दक्षिण अफ्रिकाद्वारा शृंखला बराबरी

नोटिङ्घम, २२ भदौ । पाँचौँ म्याचमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै दक्षिण अफ्रिकाले इंगल्यान्डविरुद्धको पाँच एकदिवसीय क्रिकेट म्याचको शृंखला २–२ ले बराबरी गरेको छ । बुधबार राति भएको पाँचाँै तथा अन्तिम खेलमा दक्षिण अफ्रिका सात विकेटले विजयी हुँदै शृंखला जोगाउन सफल भएको हो ।
टस जिती पहिला ब्याटिङ गरेको इंगल्यान्ड दक्षिण अफ्रिकाको कसिलो बलिङसामु ४५.२ ओभरमा १८२ रनमा सीमित भयो । दक्षिण अफ्रिकाका रोविन पिटरसनले तीन तथा डेल स्टेयन र मर्न मर्केलले समान दुई विकेट लिए । त्यस्तै वैन पार्नेल, ज्याँ पल डुमिनी, एफ डु प्लेसिसको नाममा समान एक विकेट रहयो । दक्षिण अफ्रिकाले ३४.३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।
दक्षिण अफ्रिकाका लागि हासिम अमलाले ९७ र एब डी भिलियर्सले ७५ रन जोडे । अमला र भिलियर्सले चौथो विकेटका लागि अविजित १७२ रनको साझेदारी गरेका थिए । कुनै समय १४–३ को स्थितिमा देखिए पनि दक्षिण अफ्रिकालाई अमला र भिलियर्सले उद्धार गरेका हुन् । १०७ बलको सामना गरेका अमलाले नौ चौका र एक छक्का प्रहार गरे भने ७९ बल सामना गरेका भिलियर्सको इनिङमा १० चौका सामेल रहयो । ग्राम स्मिथ १, एफ डु प्लेसिस ३ र डिन एल्गर १ रन जोडी आउट भएपछि दक्षिण अफ्रिका एक समय निकै संकटपूर्ण स्थितिमा पुगेको थियो । हासिम अमला म्यान अफ द म्याच र म्यान अफ द सिरिज दुवै भए । अमला यसअघि टेस्ट शृंखलामा पनि म्यान अफ द सिरिज भएका थिए ।
पहिलो म्याच वर्षाका कारण रद्द भएको यस शृंखलामा दोस्रो खेल दक्षिण अफ्रिकाले जिते पनि त्यसपछिका लगातार दुईमा घरेलु टोली इंगल्यान्डले जित हात पारेको थियो । तर दोस्रो म्याचमा व्यहोरेको हार इंगल्यान्डलाई निकै महंगो सावित भयो । पराजयको नतिजापछि इंगल्यान्डले एकदिवसीय क्रिकेटमा शीर्ष वरीयता गुमाउँदै दक्षिण अफ्रिकालाई सुम्पिएको थियो । यसअघि सम्पन्न तीन टेस्ट म्याचको शृंखला इंगल्यान्डले गुमाएको थियो । उक्त शृंखलामा व्यहोरेको पराजयसँगै इंगल्यान्डले टेस्ट क्रिकेटमा पनि शीर्ष वरीयता गुमाएको थियो ।

प्रतिक्रिया