‘पानी पिउन पनि डराउँछौं’

काठमाडौं, २३ भदौ । ट्राफिक महिला प्रहरीहरू ड्युटीका बेला सकभर पानी कम खान्छन् । अरू कारणले होइन, ड्युटीमा रहेको अवस्थामा पिसाब लाग्ला भनेर उनीहरू डराएका हुन् ।शौचालयको असुविधाले गर्दा महिला ट्राफिकलाई पानी खान पनि डराउनुपर्ने अवस्था छ । ‘ड्युटीमा पिसाब लागे फेर्न कहाँ जानु ? बरु पानी नै नखायो आनन्द †’ कोटेश्वरमा कार्यरत एक ट्राफिक महिलाले सौर्यसँग भनिन्, ‘केटाहरू यसो होटल, रेस्टुरेन्टतिर छिर्छन् र गर्छन्, हामीलाई साह्रै समस्या छ ।’ पानीको कमीले स्वास्थ्यमा समस्या पनि आउन थालेको उनले बताइन् ।

ट्राफिकले दैनिक आठ घन्टा अनिवार्य सडकमा ड्युटी गर्नुपर्छ । यो समयभित्र दिसा–पिसाब लागेमा रोकेर बस्नुको विकल्प हुँदैन । ‘महिनावारी भएको र पखाला लागेको समयमा त आपतै पर्छ’ थापाथली प्रभागकी प्रमुख सई इन्दिरा बस्नेतले सौर्यलाई भनिन्, ‘अरू समस्या त उमेरमा पचाइन्छ, तर यस्ता आधारभूत समस्याले महिलाहरू पीडित छौँ ।’ उनले शौचालयको समस्याले कामै प्रभावित हुने बताइन् ।
घुम्ती शौचालयको व्यवस्था गरे आफूहरूलाई राहत हुने ट्राफिक महिलाहरूको भनाइ छ । विगतका वर्षहरूमै यसको माग गरिएको भए पनि पूरा नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता पवन गिरीले बताए । ‘घुम्ती शौचालय नहुँदा महिलाहरूलाई साँच्चै समस्या भएको छ,’ उनले भने ।
महिला ट्राफिकहरू महिला भएकै कारण अरू ठूला समस्या नभएको बताउँछन् । चालकहरूबाट सामान्य हिंसाजन्य व्यवहार भने उनीहरूले भोग्नुपर्छ बेलाबखत । महाशाखाका अनुसार उपत्यकामा जम्मा एक हजार एक सय ८५ ट्राफिक प्रहरी कार्यरतमध्ये एक सय ४३ जना महिला छन् । दरबन्दी नौ सय ६५ को भए पनि आवश्यकताका आधारमा बाँकी काजमा थपिएको छ ।
ट्राफिक प्रहरी प्रभाग थापाथली ०६३ देखि महिलाकै नेतृत्वमा सञ्चालित छ । हाल सई इन्दिरा बस्नेतको नेतृत्वमा ३२ जनाको टोली कार्यरत छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हाल २० ठाउँमा महिला ट्राफिक कार्यरत छन् । जसमध्ये महाशाखा, कोटेश्वर, स्वयम्भू, सोह्रखुट्टे, जाउलाखेल, कमलपोखरी, नयाँ बसपार्क, दरबारमार्ग, भक्तपुर, गठ्ठाघर, जनसेवा, गौशाला, सुकेधारा, बौद्ध, कलंकी, थानकोट, नाकढुंगा, गौचरण र कालिमाटी रहेका छन् ।
महिला ट्राफिकको कामबाट महाशाखा सन्तुष्ट छ । विवाहपछि भने केही समस्या देखिने महाशाखाका प्रवक्ता डिएसपी गिरी बताउँछन् । ‘महिला ट्राफिकको काम राम्रो छ तर बच्चा भइसकेपछि भने केही समस्या देखिन्छ,’ उनले भने । नियमानुसार प्रहरी महिलाले ६० दिन सुत्केरी बिदा पाउँछन् । तैपनि, दिनभर सडकमा उभिएर ड्युटी गर्नुपर्ने भएकाले महिलाको स्वास्थ्य अवस्थालाई ख्याल गरेर सजिलो ठाउँमा ड्युटी मिलाउने गरिएको डिएसपी गिरीले बताए  ।
दिनभर बीचसडकमा उभिनुपर्नाले ट्राफिक प्रहरीले विशेषगरी ढाड, कम्मर, घाँटीलगायत बिमारी व्यहोर्नुपर्छ । यी समस्या उमेर ढल्किँदै गएपछि हुने भए पनि धुलो र धुवाँका कारण नाक, कान, आँखा र फोक्सोको समस्या तत्काल व्यहोर्नुपर्ने गिरीले बताए ।
ड्युटीमा रहेको समयमा महिला ट्राफिकहरूलाई पुरुषहरूले यौनजन्य व्यवहार गरिरहेका हुन्छन् । राति महिला र पुरुष मिश्रित गरेर ड्युटीमा पठाइन्छ । तर, कतिपय पुरुषको गलत नजर ट्राफिक महिलामा पर्ने गर्छ । प्राय: ड्राइभर र निजी गाडीवाला तथा मोटरसाइकलवाला पुरुषले नटेर्ने, भनेको नसुनेझैँ गर्ने, शाब्दिक छेडछाड गर्ने, शरीर छुने गरी गाडी कुदाउने आदि व्यवहारबाट आजित भएको महिला ट्राफिकको गुनासो छ । यस्तो दुव्र्यवहारमा सम्बन्धित व्यक्तिले रिपोर्ट गरेपछि तत्काल कारबाही पनि हुने गरेको छ । गत आर्थिक वर्षमा मात्रै २० जनालाई कारबाही गरिएको महाशाखाका प्रवक्ता गिरीले सौर्यलाई बताए ।

प्रतिक्रिया