‘बिपीको विचार नमान्ने समाप्त हुन्छन्’

बाग्लुङ : कांग्रेस सभापति सुशील कोइरालाले बिपीको विचारलाई अवमूल्यन गर्ने राजनीतिक दलहरू समाप्त भएर जाने बताएका छन् ।
कांग्रेस बाग्लुङले ९९औँ बिपी जयन्तीका अवसरमा आइतबार मालढुंगामा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा सभापति कोइरालाले प्रजातन्त्र नमान्नेहरू ढिलोचाँडो समाप्त हुने दाबी गरे । एमाओवादीप्रति लक्षित गर्दै कोइरालाले बिपीको विचार नमान्दा राणा र राजा कहिल्यै शिर उठाउन नसक्ने गरी असफल भएको उल्लेख गरे । उनले भने, ‘एमाओवादी
पनि त्यही बाटोमा लागे विलीन भएर जानेछ ।’
असल विचार र बाटो सबैका लागि मान्य हुने धारणा व्यक्त गर्दै उनले बिपीविचार कहिल्यै कमजोर नहुने बताए । (सौस)

कार्यवाहक तोक्ने अधिकार सभापतिसँग छैन : पौडेल
बुटवल : कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कार्यवाहक सभापति छान्ने अधिकार सभापतिसँग नभएको बताएका छन् । पार्टीको १२औँ महाधिवेशनले सभापतिको अनुपस्थितिमा उपसभापति कार्यवाहक हुने विधानमा स्पष्ट व्यवस्था गरेको उपसभापति पौडेलको भनाइ छ ।
प्रेस युनियन रूपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाटमा पौडेलले पार्टी विधानविपरीत कार्यवाहक सभापति तोके मान्य नहुने बताए । केही दिनअघि वरिष्ठ नेता शेरबहादुर देउवाले कार्यवाहक सभापति बन्न पाए प्रधानमन्त्रीको दाबी छाड्ने बताएका थिए ।
पौडेलले कांग्रेस नेतृत्वमा सहमतिको सरकार बनाई छोटो समयका लागि संविधानसभा पुन:स्थापना गरी संविधान जारी गर्नसकिने धारणा पनि व्यक्त गरे । उनले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा हुकुमी शासन चलाउन खोजेको आरोप लगाए । एमाओवादीले मुलुक परिवर्तन गर्न बन्दुक चलाएको नभई लोकतन्त्र मास्न युद्ध गरेको आरोप पनि लगाए । प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर निकासको बाटो खोल्नुपर्ने उनको भनाइ थियो । (सौस)

प्रतिक्रिया