युनियनद्वारा इलाम घोषणापत्र जारी

इलाम : संघीय लोकतान्त्रिक मञ्चसम्बद्ध संघीय विद्यार्थी युनियन लिम्बुवान् राज्य (केन्द्रीय) समितिले १९ बुँदे इलाम घोषणापत्र जारी गरेको छ । इलाममा आइतबार सम्पन्न युनियनको पहिलो विस्तारित बैठकले घोषणपत्र जारी गरेको हो । युनियनले लिम्बुवान् क्षेत्रको हितका लागि भन्दै अरुणपूर्वका नौ जिल्लाको शिक्षालाई प्राथमिकता दिई घोषणापत्र जारी गरेको जनाएको छ । आइतबारै पत्रकार सम्मेलन गरी युनियनका केन्द्रीय अध्यक्ष जेन्टल लावतीले घोषणापत्र सार्वजनिक गरेका थिए ।
घोषणापत्रमा इलाम, झापा, पाँचथर ताप्लेजुङ, संखुवासभा, मोरङ, सुनसरी, धनकुटा र तेह्रथुम गरी नौ जिल्लालाई केन्द्रित गरी कृषि, भाषा, प्राविधिक र सांस्कृतिक अलग–अलग विश्वविद्यालय स्थापना गर्नुपर्नेलगायत विषय उल्लेख छ । ती जिल्लाका क्याम्पसहरूमा समानुपातिका स्ववियु चुनाव गर्ने, नभए चक्रीय प्रणलीअनुसार स्ववियु गठन गरिनुपर्ने, संघीय तथा व्यावहारिक शिक्षा लागू हुनुपर्नेलगायत माग युनियनले गरेको छ । (सौस)

प्रतिक्रिया