इमर्जेन्सी बाग्लुङ

बाग्लुङ सानो छैन, यो पश्चिमतिर झन् बढी तन्केको छ । तर यसको सदरमुकाम सुदूरपूर्व कालीगण्डकीको किनारमा छ । जनतालाई पायक पर्ने गरी बीचमा सदरमुकाम किन नराखिएको होला ? पहिलोपल्ट बाग्लुङ पुग्नेको दिमागमा यसै प्रश्नले झट्का मार्छ । करिब दुई दिनको छोटो बसाइमा यस सानो नगरीमा कुनै खास उल्लास देखिनँ मैले । हो, बजारमा व्यापार चलिरहेको छ, गाउँमा गरिबीले निष्कण्टक राज गरेको छ । बजार आउँदा गाउँलेका अनुहारमा झल्कने पीडा र तिनका लवाइखवाइमा त्यो दुर्धर्ष गरिबी देखिन्छ । यदाकदा विदेशी र बेलाबेला पोलियो थोपा, संगिनी तीन महिने सुई अनि हातमा ‘प्राथमिक उपचार बाकस’ लिएर ‘विकास’ त्यहाँ पसेपछि केही ‘चेतना’ पक्कै थपिएको छ । ‘विकास’ भनेको राम्ररी बुझेका छन् बाग्लुङका गाउँलेले तर कुनै आयोजनाबाट हुने आम्दानीका रूपमा मात्र । कहिलेकाहीँ त उनीहरू राम्ररी खान/लाउन पाउनुलाई विकास भन्छन् ।

मेरो मन ‘अ थाउजन्ड स्प्लेन्डिङ सन्स’मा अल्झेको छ । खालेद होसेनीको त्यो दोस्रो किताबमा अफगानी समाजका महिलाको दु:खले मेरो मन बडो दुखेको थियो । कथाले गम्भीर मोड लिँदै छ । तन्नेरी तारिकासँग जिन्दगीको रमाइलो सपना देखिरहेकी टिनएजर लायलाका सपनाको तार चुँडिन्छ । घरमा अचानक बज्रिएको बमले बाबुआमाको मृत्यु भएपछि लायला टुहुरी हुन्छे । नियतिले गर्दा ऊ बाबुकै समवयी क्रूर वृद्धसँग विवाह गर्न बाध्य हुन्छे ।
यो कथा पढेपछि अफगान पुरुषहरूप्रति मलाई असाध्यै रिस उठेको छ । ‘बुर्तिबाङ – बाग्लुङ’ लेखिएको बसले आफ्नै रफ्तारमा काठमान्डुबाट बाग्लुङ लैजाँदै गर्दा म यो सब सम्झन्छु । सिसाबाट बाहिर हेर्छु, धुपी र सल्लाका कोणधारी रूखहरूले ओगटेका अग्लाअग्ला पहाड हामीसँगै यात्रा गरिरहेछन् । तर, दिमागमा खालेद होसेनीको किताबले थुप्रै विनिर्माणका भ्रूण रोपिदिएको छ । मेरा अघिल्तिर लामो दाह्री पालेको, कैलो कपाल पालेको साथी छ– अकृन । निकै बेर ऊसँगै बसेको अर्को साथी राजेश बरालसँग गफगाफमा सहभागी भयो । जब, तनहुँको पट्यारलाग्दो यात्रा सुरु भयो, ऊ निदाउन थाल्यो । पोखरा पुगेपछि माछापुच्छ्रे हेर्ने उसको ठूलो सपना थियो । त्यसैले ब्युँझाउन उसको लामो दाह्री नै तान्नुपर्‍यो । आज माछापुच्छ्रेमा बादल लागेको थियो । मैले बसको सिसाबाट जिराफझैँ घाँटी तन्काएर हेरेँ । धमिलो बादलको थुप्रोभित्र मस्त निदाएको थियो माछापुच्छ्रे । पोखरालाई छाडेर उत्तर–पश्चिमतिर लागेपछि मनले खालेद होसेनीलाई बिर्संदै गयो । ‘पोखराको वातावरण साह्रै नै बिग्रेको रहेछ,’ खुलेको माछापुच्छ्रे हेर्ने चाहना पूरा नभए पनि अकृन बोल्नचाहिँ बोल्यो । हामीसँगै यात्रा गर्दै छन्– चित्रकारहरू अनिल बस्नेत, रवीन्द्र खनियाँ र फोटोग्राफर महेश ।
खलासीले ‘चियासिया खानोस्’ भनेर बस रोकेपछि ओर्लंदा वातावरण चिसो थियो । यता कुहिरोको दबदबा छ । आज पोखरामा पानी पर्छ होला । उता काठमान्डू उदास होला कि नहोला ? काठमान्डूको पोलिटिक्स र जनता त सधैँ उस्तै उदास त छन् नि †
चिसो लुम्लेले हामीलाई तातो चियासाथ स्वागत गरेको थियो । नेपालको प्रकृति नै उस्तै, एक छिनअघिसम्म उष्ण वातावरणमा थियौँ, एकैछिनमा लेकमा, कस्तो रोमान्टिक † पर्वत पुग्दा यतै घर भएका साथी संगीतश्रोताको सम्झना आयो । वामपन्थी विचार राख्ने उनी पर्वत पत्रकार महासंघ शाखाको अध्यक्ष पनि हुन् । उनी यहीँ भएका भए पक्कै घर लैजान्थे र ठट्टा गरी–गरी साथीहरूलाई घोचपेच हानिरहन्थे । जसरी अचानक पर्वत पुगेपछि मैले संगीतजीलाई गरेको फोनमा उनले अकृन सम्झँदै भनिहाले– ‘हुन त त्यो मण्डले हो तर पनि मेरो लालसलाम सुनाइदिनू ।’ अकृन मस्त हाँस्यो, मलाई उसको यही हाँसो मनपर्छ ।
पर्वत हुँदै बाग्लुङ पुग्दा साँझको ४ बजेको थियो । हाम्रो ६ जनाको टोलीलाई रिसिभ गर्न आइपुगेका कवि दिल शिरीषले पहिले नै होटलको चाँजोपाँजो मिलाइसकेका रहेछन्– धवलागिरि समिट होटलमा । होटल भव्य थियो र निकै सफा । ‘यत्तिको कोठा भए चल्दैन त
पत्रकारज्यू ?’ कोठा पसेपछि अकृनलाई सोधेँ ।
‘तिमीबाहेक हामी सबैजना यो यात्राभरि आफ्नो परिचय चित्रकार भनेर दिन्छौँ’, बेलाबेला आफूलाई ‘वरिष्ठ’ चित्रकार दाबी गर्ने अकृन बोल्यो । मबाहेक उनीहरूको टोलीले अबको तीन दिन ट्रेनिङ सञ्चालन गर्नुथियो स्कुलमा, चित्रकलाको ।
हामी काठमान्डू र बाग्लुङलाई दाँजेर बेकारका शब्द खर्चिरहेका थियौँ । तर, काठमान्डूबाट बस चढेदेखि नै साह्रै थोरै बोलेका थिए राजेश । सायद कम बोल्नु नै उनको विशेषता थियो । हामीलाई त वर्षौं सिलाइएको मुख भर्खर कसैले खोलिदिएजस्तो भएको थियो ।
सुस्त गतिमा अगाडि बढिरहेथ्यौँ । डाँडाले घेरिएको बाग्लुङ मलाई उस्तो नौलो र अधिक उत्तेजित हुनुपर्ने नयाँ सहर लागेन । न औधी राम्रो न त नराम्रो । साँच्चै भनौँ– बाग्लुङ देखेर ममा नयाँ होइन, उस्तै अनुभूति आइरहेको थियो, जस्तो काठमान्डूमा आउँथ्यो । अकृन भनिरहन्थ्यो– ‘ठाउँ जस्तो भए’नि यात्राचाहिँ निकै रमाइलो हो ।’ म सहमतिमा टाउको हल्लाउँथेँ ।
बाग्लुङको विम्बसँगै मिसिएर आउने दुई नाम छन्– प्रेम छोटा र काजी रोशन । यी दुई नामसँग मेरो परिचय छैन । तर, किन हो, मलाई यी नाम साह्रै प्रिय लाग्छन् । सायद, साहित्यिक भएर होला । ‘काजी र प्रेमसँग तपाईंको परिचय छ ?’ दिल शिरीषले सोधे ।
‘छैन, अहिलेसम्म भेट्ने मौकै जुरेन । बाग्लुङ नै पहिलोपटक आउँदै छु ।’ होटलबाट बाहिर निस्किँदा अँध्यारो भइसकेको थियो । सायद, कुनै उदासीमा चुर्लुम्म डुबेको थियो बाग्लुङ । प्रेम छोटालाई भेट्न हामी पुरातात्त्विक सहरको पश्चिमपट्टि लाग्यौँ । उनीसँगको परिचयमा लाग्थ्यो, उनी निकै उत्साहित छन् । कवि श्यामलको नाम लिएर ‘हामी एउटै पत्रिकामा काम गर्छौं’ भन्दा उनी झनै उत्साहित बनेका थिए । र, काठमान्डूको हालखबर सोध्दै थिए । बाग्लुङको साहित्यिक गतिविधिको संक्षिप्त परिचयपछि हामी सहरमा निस्कियौँ । बत्ती झ्याप्प जाँदै/आउँदै थियो । अँध्यारो गल्लीमा आफ्नो किराना पसलमा चर्चित कवि काजी रोशन धुम्धुम्ती बसिरहेका भेटिए । प्रेम छोटाभन्दा केही लजालु र थोरै बोल्नुपर्ने स्वभावका रहेछन् काजी । उनको सिर्जनात्मक लेखन र साहित्यिक गतिविधिबारे दिल शिरीषले पछि सुनाए । निकै रातसम्म हामीले चित्रकलाबारे कुरा गरिबस्यौँ । चित्रकलाका उत्साहित युवाहरूले भर्खरै गठन गरेको आकार (द आर्ट गु्रप) समूहको नेतृत्व गरेको थियो अकृनले, जहाँ उनीहरूले स्कुलका साना नानीहरूलाई चित्रकलाबारे आधारभूत शिक्षा दिनुथियो । बिहान सबेरै निद्रा ब्युँझियो । बाग्लुङ अझै सुतिरहेको थियो, मस्तसँग । मेरो बेडनजिकैको झ्याल खुला थियो । बाहिर दुई/चार कुकुर भुकिरहेका थिए– गुड मर्निङ बाग्लुङ † म पनि उत्तेजनामा चिच्याएँँ– गुड मर्निङ धवलागिरि †
०००
विपन्नता हाम्रो नियति नै हो । बाग्लुङ सहर केही सम्भ्रान्त देखिए पनि यहाँका काला पहाडमा उही दरिद्रता पाइन्छ, जस्तो अरू जिल्लामा पनि देखिन्छ । सायद कुनै जमानाको बलियो बाग्लुङका गाउँ आज शक्तिहीन बन्दैछन् । आत्मविश्वास गुमाएर र एक्लिएर बसेका यहाँका बासिन्दा कठोर परिश्रम गर्छन् र भन्छन– ‘यहाँ बाँच्न नंग्रा चाहिन्छ ।’ कालीगण्डकी नदीमाथिका डाँडातिर नजर सोझ्याउनुस् त, त्यहाँ देखिन्छन– झ्याल नभएका सानासाना झुपडी । त्यहाँभित्रको धुवाँबाट फुस्रिएका, ठाउँठाउँमा टालिएका कपडा पहिरेका र गरिबीले चिथोरेकाहरू सदरमुकाममा विरलै देखापर्छन् । यहाँको सरकारी स्कुल कालिका कन्या माविको भ्रमणमा मैले त्यही देखेँ । कम्तीमा ६ ठाउँमा टालेको सर्ट लगाएका, नाकबाट सिँगान चुहाइरहने र १० पत्रे मयल जम्मा भएका केही साना नानी यता र उता गरिरहेका । मेरो हातमा पेन्सिलको मुठो देखेपछि उनीहरू झुम्मिएका थिए । सबैलाई पेन्सिल दिनु सम्भव थिएन । भएजत्तिको पेन्सिल बाँड्दा पनि पुगेन । बडो आशायुक्त नजरले ती नानीहरू मलाई हेर्दै थिए । उदास अनुहार लिएर चुपचाप त्यहाँबाट हिँड्नुअघि मैले भावुक बनेर एक सानी नानीको माथमा म्वाईं खाएको थिएँ । उ कत्ति खुसी भएकी थिई †
९ कक्षा पढ्ने कल्पना लामालाई सोधेको थिएँ– यहाँ पर्यटक कत्तिको आउँछन् ? ‘ए अम्रिकानेहरू त लुम्लेसम्म मात्रै आउँछन् वा मुस्ताङ जाने गरी आउँछन्, बाग्लुङमै बस्ने गरी आउँदैनन् ।’ सायद अरू नानीहरूजस्तै लामा पनि सबै पश्चिमी गोराहरूलाई ‘अम्रिकाने’ भन्छिन् । यदाकदा विदेशीहरू र बेलाबेला पोलियो थोपा, संगिनी तीनमहिने सुई अनि हातमा ‘प्राथमिक उपचार बाकस’ लिएर ‘विकास’ त्यहाँ पसेपछि केही ‘चेतना’ पक्कै थपिएको छ भन्छिन् लामा । ‘विकास’ भनेको राम्ररी बुझेका छन् बाग्लुङका गाउँलेले तर कुनै आयोजनाबाट हुने आम्दानीका रूपमा मात्र । कहिलेकाहीँ त उनीहरू राम्ररी खान/लाउन पाउनुलाई विकास भन्छन् । जस्तो– ‘श्यामले सहरको कुनै एनजीओमा जागिर पायो, अब उसले विकास गर्ने भयो ।’
पश्चिमाले वा काठमान्डूले गाउँलेका अनुहारमा देख्ने मुस्कान केबल सांस्कृतिक अभ्यस्तता हुनसक्छ । सुखी देश, हँसिला मानिस र सुखद संयोगबारे ठुल्ठूला निष्कर्ष निकाल्नका लागि त्यो मुकुण्डो सही आधार होइन । मलाई लाग्यो, नेपालमा गरिबीको जरो जातपात, ज्यादै कम स्रोतसाधन, उच्च जनघनत्व, खल्डयाङ–खुल्डुङे भूगोल र शोषक–शासनमा छ । नेपालीले १०४ वर्षे राणा शासन भोग्नुपरेको घटना नै पुरानो भएको छैन, जसमा दरिद्र जनताको सम्पूर्ण उत्पादन एउटा ठूलो परिवारको हातमा जान्थ्यो । शताब्दीसम्म राणाहरूले देशको बागडोर आफ्नै लागि मात्र सम्हाले । उता विगत तीस वर्षको निरंकुश पञ्चायती कालले आधुनिक शासनका केही संस्थागत संरचना निर्माण त गर्‍यो तर तिनलाई सफल बनाउन सकेन । परिणाम– नेपालका गरिब गरिब नै रहे । र त म अहिले बाग्लुङलाई पनि त्यस्तै गरिब देखिरहेछु । अनि, देखिरहेछु, गाउँबाट नजिकको बजार छिरेका दु:खी ग्रामीण आत्माहरू । गाउँलेहरूसँग धेरै कुरा भए– राजनीति, विकास र गाउँका बारेमा । मलाई भित्रभित्रै असजिलो अनुभव भइरहेको थियो । गाउँलेहरू त सानासाना विकासे कार्यक्रमले प्रदर्शन गर्ने सानासाना सहयोग, सामान्य अहेबले दिने सद्भाव र स्नेहले थिचिएका थिए ।
०००
पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरि अञ्चल सदरमुकामको रूपमा थपक्क बसेको बाग्लुङ झोलुंगे पुलको जिल्लाको उपनामले समेत परिचित छ । यो जिल्ला झन्डै नेपालको नक्सासँग मिल्दोजुल्दो आकारमा पूर्व–पश्चिम फैलिएको छ । कुल १७८४ वर्ग किलोमिटर क्षेत्रफलमा एउटा नगरपालिका र ५९ गाविस छन् । बाग्लुङलाई किन सोह्र हजार पर्वतको नामले पुकारियो, मलाई थाहा छैन । एकीकरणपूर्व यो चौबीसे राज्यअन्तर्गत पथ्र्याे, जुन समयमा कोटकोटबाट भूरे–टाकुरे राजाले राज्य चलाउँथे । यो जिल्लाअन्तर्गत पर्ने गल्कोट, बिहुँकोट, संसारकोट, अर्नाकोट र माझकोट प्रसिद्ध छन् ।
चौधौँ शताब्दीमा जुम्लामा राज्यविस्तार गर्ने क्रममा वि.सं १४२९ तिर मलेबम जुम्लाको राजगद्दीमा बसेपछि पूर्वतर्फका धेरै राज्य जिते । बाग्लुङका निसेल भुजेल भन्ने चार हजार पर्वत इलाकामा त्यस बेला मगरहरूको रजाइँ थियो । रुकुममा मलेबमका छोरा पीताम्बर र नाति जैतुबमले शासन चलाएका थिए । मगर राजाहरूले यस जिल्लाको राज्य प्रभावकारी रूपमा सञ्चालन गर्न रुकुमको राजधानी गोथाममा गई राजा जैतुबमका आठ भाइ राजकुमारमध्ये एउटा मागे । राजाले जेठा छोराबाहेक बाँकी भाइमा रोजेर लाने आज्ञा दिए । राति सुतेको ठाउँमा हेर्न जाँदा माहिला राजकुमार आनन्दबमको शिरतिर बढेको देखेर उनलाई पिठ्युँमा बोकेर भुजेलहरूले पर्वतमा ल्याए । पर्वतेहरूले यी राजालाई तीन नामले पुकार्थे । गोथामबाट ल्याएकाले गोथम्ब, पिठ्युँमा बोकेर ल्याएकाले पिठम्ब र वास्तविक नाम आनन्द राजा । उनका साथमा मुडुला कार्की, रुचाल तथा पौडेलहरू पनि आएको किंवदन्ती छ । वि.सं १५१० तिर आनन्दबम सोलेपार पर्वतका राजा बने । त्यस बेलासम्म पनि गल्कोट, बिहुँकोट र चन्द्रकोटमा भुरे राजाहरूले राज्य गर्थे । बलेवा र बाग्लुङ माझकोटअन्तर्गत र थन्थाप चन्द्रकोटअन्तर्गत थिए ।
०००
म सबै साथीलाई छोडेर एक्लै काठमान्डू फर्किनु थियो । माइक्रो कालीगण्डकीलाई पूर्व पारेर हुइँकिन थाल्यो, माथि थुम्कोमा बसेको बाग्लुङलाई बिदाइको हात हल्लाएँ । यात्रु मौन थिए । मेरो मौनताको कारण आफ्नै थियो– बालेटमा भात खान पुग्ने पैसा थिएन † जब बस खाजा खान रोक्थ्यो, म एक बोतल पानी किन्थेँ र बसको पछिल्लो सिटमा पेट च्यापेर बस्थेँ । यात्रुका नजरले चिथारिरहेझैँ लाग्थ्यो– को होला, यो हरितन्नम † विस्तारै बाहिरको ‘सुन्दर’ दृश्य पनि कुरूप लाग्न थाले । सायद गरिबहरूले सुन्दर प्रकृतिका बीच पनि सधैँ दु:खी भइरहनुपर्नाको कारण उही हो– भोको पेट ।

प्रतिक्रिया