जापानद्वारा विवादास्पद टापु किन्ने प्रस्ताव

टोकियो : जापान र चीनबीच विवादित दुई टापु किन्ने प्रस्ताव जापानले गरेको समाचार छ । दुवै देशले आफ्नो भनी दाबी गरेका विवादित टापु खरिद गर्ने एकतर्फी प्रस्ताव जापानले गरेपछि दुई देशबीचको सम्बन्ध थप चिसिनसक्ने अनुमान गरिएको छ ।
‘इस्ट चाइना सी’ का टापुको स्वामित्वबारे दुई देशबीच विवाद छ । विवादित टापुलाई चीनमा दियायु र जापानमा सेन्काकु भनिन्छ । टापु आफ्नो भएको दाबी गर्दै गत महिनामा दस चिनियाँ नागरिक विनाअनुमति विवादास्पद टापुमा पुगेका थिए । उनीहरूलाई जापानी सीमा सुरक्षा प्रहरीले पक्राउ गरेको थियो । सोही कारण दुई देशबीच कूटनीतिक तनाव उत्पन्न भएपछि उनीहरूलाई रिहा गरिएको थियो ।
जापानी मन्त्रिपरिषद्का उपप्रमुख सचिव हिरोयुकी नागाहामाले जापान सरकारले टापु खरिद गर्ने प्रस्ताव गरेको जानकारी बुधबार दिएका हुन् । ‘यसका लागि जग्गाधनीहरूसँग छलफल भइरहेको छ । केही दिनमै यसबारे औपचारिक जानकारी सार्वजनिक गर्नेछौँ,’ जापान सरकारको निर्णयलाई उद्धिृत गर्दै उनले भने । जापानी प्रस्तावबारे चीनको प्रतिक्रिया अझै सार्वजनिक भइसकेको छैन ।
विवादकै कारण गत सोमबार चीनका लागि जापानी राजदूतलाई अज्ञात चिनियाँ नागरिकले दुव्र्यवहार गरेका थिए । राजदूत सवार गाडी रोकी एक व्यक्तिले राजदूत सवार गाडीमा फहराइरहेको झन्डा झिकेर च्यातचुत पारेका थिए । घटना ‘चरम दुर्भाग्यपूर्ण’ भएको प्रतिक्रिया दिँदै जापनले यसबाट दुई देशबीचको सम्बन्ध बिग्रिनसक्ने चेतावनी दिएका थिए । त्यसलगत्तै जापानले विवादास्पद टापु खरिद गर्ने प्रस्ताव गरेको हो ।
चीन र जापानबीचको सम्बन्ध सुमधुर छैन । दोस्रो विश्वयुद्धअघि चीनका विभिन्न क्षेत्रमा जापानी साम्राज्य कायम थियो । त्यस क्रममा जापानी सेनाले चिनियाँ नागरिकमाथि बर्बर दमन र आतंक मच्चाएका थिए । त्यसयता चीनले सामरिक र आर्थिक क्षेत्रमा ठूलो फड्को मारिसकेको छ, जसका कारण दुई देशबीचको ‘पुरानो घाउ’ बारम्बार बल्झिरहन्छ ।
यसै क्रममा जापानी झन्डा च्यातेको घटनाप्रति आपत्ति जनाउँदै जापानले आफ्नो दूतलाई चीन पठाएको थियो । ती दूतले चिनियाँ राष्ट्रपतिलाई भेटी पत्र हस्तान्तरण गरिसकेका छन् ।
टापुसम्बन्धी विवादकै कारण गत शनिबार पूर्वीचीनको एक सहरमा सयौँ चिनियाँ नागरिकले जापानविरोधी नारा लगाएका थिए । राजधानी बेइजिङमा पनि जापानविरोधी प्रदर्शन भएको थियो । हङकङसहित चीनका करिब दर्जन सहरमा जापानविरोधी प्रदर्शन भइसकेको छ । जापानका विभिन्न सहरमा पनि चीनविरोधी प्रदर्शन हुने गरेका छन् । (एएफपी)

प्रतिक्रिया