सांगीतिक जगत्का अम्बर

म अम्बर हूँ तिमी धर्ती
लाखौँ कोसिस गरे पनि
हाम्रो भेट नहोला…

लेँटी श्रृंखलामा संगीतकार अम्बर गुरुङले यो गीत गाउँदा सबैजना एकदम भावुक भए । स्रोता खचाखच थिए । आफ्नो बुढेसकालले गर्दा आफूमा उत्पन्न कमजोरीका बाबजुद पनि उनी जोसिलो प्रस्तुति दिइरहेका थिए । स्रोताहरू उनलाई सुन्न एकदम आतुर थिए । कुनै व्यक्ति कुशल गायक बन्न सक्ला, संगीतकार बन्न सक्ला, गीतकार बन्न सक्ला तर यी तीनै चिजको संगम ‘त्रिवेणी’ बन्न सक्ने सांगीतिक इतिहासभित्र औँलामा गन्न पाइन्छन् । हो, यस्तै दुर्लभ स्रष्टामा पर्छन् अम्बर गुरुङ ।
‘पहिला पहिला तरुनीहरू देख्दा गीत गाउन मन लाग्थ्यो तर अहिले उनीहरूलाई नातिनी भन्नुपर्छ । समय खुब बलवान् रहेछ,’ उनले आफ्नो वँैशको अनुभूति सुनाउँदा सबै स्रोताको मन रुमानी भएछ क्यारे त्यसैले हल हाँसोले गुञ्जियो । कालजयी सिर्जना–संगम अम्बर गुरुङले गीत–संगीतसँग जोडिएका आफ्ना तिता–मिठा अनुभव निक्कै नै रमाइलो पाराले स्रोतामाझमा सेयर गरे । धेरै कालजयी गीतमा संगीत प्रदान गरेका उनी निक्कै रसिक स्वभावका संगीतज्ञ हुन् । तर, यत्तिमा मात्र उनको परिचय सीमित छैन् । उनी चर्चित संगीतकारका जन्मदाता पनि हुन् । औँलामा गन्नै पर्दा– गोपाल योञ्जनदेखि कर्म योञ्जन, शान्ति ठट्टाल, अरुणा लामा, शरण प्रधान, पिटर कार्थक, इन्द्र गजमेर, जितेन्द्र बर्देवा, रञ्जित गजमेर, आभाससम्म उनकै संगीतका उत्तराधिकारी हुन् भन्दा फरक नपर्ला ।
पलँेटी उत्सवको शृंखलामा उनले अर्को सुमधुर र मर्मस्पर्शी गीत गाए जसलाई अगमसिंह गिरीले रचेका थिए । यो गीत भारतमा बसेर दु:ख भोगिरहेका नेपालीको नाममा समर्पित थियो । ‘नौलाखे तारा उदाए, धर्ती र आकाश हाँसेछ । शरद लाग्यो वनैमा फूलले पिरती गाँसेछ’ गीत गाउने सिलसिलामा उनले आफू दार्जिलिङबाट नेपाल आउँदाको नौलो अनुभव सुनाए, ‘हरिभक्त कटुवाल, शंकर लामिछाने, भूपी शेरचन र उत्तम कुँवरको कारणले म काठमाडांैमा टिक्न सकेँ । उहाँहरू बितेर गए पनि म एकदम अनुगृहित छु र यही सांगीतिक माहोलमार्फत सम्झन चाहन्छु ।’ कार्यक्रममा उनले रत्नशमशेर थापाले लेखेको ‘मलमली घुम्टो शीतको’ बोलको गीत गाउँदा उनीसँगको मित्रताको मार्मिकता छताछुल्ल भएको थियो ।
गीत कस्तो हुन्छ ? ‘गीतमा खुब सुमधुर रोमान्स छचल्किएको हुन्छ,’ भन्ने यी महान् स्रष्टा गायक नारायण गोपालका अनन्य मित्र थिए । नारायण गोपालले गाएको गीत ‘पोखिएर घामको झुल्का…, उनले गाउँदा नारायण गोपालसँगको आफ्नो सम्बन्धबारे उनले भने, ‘नारायणजीसँग मेरो पहिलो भेट दार्जिलिङमा भएको थियो । पछि काठमाडांैमा आइपुगेपछि भेटघाट बाक्लियो । हामीबीच पारिवारिक सम्बन्ध थियो । उनी मलाई प्रभावशाली कम्पोजर ठान्थे म उनीलाई महान् गायक । हामी एकअर्काको तारिफ गरेर कहिल्यै थाक्दैनथियाँै । यही सांगीतिक कार्यक्रममार्फत उनलाई श्रद्धाञ्जली अर्पण गर्दछु,’ यसो भन्दाभन्दै उनी निकै भावुक देखिए । सायद, आँखाका चेपमा आँसु टिलपिल गर्दै थिए । अम्बर गुरुङद्वारा रचित ‘मेरो आँखालाई राख्ने फूलबारी छैन्, तिम्रो मुहारमा राखाँै कि’ यो कालजयी गीत नारायण गोपालले गाएका थिए ।
धेरैजसो नेपाली गीत–संगीत विदेशी संगीतद्वारा प्रभावित छन् तर अम्बर गुरुङको सन्दर्भमा ठ××याक्कै उल्टो परेछ । उनको कम्पोज– ‘हे कान्छा मलाई सुनको तारा खसाइदेऊ न’ गीतको धुन मन पराएर हिन्दी चलचित्रको गीतमा राखेछन् त्यसलाई यसरी– ‘दिवाना मुझसा नही इस अम्बरके नीचे…।’
उक्त गीतबारे उनको रमाइलो अनुभव रहेछ । उनले भने, ‘मेरो धुन चोर्नेलाई मुद्दा हाल्न धेरैले सुझाव दिए तर मसँग पैसा थिएन । त्यतिबेला मेरो छोराले भन्यो बुबा चिन्ता नगर्नुहोला । कमसेकम यो गीतमा तपार्इंको नाम त रहेछ नि ।’
अरुणा लामाले गाएको मर्मस्पर्शी गीत, ‘पोहोर साल खुसी फाट्यो …’ गीत गाउँदा उनले आफ्ना पुराना दार्जिलिङका दिनका सम्झनाहरू साटे, ‘म दार्जिलिङलाई सधँै सम्झिरहन्छु जहाँबाट मैले सांगीतिक यात्राको सुरुवात गरँे ।’ गोपालप्रसाद रिमालद्वारा रचित, ‘रातो र चन्द्र सूर्य …’ उनले धुमधाम जोसका साथ गाए । त्यस गीतको पृष्ठभूमि यसरी बताए, ‘मलाई यो गीत एकदम सशक्त लाग्छ । यसलाई मैले पन्ध्र मिनेटमै कम्पोज गरिसकेको थिएँ ।’ त्यसपछि उनले अर्को श्रुतिमधुर गीत सुनाए, ‘सम्हालेर राख, सँगालेर राख, साँचीसाँची राख, नखसाई राख, फेरि फुल्ने हो कि होइन मायालुको फूल ।’
अहिलेको राष्ट्रिय गानको संगीतकारसमेत रहेका अम्बर गुरुङ बहुमुखी प्रतिभाका धनी हुन् । उत्सवमा उनले संगीतविषयमा यसरी आफ्नो विचार राखे, ‘यो साधना हो । मेहेनत र त्याग गर्दा मात्रै संगीत साधनामा पूर्णता हासिल गर्न सकिन्छ नत्र गाह्रो हुन्छ । सजिलोलाई गाह्रो बनाउन अप्ठयारो छैन तर गाह्रोलाई सजिलो बनाउन एकदम अप्ठयारो छ ।’ धुमधाम सांगीतिक माहोल छाइरहे पनि समयले नेटो काट्दै गएपछि अन्त्यमा उनले फूलको जोवनबारे मिठो गीत यसरी गाए, ‘फूलको जोवन रूप हो मेरो जोवन शीत हो, हारे पनि जिन्दगीमा प्रीत एक जित हो । संसारले गाउन खोज्ने जीवन एक गीत हो ।’
सत्तरी वर्ष काटिसकेका यी मूर्धन्य संगीतसाधकको जोसलाई शारीरिक अशक्तताले थला पार्न सकेन । त्यसैले अहिलेसम्म पनि उनी साधनारत छन् । नेपाली कला प्रतिष्ठानको सांगीतिक कार्यभार सम्हाल्नका लागि राजा महेन्द्रले उनलाई काठमाडांै ल्याएका थिए । उनले त्यहाँ लगभग तीस वर्षसम्म संगीत निर्देशकका रूपमा काम गरे । उनलाई नेपाली संगीतका पिता भन्ने गरिन्छ जसले पश्चिमी संगीत विधिलाई नेपाली संगीतमा भित्र्याए । उनले हजारभन्दा बढी गीत लेखेर संगीत प्रदान गरेका छन् । हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिको कार्यभार सम्हालिरहेका उनले पहिलो नेपाली पाश्र्वगायन कम्पोज गरेका थिए । उनले ‘मालती मङ्गले’, ‘मुना मदन’ र ‘कुञ्जिनी’ जस्ता कृतिमा आधारित प्रथम नेपाली ओपेराहरू पनि कम्पोज गरेका थिए ।
बाल्यकालदेखि नै संगीतप्रति आकर्षित भएका उनले संगीतको स्वअध्ययन गरेका हुन् । उनले आफैँ भायोलिन, गितार, पियानो, म्यान्डोलिन, तबलालगायत धेरै बाजा बजाउन सिके । साहित्यप्रति पनि उत्तिकै लगाव छ भन्ने तथ्य उनको ‘कहाँ गए ती दिनहरू’लाई म सम्झिरहेको छु, जहाँ उनका जीवनका कोलाजहरू पाइन्छन् ।
उनको पलेँटी शृंखलाले मलाई गलाउँछ र अनायास डायरीमा लेख्छु, आजको नेपाली संगीतको विकास अम्बरकै अनन्त त्याग र समर्पणको देन हो ।

प्रतिक्रिया