सम्झौता कार्यान्वयन नभई सहमति हुन्न : कोइराला

बुटवल, २२ भदौ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म सहमति र एकता हुन नसक्ने बताएका छन् । उनले सहमतिको जति नै रटान लगाए पनि एकीकृत नेकपा (माओवादी) को एकलौटी निर्णयले सहमति हुन नसक्ने बताए ।
पाल्पामा हुने पश्चिमाञ्चल क्षेत्रीय महाधिवेशन भेलाका लागि आएका कोइरालाले रूपन्देहीमा भएको पत्रकार भेटमा विगतका सहमतिको कार्यान्वयन भएपछि मात्रै सहमति हुने स्पष्ट पारे । ‘विस्तृत शान्ति सम्झौतादेखि हालसम्म आउँदा एमाओवादीसंँग कति सम्झौता भए,’ उनले थपे, ‘तर माओवादीले एउटा पनि पालना गरेन ।’
उनले सहमति कार्यान्वयन नगरेर एमाओवादीले विश्वास गुमाएको उल्लेख गर्दै सर्वसत्तावादी र तानाशाही शासन लाद्ने दुस्साहस गरेको आरोप लगाए । उनले एमाओवादीको त्यो अभीष्ट कदापि पूरा नहुने पनि दाबी गरे । एमाओवादीले विश्वासको वातावरण गुमाएकोले सहमतिको सरकार गठन हुन नसकिरहेको कोइरालाको भनाइ थियो ।
उनले अब यसअघि भएका शान्तिप्रक्रिया र संविधान निर्माणसँग सम्बन्धित सम्झौताहरूको कार्यान्वयन गर्दै राष्ट्रिय सहमतिको सरकार निर्माणमा लाग्नुको विकल्प नभएको पनि बताए ।
‘कांग्रेसले ००७ सालमा राणालाई सम्झायो, उसले मानेन,’ कोइरालाले भने, ‘त्यसपछि १०४ वर्षे राणाशासन अन्त्य भयो ।’  उनले पञ्चायतकालमा राजालाई सम्झाउँदा नमानेकाले ३० वर्षे पञ्चायती व्यवस्था ढलेजस्तै ०४६ पछि राजालाई सम्झाउँदा पनि नमानेर सिद्धिएको र अब पालो अहिले एमाओवादीको आएको बताए ।
उनले आफ्नै पार्टीभित्रको आन्तरिक एकता पनि औपचारिकजस्तै भएको टिप्पणी गरे । ‘साथीहरूले विभिन्न जिल्लाबाट आएर तपाईंहरू मिल्नुहोस् भन्नुहुन्छ र कोठामा पठाउनुहुन्छ, बाहिर निस्कियो हात मिलायो, हात उठायो, कार्यकर्ता जिल्लामा पुग्न नपाउँदै जस्ताको तस्तै अवस्था छ,’ कोइरालाको भनाइ थियो ।
पाल्पामा शुक्रबार हुने कार्यक्रममा सहभागी हुन कांग्रेसका  वरिष्ठ नेता शेरबहादुर देउवा, उपाध्यक्ष रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशशरण महत, दीपक गिरी, बालकृष्ण खाँणलगायत नेताहरू पाल्पा पुगेका छन् ।

प्रतिक्रिया