इलाममा शिक्षा सम्बन्धी पुरस्कारबाट सम्मान

इलाम, २३ भदौ । राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा जिल्ला शिक्षा कार्यालय इलामले शिक्षा क्षेत्रमा योगदान गरेका विभिन्न विद्यालय, शिक्षक र विद्यार्थीलाई आज सम्मान गरेको छ ।
शिक्षा कार्यालयले दिवसका अवसरमा प्रवेशिका परिक्षा (एसएलसी) २०६८ मा इलामबाट सर्वोत्कृष्ठ अंक प्राप्त गर्ने संस्थागत र सामुदायिक विद्यालयका पाँच छात्र÷छात्रालाई सम्मानसहित पुरस्कृत गरेको हो ।
सामुदायिकतर्फका सर्वोत्कष्ठ छात्र महेन्द्रोदय उच्च मावि गजुरमुखीका उत्तम पोखरेल र छात्रा कन्काई उच्च मावि दानावारीका मनिता खत्रीलाई सम्मान गरिएको छ । सम्मानित विद्यार्थीलाई नगद एक हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
संस्थागततर्फका सर्वोत्कष्ठ छात्र ग्रीनभ्याली एकाडेमीका सन्देश चापागाईं र पुजन खड्का तथा सर्वोत्कष्ठ छात्रा प्रज्ञासदन इङ्लिस बोर्डिङ्ग स्कूल इलामका समीक्षा कार्कीलाई सम्मान गरिएको छ ।
शैक्षिक सत्र २०६८ मा शैक्षिक सूचाङ्कको आधारमा सर्वोत्कृष्ठ हुने संस्थागत तर्फका ग्रीनभ्याली एकाडेमी र सामुदायिक तर्फका प्याङ मावि प्याङलाई सम्मान गरिएको छ ।
दिवसकै अवसरमा जिल्लामा सञ्चालित विशेष कक्षा अन्र्तगत बौद्धिक अपाङ्गता श्रोत कक्षामा आया (हेरचाह र पालनपोषणमा सहयोग गर्ने) को काम गर्ने अमर उच्च माविका नविना लिम्बू र सुस्त श्रवण श्रोत कक्षा करफोक उच्च मावि पञ्चकन्याका रविन तिम्सिनालाई प्रशंसा पत्रसहित सम्मान गरियो ।
एसएलसी परीक्षा २०६८ का सर्वोत्कृष्ठ एक सहित उत्कृष्ठ चार केन्द्रध्यक्षलाई सम्मान गरिएको छ । फिक्कल उच्च मावि परिक्षा केन्द्रका केन्द्राध्यक्ष गंगाबहादुर महत सर्वोत्कृष्ठ केन्द्रध्यक्षको रुपमा सम्मानित भए ।
उत्कृष्ठ केन्द्रध्यक्षको रुपमा कन्काई उच्च मावि दानावारी परिक्षा केन्द्रका मोहनबहादुर खड्का, जितपुर उच्च मावि परीक्षा केन्द्रका खडानन्द अधिकारी, सूर्योदय शिक्षा सदन मंगलबारे परीक्षा केन्द्रका पदम राई र सिंहदेवी उच्च मावि आमचोक परीक्षा केन्द्रका केन्द्रध्यक्ष दधिराम लामिछाने सम्मानित भएको कार्यालयका निर्मल ढुङ्गेलले जानकारी दिए ।
शिक्षा मन्त्रालयबाट २०६८ मा शिक्षा क्षेत्रमा उत्कृष्ट काम गर्ने प्रावितर्फ बरबोटेस्थित दुर्गा प्राविका प्रधानाध्यापक जीतबहादुर कार्की, निमावितर्फ जनता मावि चिसापानीका धनबहादुर थापा, उच्च मावितर्फ जितपुरका शिक्षक छत्रबहादुर योङ्हाङ, विद्यालय व्यवस्थापन समितितर्फ बरबोटेकी बलिमाया घतानी, शिक्षाप्रेमी पुष्पा खाकी र कार्यालयका कर्मचारी निर्मल ढुङ्गेललाई राष्ट्रिय शिक्षा पदक प्रदान गरिएको छ ।
जिल्लास्थित सरकारी कार्यालयका दुई उत्कृष्ठ कर्मचारीलाई पनि सम्मान गरिएको छ । सवारी चालक छत्रबहादुर विष्ट र माबु श्रोतकेन्द्रका श्रोतव्यक्ति रोमनाथ शर्मालाई पनि सम्मान गरिएको हो ।

प्रतिक्रिया