तिम साता जिल्ला छाडेका एलडिओ नारायणबहादुर थापा काठमाडौं गएका बेला उतैबाट सरुवा भएको छ । एलडिओ थापाका ठाउँमा नयाँ कर्मचारी नआउँदा सेवाग्राहीले सास्ती झेलिरहेका छन् । आर्थिक वर्षको सुरुदेखि नै जिविसमा आर्थिक कारोबार नहुँदा तलबसमेत खान नपाएको एक कर्मचारीले बताए । निमित्त एलडिओको जिम्मा जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सुनीलराज गिरीलाई दिइए पनि उनी आर्थिक विवादमा नपर्ने भन्दै कारोबार नगरेपछि समस्या भएको छ ।
जिल्ला शिक्षा अधिकारी पनि केही दिनदेखि कार्यालयमा नभएको शिक्षा कार्यालयका एक कर्मचारीले बताए । केही दिनदेखि जिल्लाबाहिर रहेका जिशिअ शिक्षा दिवस मनाउन शनिबार कार्यालयमा आएर बेलुकी नै काठमाडौं फर्केको जिशिकाले जनाएको छ ।
जिल्ला हुलाक कार्यालय, वन, निर्वाचनलगायत अन्य सरकारी कार्यालय पनि केही दिनदेखि प्रमुखविहीन छन् ।

प्रतिक्रिया