राष्ट्रिय विभूति पासाङल्हामु


सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेर कीर्तिमान राख्ने सौभाग्य थोरै व्यक्तिले मात्र पाएका छन् । तिनैमध्ये पर्छिन्, पासाङल्हामु शेर्पा । जो नेपालकी छोरी हुन् । उनलाई सगरमाथामा पाइला राख्ने प्रथम नेपाली महिला मानिन्छ । राष्ट्रले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।
भाइबहिनी हो, प्रयास गरे असम्भव केही छैन । सगरमाथा चुचुरोलाई छुनु पनि पनि चानचुने कुरो थिएन । आठ हजार आठ सय ४८ मिटरको उचाइमा पुग्न पासाङलाई पनि धौ–धौ परेको थियो । उनले एकैपटक शिखरमा पाइला टेक्न सकेकी होइनन् । तीनपटकसम्म उनको प्रयास विफल भयो । चौथोचोटिमा उनले भनेकी थिइन्, ‘तीनपल्ट सगरमाथाको चुचुरोमा पुग्ने दृढ अठोट गरेँ तर सफल हुन सकिनँ । यसपल्ट फेरि अन्तिम अठोटका साथ असफलतालाई चुनौती दिँदै दृढ संकल्प लिएकी छु ।’ अन्तत: उनले सगरमाथा चढिछाडिन् । २०५० साल वैशाख १० गते उनले सगरमाथाको टुप्पोमा नेपालको राष्ट्रिय झन्डा फहराइन् । तर, दु:खलाग्दो कुरा, त्यसको केही मिनेटपछि उनको भौतिक चोला पनि सगरमाथामै विलय भयो । उनको शरीर आधा मिटर हिउँले छोपेको अवस्थामा १९ दिनपछि फेला पर्‍यो ।
पासाङल्हामुको जन्म २०१७ साल मंसिर १० गते सोलुखुम्बुको सुर्केमा भएको थियो । उनका बुबा फुर्बा कितार शेर्पा लाहुरे थिए र आमा आदी शेर्पा गृहिणी थिइन् । सानैदेखि पासाङ घरव्यवहारमा लागेकी थिइन् । घाँसपात, मेलापात गर्नेदेखि गाईबस्तुलाई सोतर काट्न वनसम्म जान्थिन् । सानैदेखि सफासुग्घर बस्थिन् । गाउन र नाच्ने कलामा पनि उनको सोख थियो । मेलापात गएका बेला उनी जुहारी खेल्थिन् । कलिलो उमेरमै उनले आफ्नो गाउँमा धेरै काम सिकिन् । कुटो, कोदाली, हँसिया, डोको, थुन्से र डाली बोकेर उनको बाल्यकाल अनि उकालीओराली, भीरपहरा हिँडेर किशोरावस्था बितेको थियो । उनले त्यतिन्जेलसम्म स्कुल देख बँेकी पनि थिइनन् ।
पासाङ हिउँद लागेपछि आँगनमा हिउँको थुम्को बनाएर चढ्ने गर्थिन् र गर्मीयाममा हिउँचुलीजस्ता पहाडका थुम्काथुम्की खोजीखोजी उक्लने गर्थिन् । त्यसै बेला उनले आफ्नी सखी कान्छी शेर्पालाई भनेकी थिइन् रे– ‘हेर् कान्छी, एक दिन म हिमालचुली पुग्छु ।’
पछि पासाङले ट्रेकिङलाई सोख बनाइन् । हिमाली पर्यटकलाई घुमाउँदै उनी एउटा होटलमा काम गर्न पनि थालिन् । मामाका साला लाक्पा सोनामसँग पासाङको अठार वर्षको उमेरमा प्रीति बस्यो । २०३६ सालमा बिहे भयो । अनि उनी आफ्ना पतिसँग काठमाडौं लागिन् । त्यसैबीच पासाङ र लाक्पाका दुई छोरी दावा, दिक्की र एक छोरा नामगेल जन्मे । उनका पतिले ट्रेकिङमा नाम चलाइसकेका थिए । पासाङको इच्छा पनि त्यही व्यवसाय नै थियो । पछि उनले युरोपको सबैभन्दा अग्लो ४,८४८ मिटरको माउन्ट ब्लक हिमाल चढिन् । त्योभन्दा अघि नै उनले मनाङको ६,०९१ मिटरको पिसाङ चुली चढिसकेकी थिइन् ।
सन् १९९० मा पासाङ सगरमाथा आरोहणका लागि उक्लेकी थिइन् । त्यस बेला उनी माथि जान सकिनन् । अर्को वर्ष फेरि उनैको नेतृत्वमा प्रथम नेपाली नारी दल सगरमाथातिर लाग्यो । त्यतिखेर मौसम साह्रै खराब भएकाले उनीहरू बीचैबाट फर्केका थिए । १९९१ सालमै अर्काचोटि पनि उनले मौसमकै कारण चुचुरो छुन पाइनन् ।
पसाङले सगरमाथा शिखरमा पाइला राखेर आफ्नो खुसी अरूसामु साट्न भने पाइनन् । उनको पार्थिव शरीरलाई राजधानी ल्याएर राष्ट्रिय सम्मानका साथ यात्रा गराइएको थियो । पासाङको निधनपछि उनलाई विभिन्न मानसम्मानबाट विभूषित गराइयो । उनी प्रदीप्त नेपाल तारा प्रथमबाट विभूषित भइन् । सरकारले उनलाई राष्ट्रिय विभूतिमा समावेश गर्‍यो । उनका नाउँमा हुलाक टिकट प्रकाशनमा आयो । त्यसपछि पासाङल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठान स्थापना भयो । उनको स्मृतिमा शिक्षण, सामाजिक र पर्वतारोहणबारेका संस्था पनि स्थापना भइरहे । सगरमाथा शिखरमा पाइला राख्ने प्रथम नेपाली नारी बनेकी उनी विश्वकी चाहिँ सत्रौँ नारी थिइन् ।

प्रतिक्रिया