सुबी चरी र झुम्राको पुतली

मलाई मेरी आमा अत्यन्तै महान् लाग्नुहुन्छ । यसोहुनुमा उहाँले पशुपन्छीको भाषा बुझ्नुहुन्छ भन्ने मेरो धारणा हो । उहाँ हरेक चरा र पशुको भाषा बुझ्नुहुन्छ भन्ने म ठान्थँे । उहाँको महानता मलाई सुनाइएका कथामा देखिन्छन् । अहिले म सानो छँदा मलाई सुनाउनुभएका कथा सम्झेर उहाँको महानताको कदर गर्छु । ती कथा मेरो बाल मष्तिस्कमा यसरी छापिएका छन् जो कहिल्यै मेटिन सक्दैनन् । ती कथा हाम्रै लोकगाथाबाट टिपिएका भए पनि उहाँको कथा बुनाइ अत्यन्तै राम्रो हुन्थ्यो ।
चैत–वैशाखको समय थियो । त्यो समय घाँसको खडेरी परेको हुन्थ्यो । त्यो साल ढिलोसम्म पानी परेको थिएन । हिउँद लागेदेखि नै जंगलमा घाँस खोज्नजाने क्रम निरन्तर चलिरहेको थियो । आमासँग जंगल घाँस लिन जानेमा म नै पर्थें । दिदी अलि ठूली भएकाले घरमा खाना बनाउन बस्नुहुन्थ्यो । चैत–वैशाखका ती उराठिला दिनमा म आमाको पछिपछि घाँस काट्न जंगल गएको हुन्थेँ । आमा भन्नुहुन्थ्यो, ‘अचेल लेकाली पनि घाँस खोज्न झर्न थालेका छन् । यिनीहरू झरेपछि जंगलको घाँस छिट्टै सकिन्छ ।’ लेकालीहरू को थिए, कस्ता हुन्थे भन्ने थाहा पाउन चाहिँ मैले निकै ठूलो हुनुपर्‍यो ।
मध्याह्न्नमा घाम अत्यन्तै चर्किएको थियो । बाँसको झाँग केही पहेँलिएका पात बोकेर निराशा सुसेलीरहेको थियो । चिलाउने, उत्तिस र सौरका बोट पात नभएर सुकेका ठूटाझँै देखिन्थे । धेरैबेर सिला गरेर आमाले मरीमरी एक भारी घाँस बटुल्नुभएको थियो । मलाई पनि दुई मुठा घाँस भएका थिए । निनी बाछी अघाउने घाँस लानु थियो मैले । एकछिन थकाइ मारेर जाने भनेर हामी ठूलो मलागिरी रूखको छहारीमा बस्यौँ । हेर्दा चिलाउनेजस्तै देखिने मलागिरी साँच्चै अजंगको दैत्यजस्तो थयो । मलाई ‘बजा लौरी डाँङडुङ’ को ‘खिर पाक ताउली’ दिने राक्षस यतैकता लुकेको होला भन्ने लाग्थ्यो । म एकदम डराएको थिएँ । डरलाई लुकाइरहेको पनि थिएँ । आमा भने निश्चिन्त देखिनुहन्थ्यो । म डराएको अघि नै अड्कल काटिसक्नुभएको रहेछ । मलाई बोलाएर काखमा राख्नुभयो । मेरो टाउको सुम्सुम्याउन थाल्नुभयो । त्यसैबेला मलाई आमाले सुबीचरीको कथा सुनाउनुभएको थियो ।
मलागिरीको एउटा सानो हाँगोमा बसेर त्यो चरी कराइरहेकी थिई । मलाई अनौठो लाग्यो । सोधेँ, ‘आमा, यो के करा’को ?’ ‘सुबी चरी हो नानी, ऊ खोलामा बगेर गएकी आफ्नी छोरीलाई बोलाइरहेकी छ †’
आमाले यति भनेपछि मलाई पनि चरीले ‘सुबी उठ र सुबी उठ,’ भनिरहेझैँ लाग्यो । सुबी कसरी खोलामा बगी त भन्ने जिज्ञासा पलाइहाल्यो । मैले आमालाई सोधेँ । जवाफमा आमाले सुबीचरीको कथा सुनाउनुभयो ।
म चुपचाप र उत्सुक मन लिएर कथा सुन्न बसेँ । आमाले कथा भन्न सुरु गर्नुभयो ।
‘उहिल्यै एकादेशमा सुबी भन्ने सानी तँ जत्रै केटी थिई । उसको बाबु थिएनन् । आमा मात्रै थिइन् । उसकी आमा साह्रै सोझी थिइन् र साह्रै गरिब पनि । गाउँमा बनीबुतो, ढिकीजाँतो गर्थी । सबै गाउँलेले उसलाई पनि माया गर्थे । सुबीलाई पनि सबैले उत्तिकै माया गर्थे । सुबी साह्रै राम्री थिई र चञ्चला पनि ।’
आमा भन्दै हुनुहुन्थ्यो, ‘एकपल्ट जेठसम्म पानी परेन । गाउँमा ठूलो खडेरी पर्‍यो । पानी नपरेपछि गाउँमा घाँस सकियो । गाउँलेले गाईवस्तुलाई हाल्ने घाँस भेट्न छाडे । घाँस नपाएपछि गाईले दूध पनि दिन छाड्यो । दूध खान नपाए’छि गाउँका सबै केटाकेटी बिरामी पर्न थाले । घरमै दूध नभएपछि सुबीलाई पनि कसैले दूध दिन छाड्यो । सुबी धेरै दुब्ला’की थिई । ऊ पहिलाभन्दा नराम्री भइसकेकी थिई । एकदिन अरूजस्तै ऊ पनि साह्रै बिरामी भई ।’
हाम्रो गाउँमा पनि बेलाबेलामा यस्तो महामारी फैलिन्थ्यो । गाउँमा केटाकेटी बिरामी भएर सोत्तरै भएको कुरा सुनिन्थ्यो । म पनि तीन वर्षको हुँदा साह्रै बिरामी भएको थिएँ अरे । तर जान्ने भईकन म बिरामी भएको थिएन । मेरा साथी भने बेलाबेला बिरामी भइरहन्थे । उपचार गर्न कसैकसैलाई जिल्ला सदरमुकाम लगेको कुरा गाइँगुईं सुनिन्थ्यो । सुबी पनि त्यस्तै बिरामी परिहोला भन्ठानेँ ।
आमा भन्दै जानुभयो, ‘गाउँमा सबै केटाकेटी बिरामी परेपछि गाउँलेले माईको पुजा गर्ने भए । गाउँले देवी रिसाएर पानी नपरेको भन्थे । देवीलाई खुसी बनाउन सबैले आ–आफ्ना छोराछोरी खोलामा बगाउनु पर्ने भयो । एकदिन बिहानै अरू आमासँगै सुबीकी आमा पनि सुबीलाई लिएर खोलामा गई र खोलामा बगाइदिई ।’
यसो भन्दा आमाको अनुहार पनि निकै आध्यारो भएको थियो । मलाई पनि नमज्जा लाग्यो । मलाई सुबीको धेरै माया लाग्यो । कथामा जल देउता आएर सुबीलाई बाहिर निकालिदिए पनि हुने भन्ने लागिरह्यो । तर, त्यो कुनै देवताको कथा थिएन । हाम्रैजस्तो मानव समाजको कथा थियो, लोककथा ।
‘सुबीलाई खोलामा बगाएर बेलुकासम्म ऊ त्यहीँ पर्खिरही । खोलामा बगेकी छोरी फर्केर आउँछे भनेर रातिसम्म पनि पर्खिरही । गाउँलेले झुम्राको पुतली बनाएर बगाएको उसले थाहा पाइनँ । उसले आफ्नी प्यारी छोरीलाई नै खोलामा बगाएकी थिई । छोरीको मायाले ऊ खोलाछेउको शिरीषको बोटमुनि बसेर रुन थाली । रात परेपछि पनि छोरी आइन । भोलिपल्ट बिहान हुँदासम्म पनि सुबी नआएपछि उसलाई साह्रै नराम्रो लाग्यो ।’
अनि के भो त आमा ? मैले बालसुलभ पाराले सोधेँ, ‘सुबीकी आमा दिनरात रुँदै सुबीलाई पर्खिरही । ऊ त्यही शिरीषको रुखमुनि बसेर खोलातिर हेर्थी र ‘सुबी उठ, सुबी उठ’ भन्दै रोइरहन्थी । रुँदारुँदै एकदिन ऊ त्यहीँ मरी । मरेपछि ऊ चरी भई । त्यही चरी आज पनि खोला छेउछाउमा सुबी उठ र सुबी उठ † भन्दै कराइरन्छे ।’
कथा सकिँदा मेरा आँखामा छचल्किएको आँसु पोखिइसकेको थियो । हेरेँ, आमाको मुहार पनि सुबीको मायाले भावुक भएको थियो । धरै वर्षपछि अचेल सुबी चरी कराएको आवाज सुन्दै छु । कीर्तिपुरमा मेरो डेराअगाडि बिजुलीको पोलमा त्यो चरी कराइरहेकी हुन्छे । सोच्छु, आजसम्म पनि सुबी उठेकी छैन । अब कहिल्यै उठ्ने छैन ।

प्रतिक्रिया