घनचक्करका चक्कर

२०६३ सालमा मेरो पहिलो उपन्यास ‘घनचक्कर’को प्रथम प्रकाशनपछि उपन्यास बुझ्न गाह्रो भयो, पढ्दा पढ्दै आफैँ घनचक्करमा परियो भन्ने किसिमका पाठक–प्रतिक्रिया आए । उक्त कठिनाइ कथानकको विषयवस्तु र शैली दुवैका कारणले भएको हो कि जस्तो मलाई लाग्छ । पागलपनलाई अझसम्म बुझ्न सकिएको छैन, यो विषय आफैँमा जटिल र घनचक्करमय छ । पागलपनको कथा सुनाउने कथावाचक सद्दे भएको, भए पाठकहरूलाई जटिलताको आभास शायद कम हुन सक्थ्यो होला । तर, यस उपन्यासको ‘म’ पात्र रहेको कथावाचक आफैँ असामान्य मनस्थितिमा भएकाले उसको दृष्टिले हेर्दा संसार ‘उलटपुलट’ देखिन्छ, कुनै कार्टुनिष्टले संसारलाई उलटपुलट पारेर हेरेझैँ । बैरागी काइँलाको ‘मातेको मान्छे’को भाषण र कार्टुनिष्टहरूका उलटपुलट संसारमा जस्तै पागलको दृष्टिले हेर्दा पनि संसार तलको माथि र माथिको तल देखिन्छ । उक्त संसारमा तथ्य कल्पनासँग मिसिन्छ भने इतिहास औपन्यासिक आख्यानसँग । फलस्वरूप देशका नेता कहिले प्याजका डल्ला जस्ता लाग्छन् भने कहिले गुच्चा खेल खेलिरहेका बालकहरूझैँ ।
नयाँ संस्करणमा भाषालाई अझै परिस्कृष्ट गर्ने प्रयत्न गरेको छु । केही नयाँ कथावस्तु पनि थपिएका छन् । यसले गर्दा मूल कथा पुरानै रहे तापनि पाठकहरूले उपन्यासमा नयाँ स्वाद भेट्नुहोला भन्नेमा विश्वस्त छु । अहिलेको युग पुनर्लेखनको युग हो । कथा, उपन्यास, फिल्म आदिको मात्र पुनर्लेखन भइरहेको छैन, विश्वास र मान्यतादेखि लिएर राजनीतिक तथा सामाजिक संरचनासमेत सबै पुनर्लेखनको बाटोमा उन्मुख छन् । घनचक्करको नयाँ संस्करणले पुनर्लेखनको त्यस अविरल प्रक्रियालाई समेत दर्शाउनेछ भन्नेबारे विश्वस्त छु ।
घनचक्करको प्रथम ड्राफ्ट २०६२/०६३ को जनआन्दोलनको सेरोफेरोमा लेखिएको थियो । प्रथम प्रकाशनका समयमा समेत आन्दोलनको धङधङी अझै बाँकी नै थियो । अहिलेको स्थिति निकै बदलिएको छ । परिचयको राजनीति चलेको अवस्थामा जनजाति, दलित, मधेसी, नारीलगायतका अन्य सबै सीमान्तकृत समूहका आ–आफ्ना हक र अधिकारबारे सचेत भएका छन् । विभिन्न व्यवधानका बाबजुद राष्ट्र संविधान निर्माणको बाटोमा उन्मुख छ । तर, यो सबका बाबजुद अझ लागिरहेकै छ– शायद राष्ट्रका चक्करहरू अझै ससिँकएका छैनन् । सायद समाजमा पागलपनहरू अझै विद्यमान नै छन् । अर्को आशंका पनि छ– के यस्तै हुँदै देशमा पुन बितन्डा मच्चिने त होइन ? इतिहासको चक्र घुम्दा घुम्दै एकपल्ट फेरि पुरानै ठाउँमा आइपुग्ने त होइन ? घनचक्करका अन्तहीन माकुरे जालाहरू पुन: फैलँदै जाने त होइनन् ?

प्रतिक्रिया