च्याउ उत्पादनमा नयाँ प्रविधिको अभाव

काभ्रे, २४ भदौ । च्याउ उत्पादनमा नयाँ प्रविधिको विकास हुन नसक्दा अपेक्षा गरेअनुसार प्रतिफल प्राप्त नभएको किसानले बताएका छन् । कृषि सेवा केन्द्र बनेपा र च्याउ उत्पादक कृषक समूह काभ्रेको संयुक्त आयोजनामा आयोजित कृषक समूह भेलामा किसानले प्रविधिअनुसार सीप भित्र्याउन नसकेकाले च्याउमा व्यवसायीकरण गर्न नसकिएको बताए ।

‘हामीले २० वर्ष अगाडि एक घरका लागि उत्पादन गरिने च्याउको विधिबाट नै व्यावसायिक खेती गरेका छौँ,’ कृषक इन्द्रमान मानन्धरले भने, ‘२० वर्ष अगाडिको प्रविधि र अहिलेको खेती प्रणालीमा धेरै अन्तर भइसके पनि कृषकले त्यो सीप पाउन सकेका छैनन् ।’
च्याउको बिउमै समस्या हुनथालेको कृषक पुस्कल महत पनि बताउँछन् । ‘बिउमा ढुसी आउने र समयमै नउम्रिने समस्याबाट हामी आजित भएका छौँ,’ महतले भने । कृषकहरू खेती गर्नै नजान्ने, खेती गर्न जान्यो भने व्यवस्थापन नजान्ने र बजारमा लगेर उचित मूल्यसमेत लिन नसक्ने भएकाले सम्बन्धित निकायले यसमा ध्यान दिनुपर्ने कृषक महतको भनाइ थियो । च्याउ खेती कृषकको सामूहिक समस्या पहिल्याउन र समाधान निकाल्न समूह भेलाको आयोजना गरिएको कृषक समूहका अध्यक्ष न्हुच्छेकृष्ण श्रेष्ठले बताए ।
भेलामा च्याउ उत्पादन गर्दा भएका समस्या र समाधानका लागि नेपालको वरिष्ठ च्याउ विशेशज्ञ डा. केशरीलक्ष्मी मानन्धरले किसानका जिज्ञासाबारे जानकारी दिएकी थिइन् । च्याउमा लाग्ने रोग, च्याउको खेती गर्दा अपनाउनु पर्ने तरिका र बजारीकरणका विषयमा समेत मानन्धरले कृषकलाई सचेतीकरण गरेकी थिइन् । उनले च्याउको बिउमै ध्यान पुर्‍याउनु पर्नेमा जोड दिइन् ।
काभ्रेमा पहिलोपटक केही समयअघि च्याउ उत्पादक कृषकको समूह गठन भएको हो । भेलामा जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत मधुसूदन पौड्याल, कृषि सेवा केन्द्र बनेपाका प्रमुख बलदेव केसी, जिल्ला कृषि सहकारी संघका अध्यक्ष दीपक जंगमलगायत कृषकले भोग्नु परेका समस्याबारे धारणा राखेका थिए । जिल्लामा कन्ने, गोब्रे र सिताके च्याउ उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया