अजारेन्का सेमिफाइनलमा


न्युयोर्क, २१ भदौ । साविक विजेता समन्था स्टसरलाई पराजित गर्दै विश्व नम्बर एक भिक्टोरिया अजारेन्का वर्षको चौथो तथा अन्तिम टेनिस ग्रान्डस्लाम युएस ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
सातौँ वरियताप्राप्त अस्ट्रेलियन स्टसरविरुद्ध ६–१, ४–६ र ७–६ ले हराउँदै अजारेन्का पहिलोपटक यस प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेकी हुन् । यसजितसँगै बेलारुसकी २३ वर्षीय अजारेन्का वर्षको बाँकी समय पनि विश्व वरीयतामा नम्बर एकमै रहने पक्का भयो । ‘म अझै रोकिन चाहन्नँ,’ पछिल्लो जितपछि अजारेन्काले भनिन् ।
यसै वर्षको अस्ट्रेलियन ओपन जितेकी अजारेन्काले फाइनल प्रवेशका लागि मारियन बार्तोली र मारिया सारापोभाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् । फ्रान्सकी बार्तोली र रुसकी सारापोभाबीच क्वार्टरफाइनलमा प्रतिस्पर्धा हुनेछ । सारापोभाले यस वर्षको फ्रेन्च ओपन जितेकी थिइन् । ७५ मिनेट वर्षाले खेल प्रभावित भए पनि अजारेन्काले छैटौँपटक स्टसरविरुद्ध जित हात पारेकी हुन् । ‘स्टसरले निकै राम्रो प्रदर्शन गरिन्,’ अजारेन्काले भनिन्, ‘उनकै कारणले म पनि उच्चस्तरको खेल प्रदर्शन गर्न बाध्य भएँ ।’
गतिलो सुरुआत गर्दै पहिलो सेट जित पनि अजारेन्काले दोस्रो सेट भने गुमाइन् । तेस्रो तथा अन्तिम सेटमा निकै राम्रो सुरुआत गरेकी अजारेन्काविरुद्ध ४–० ले पछि परे पनि स्टसरपछि ५–५ मा आइपुगेर खेललाई टाइब्रेकरमा पुर्‍याउन सफल भएकी थिइन् । अन्तिम सेटमा रोमाञ्चक जित हात पारेर अजारेन्काले सन् २००९ यता सेमिफाइनल अगावै शीर्ष खेलाडी आउट नभएको पृष्ठभूमिलाई कायम राखिन् । सन् २००९ को युएस ओपन संस्करणमा तत्कालीन विश्व नम्बर एक दिनारा सफिनाले तेस्रो चरणबाटै बिदा हुनुपरेको थियो ।
सन् २०१० मा सेरेना विलियम्सले विम्बल्डन जितेयता कुनै पनि शीर्ष वरीयताका खेलाडीले ग्रान्डस्लाम जित्न सकेको छैन । सन् २००७ मा जस्टिन हेनिनले जितेयता कुनै पनि शीर्ष खेलाडीले युएस ओपन जित्न सकेको छैन । यता पुरुष एकलतर्फको भिडन्तमा स्पेनका डेभिड फेरर विजयी हुँदै क्वार्टरफाइनल पुगे । वर्षाका कारण खेल सकिन करिब आठ घन्टा लागेको उक्त प्रतिस्पर्धामा फेरर प्रतिद्वन्द्वी रिचर्ड ग्यास्कोटविरुद्ध ७–५, ७–५ र ६–४ ले विजयी भए । मंगलबार एकल स्पर्धाका ६ खेल हुने कार्यक्रम भए पनि वर्षाका कारण दुई खेल मात्र सम्भव भएका थिए । एजेन्सी

प्रतिक्रिया