दिवस मनाउन सबै संगठन एकै ठाउँमा

काठमाडौं, २१ भदौं । माग पुरा गराउन दबाव दिदै आएका निजामती कर्मचारीले यस पटक ‘निजामती कर्मचारी दिवस’ मिलेर मनाउने भएका छन् ।
दिवस मनाउनकै लागि मूल समारोह समिति समेत गठन भएको छ । समितिमा एमाओवादी निकट राष्ट्रिय निजामती कर्मचारी संगठन, कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, एमाले निकट नेपाल कर्मचारी संगठनलगायतका संघ/संगठनले सहभागिता जनाएका छन् ।
यद्यपी नेकपा–माओवादी निकट राष्ट्रिय निजामती कर्मचारी संगठनले भने दिवसलाई महत्व नदिएको जनाएको छ । उसले दिवस नमनाउने उल्लेख गरेको छ ।
संगठनका अध्यक्ष रुक्ममणि लामिछानेले आफूहरु संगठनको आन्तिक काममा लागेकाले निजामती दिवसलाई खासै महत्व नदिएको बताए । ‘निजामती कर्मचारी दिवसलाई हामीले खासै महत्व दिएका छैनौं,’ उनले भने, ‘हामी आफ्नै प्रशिक्षण र भेलामा व्यस्त छौं ।’
‘निजामती कर्मचारी दिवस’ भोली शुक्रबार मुलुक भरि मनाईदैछ ।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुवोध देवकोटाले मुल समारोह समितिले गरेका कार्यक्रममा भाग लिने बताउँदै दिवस भव्य रुपमा मनाईने बताए । ‘नयाँ नियुक्ति, सुरुवा, बढुवाउ, समाय सापेक्ष तलव बृद्धिको माग पुरा हुने तयारीमा छ,’ उनले, ‘सो विषयमा अध्यादेश राष्ट्रपतिकोमा छ, माग पुरा हुन्छ ।’
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भोलाप्रसाद पोखरेलले दिवस मात्रै मनाउनु भन्दा पनि कर्मचारीले सर्वसाधारलाई दिएको सेवाका बारेमा पनि समीक्षा गर्नुपर्ने बताए ।

कर्मचारी संगठनहरुले नियुक्ति, तलव बृद्धि, सरुवा, बढुवालगायतका माग राखेर सरकारलाई दबाव दिदै आएका छन् । उनीहरुले माग पुरा नभए आन्दोलन गर्ने सम्मका चेतावनी दिएका थिए ।

प्रतिक्रिया