यिनी हुन् मेरा बब मार्ले

एक सूत्रीय हिसाबले त नभनौँ तर पनि म झन्डाशेखर दाहाललाई नित्य रूपमा खोजिरहेको छु । कोलम्बसले अमेरिकाको खोजी गरेजस्तो पूर्ण तन्मय र अभियानमुखी ढंगले होइन, मैले नितान्त साथीत्वको हिसाबले उनको खोजी जारी राखेको हुँ । विगत केही वर्षदेखि नै । मेरा नजरमा उनी मोस्ट वान्टेड व्यक्ति हुन् । न फोन सम्पर्क छ, न डेराको अत्तोपत्तो । पहिला मैतीदेवीमा बस्थे, सपरिवार । थाहा छैन, अहिले कहाँ बस्छन् † कता हराए उनी ? ‘माछी मार्न जाउँm न दाजै कालापानीमा…।’ भनेर अरूलाई उराल्ने यी बोकेदाह्री गायक आफँै बल्छी बोकेर कतै दौडिए कि, मरिन खोलाका किनारतिर † मभित्र यस्तै खुल्दुलीको उरुङ लागेको थुप्रै काल भइसक्यो ।
चिन्नेहरूले उनलाई जे पापीको नामबाट चिन्छन् । हुन त नाममा त्यस्तो के छ र ? उहिल्यै सेक्सपियरले प्रस्टै भनेका थिए, ‘नाममा के छ त्यस्तो ?’ उनले ‘झन्डाशेखर’लाई अंग्रेजी लवजमा ढालेर भने–जे । र, ‘पापी’ चाहिँ उनका माताश्रीले दिएको नाम रहेछ । एक दिन प्रसंगवश उनलाई आमाले ‘पापी’ भनिछन् । मीठो र प्यारो लागेछ उनलाई यो शब्द । र, झुण्ड्याए त्यसलाई आफ्नो थरको सिङ–पुच्छर काटेर । अहिले ‘झन्डाशेखर दाहाल’ पुरातत्वको सम्पत्ति भइसकेको छ र चिनिन्छन् उनी जे पापीको नाममा/हर्कतमा/फुर्तीफार्तीमा । वा, अरू त्यस्तै रूप र रङमा ।
यिनी विद्रोही छन्, बोलक्कड छन् र छन् उत्तिकै बोल्ड । उनी विद्रोही बन्छन्, देशविरुद्ध गद्दार गर्नेसँग । जनतालाई ढाँट्ने, छल्ने, झुक्याउने परिपाटी र प्रवृत्तिका उनी सख्त विरोधी हुन् । तर, विरोध वा विद्रोहका नाममा उनी सडकमा ढुंगा उज्याउँदैनन्, इँटा फिजाउँदैनन् र टायर बालेर कार्बन–उत्सर्जनमा टेवा पनि पुर्‍याउँदैनन् । उनी विशुद्ध गीतबाट विद्रोह पोख्छन् । लामा–लामा कपाल, झुस्स दाह्रीबीच झुल्कने यिनी गीत गाएरै हंगामा मच्चाउन चाहन्छन् । झट्ट हेर्दा, बब मार्लेजस्ता लाग्ने यिनलाई म अचेल उल्कै खोजिरहेको छु र उनका नयाँ गीत सुन्ने तीव्र लालसा पलाएको छ ममा ।
तर, भेटेँ मैले उनलाई एकदिन । सामाजिक सञ्जाल ‘युट्युब’मार्फत । अहो † यी झनै विद्रोही स्वर बोकेर टुपुल्किएका रहेछन् । कपाल झनै लामा पारेछन् र स्वरमा झनै विद्रोह भित्र्याएछन् । उनको फेरिएको रूपाकृति र स्वर–सन्धान देखेर मैले गम खाएँ । दुई वर्षभित्र ताजा, पोसिला र स्वच्छ संविधान दिन्छु भनेर जनताका बीच कसम खाइ संविधानसभाको वातानुकुलित हलभित्र छिरेका ६ सय एकजनाले चार वर्षसम्म पनि संविधान नबनाउने छाँट देखेपछि उनको कन्पारोको रौँ तात्नु स्वाभाविकै थियो । र, उनले ६ सय एकतिर औँला ठ्ड्याए– ‘यो देशको काट्टो खानेहरूले… ।’ अहो † यिनीभित्र विद्रोहको पारो त झनै चढेछ । त्यत्रा माननीयहरूलाई सिधै ‘काट्टो खाने’ भनेर लल्कार्नु कतिसम्मको आँट हो ? कतिसम्मको दुस्साहस हो ? यो त विद्रोहको पराकाष्टा नै भो † यस्तो विद्रोह त कसैले पनि गरेका थिएनन् अहिलेसम्म ।
०००
एक दिन अचानक मेरो एउटा पुरानो डायरी पल्टियो । अनिच्छापूर्वक पल्टाउन खोज्दाखोज्दै पल्टियो । ए हे † डायरीमा त जे पापीबारे केही सवाल–जवाफ पो कोरिएका रहेछन् । विगतमा आफूले ती विद्रोही गायकसित जमेरै, खुलेरै बात मारेको रहेछु भन्ने भुसुक्कै बिर्सेछु । स्मृति–दंशको सिकार भएकामा ग्लानीबोध भयो मलाई । आफैँले आफूलाई सहानुभूतिपूर्वक नियालेँ ।
मैले सोधेको रहेछु– ‘देशभक्तिपूर्ण गीतहरू नै किन गाउनुहुन्छ ?’
उनले भनेका रहेछन्– ‘मेरो घरमा राजनीतिक माहोल व्याप्त थियो । बुबा राजनीति गर्नुहुन्थ्यो । राजनीतिक वातावरण र माहोलले मलाई देश र जनताप्रति समर्पित गीत गाउन प्रेरित तुल्यायो ।’
मरिन खोला किनारका दैनिकी उतार्दै बालवय बिताएका यी विद्रोहीलाई पहिल्यैदेखि भावुकताले नराम्ररी गाँज्थ्यो । महाभारत पर्वत शृंखलाको दक्षिण ढलोतिरका धनमान, सिम्लेजस्ता स–साना खोला मिसिँदै कुसुमटारबाट फराकिला नापनक्सामा फैलिने मरिन खोला यिनको जीवन–पत्रबाट कहिल्यै उप्किदैनन् सायद । त्यही मरिन खोला वारिपारि जीवन निर्वाह गर्ने सीमान्त माझी समुदायका दु:ख, कष्ट, हैरानी र सोझोपन देख्दा उनमा भावुकताको पर्खाल नपत्याउँदो गरी ठडिन्थ्यो । मरिन किनारका आदिवासी माझीहरूले आफ्ना हजारौँ बिघा जमिन कसरी थापाकाजी र ढकालहरूका चंगुलमा फसेर गुमाए ? यस्ता पक्षका किस्सा आफ्ना बाउबाजेबाट सुनेका यिनले माझी समुदायका संगत पनि बेहोरे र उनीहरूका विरहलाग्दा गीतहरू अर्थात् ‘ब्लुज×’हरू सुन्दै जाँदा उनमा गायन लत बस्यो । र, गाउन थाले गीतहरू ।
मरिन खोला किनारका सुन्दर थलो डाडीगुराँसे–४ मा आठवटा हिउँद–वर्षा छिचोलेपछि उनका सपरिवार झरे, हरिवनतिर । चुरे भावर क्षेत्रमा पर्ने हरिवनले उनको गायन कलालाई अझ तिखार्‍यो । उमेरले आधा शताब्दी टेक्दै लागेका यिनले बाह्र/तेह्र वर्षकै उमेरमा गाउन थाले–
‘कान्छी नानी चमेली आलीमा टुसुक्क
माली गाईले चमेली धान खायो भुसुक्क…।’
विक्रमाब्द २०५५ उनका जीवनमा ‘यु–टर्न’ साबित भयो । त्यही बेलादेखि सबैले उनका हुलिया थाहा पाए । उनले निस्फिक्री तरिकाले गाए– ‘माछी मार्न जाऊ न दाजै कालापानीमा…।’ विजय श्रेष्ठको शब्द र संगीतमा गुथिएको यो गीतमा उनीसँगै थिए, विधान श्रेष्ठ पनि । उनले भनेका थिए– ‘मैले यस्तै यस्तै गीत गाउँछु भन्ने थाहा पाएपछि गाउन लगाउनुभएको रहेछ ।’ तर, नेपाल–भारत सीमा विवादसम्बन्धी गन्ध आउने गीत भएको हुँदा सबै पक्षलाई सुपाच्य नभए पनि केही केहीले भने औधी रुचाए । उनी यसलाई नितान्त चेतनामूलक गीत ठान्छन् र यसअघि ‘सुत सुत निदा काठमाडौं सहर…’ जस्ता गीत पनि उनले गाइसकेका थिए । अनायास डायरी बन्द गर्छु ।
०००
मलाई बिल्कुलै थाहा छैन, उनी कहिलेदेखि ‘मर्निङवाक’ का पारखी भए ? तर, उनी नित्य बिहान सखारै उठेर काठमाडौंका सडक चहार्छन्, मर्निङवाकको नाममा । मैतीदेवीमा डेराडन्डा जमाएर बस्ने यी बब मार्ले स्टाइलका गायक बिहान सखारै उठ्छन् र कम्तीमा पनि रत्नपार्क, टुँडिखेल चहार्न रुचाउँछन् । त्यही सन्दर्भमा, एक दिन करिब बिहान साढे ७ बजे मैले उनलाई भेटेँ, प्रदर्शनीमार्गमा । उनी बाटेका कपालसहित समुपस्थित थिए र थिए छेउमै मर्निङवाकवाला साथी पनि । दुवै हतारहतार पाइला चाल्दै थिए । त्यतिबेला उनलाई धेरै कुराहरूमा रिस उठिरहेका रहेछन् क्यार † हतारहतार पाइला चाल्दै उनी खोक्दै थिए, आफ्नै शैलीमा– ‘केही पनि नगर्ने भए यी नेताहरूले ? सुन्दा पनि रिस उठेर आउँछ । सबै आ–आफ्नै स्वार्थमा लिप्त छन् । यिनीहरूबाट जनताले के अपेक्षा राख्ने ? बेकार छ ।’ उनी एक्लै बड्बडाउँदै थिए, साउनका कुनै खोल्सा सानो वर्षापछि बड्बडाएझैँ । म उनको कुरा सुन्दै थिएँ र बढ्दै थिएँ लगातार ।
हुन त यिनी जनकपुर चुरोट कारखानाका एक सामान्य कर्मचारी हुन् । उनले स्वास्थ्यमा बिल्कुलै असर तुल्याउने चुरोटको राम्रा पक्षहरूका प्रचार गर्दै कताकता आफूलाई पुर्‍याएनन् ? तर, अहिले, पूरै एक वर्षदेखि ‘जचुकालि’ले चुरोट उत्पादन गर्न छाडेपछि भने उनी केही फुर्सदिला भएका छन् र लागेका छन् गीत/संगीतको यात्रामा । कहिले कुन स्टुडियो, कहिले कुन स्टुडियो चहार्दै उनका दिनचर्या सुल्किरहेका छन् । तर पनि उनी आफ्नो यात्राप्रति गौरवान्वित छन् र आफ्नै स्टाइलका गीत लेखिरहेका/गाइरहेका छन् । जे पापी अर्थात् झन्डाशेखरले गाउने प्राय:जसो गीत म्युजिकको बनिबनाउ ट्रयाकभन्दा बाहिरै हुन्छन् र शब्द पनि त्यस्तै हुन्छन्, ट्रयाकबाहिरका । र त गला फुलाएर उनी कुर्लिन्छन्–
‘सेता–सेता कपडामा काला–काला मान्छे
जनताद्वारा जनताले जनतालाई भन्थे कंगाल भए जनता नांगो पारेर
यो देशको काट्टो खानेहरूले…’
मैले किञ्चित बुझ्न सकिरहेको छुइनँ ? यो गीत गाउँदै जाँदा, बिसाउनीको छेउछाउतिर पुग्नै लाग्दा उनी किन आफैँ रुन्छन् ? उनको यो रुवाइ बनावटी हो वा दर्शक र स्रोताहरूलाई राष्ट्रप्रति भावुक बनाउने चालबाजी ? तर पनि उनी आँखाको परेला माडीमाडी रुन्छन् र बाध्य तुल्याउँछन्, अरूलाई पनि आँसु खसाल्न ।

प्रतिक्रिया